डुवर्सको लिजेन्ड्री गायक इन्द्रजीत मिजारलाई दोस्रो डुवर्स गौरव सम्मान प्रदान

डुवर्सको लिजेन्ड्री गायक इन्द्रजीत मिजारलाई दोस्रो डुवर्स गौरव सम्मान प्रदान

कालचिनीः डुवर्स नेपाली साहित्य विकास समितिको पक्षबाट प्रदान गरिने दोस्रो डुवर्स गौरव सम्मान २०२४ यसपाली डुवर्सको चर्चित एवम् लिजेन्ड गायक इन्द्रजीत मिजारलाई प्रदान गरिएको जानकारी डुवर्स नेपाली साहित्य विकास समितिको मूलसचिव रबिन खवासले दिएका छन्। शनिबार डुवर्सको सुदुर पूर्व कुमारग्राम खण्डको मैनाबारी हात्तीपत्तामा सम्पन्न ३३औँ नेपाली भाषा मान्यता दिवस तथा स्व. हैकमसिंह राई सालिक अनावरण समारोहमा बलिवुड र कलिवुडमा चर्चित पार्श्वगायक बन्न सफल भएका डुवर्स चाल्सा निवासी इन्द्रजीत मिजारलाई उक्त डुवर्स गौरव सम्मान प्रदान गरिन्दा समारोहमा उपस्थित अतिथिगण र दर्शकहरू भावुक बनेको थियो।

गायक इन्द्रजित मिजर
गायक इन्द्रजीत मिजार


नेपाली सिनेमामा “अब यो बाटो मेरो हो कि म यो बाटोको”,” टुङनाको धुनमा ”,” के भन्ने हाम्रो समय ” एवम् दर्जनौ अन्य गीतहरू गाएर ख्याती कमाएका साथै बलिवूडमा पनि युगल गीत गाउने मौका पाएका इन्द्रजीत मिजार हाल ६७ वसन्त टेक्दा पनि यिनको गायन सुन्दा दुरस्तै यौवनकालको गायकी झल्किन्छन्। लिजेन्ड्री गायक इन्द्रजीत मिजारलाई तिनी टुप्पोबाट होईन फेदबाट पलाएको कलाकार पनि भनिन्छ। डुवर्स नेपाली साहित्य विकास समितिको पक्षबाट गायक इन्द्रजीत मिजारलाई प्रदान गरिएको दोस्रो डुवर्स गौरव सम्मानले तिनको सही मूल्याङ्कन भएको ठान्छन् डुनेसाविसको मूलसचिव रबिन खवास। पूर्व डुवर्सको आदि पुरुष हैकमसिंह राईको गाउँमा सम्पन्न यो संयुक्त कार्यक्रम एकदमै ऐतिहासिक अनि भव्य भएको र यसको निम्ति मैनाबारी, हात्तीपत्ता, कैँजले, जयन्ती, लिम्बुधुरा अनि सम्पूर्ण कुमारग्राम खण्डको भाषाप्रेमी मात्र नभएर दानी ह्रदयका जम्मै दाताहरूलाई रबिन खवास र दुर्गा चामलिङले आभार पनि व्यक्त गरेका छन्। शनिबार उक्त सम्मान समारोहमा मुख्य अतिथि डा. शान्ति छेत्री, कार्यक्रम अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, विशिष्ट समाजसेवी दुर्गा चामलिङ र मुमा कृष्णमाया श्रेष्ठको सुपुत्र अजय श्रेेष्ठको करकमलबाट डुवर्स गौरव सम्मानको स्मृति चिन्ह र सम्मानपत्र एवम् नगद राशि प्रदान गरिएको थियो। सम्मान प्रदान अघि मुमा कृष्णमाया श्रेष्ठको परिचय अनि तिनको नाममा प्रदान गरिने सम्मान अनि पुरस्कारबारे अजय खडकाले पठन प्रस्तुत गरेको थियो भने प्रसिद्ध गायक इन्द्रजीत मिजारको परिचयबारे युवा शिक्षक तथा कवि हर्कु तामाङले पठन प्रस्तुत गरेको थियो। पुरस्कार ग्रहण पश्चात गायक इन्द्रजीत मिजारले आफ्नो चर्चित गीतहरूको प्रस्तुति दिएको थियो। गायक इन्द्रजीत मिजारले आफूलाई दिएको सम्मानको कदरलाई जीवनभरी नभूल्ने भन्दै डुवर्स नेपाली साहित्य विकास समिति लगायत सम्पूर्ण नेपालीभाषी जातिप्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

याे पनि हेर्नुस्


Leave a comment