डुवर्स नेपाली साहित्य विकास समितिको स्वर्ण जयन्ती पालन हुने

कालचिनीः डुवर्सको नेपाली साहित्य अनि बौद्धिक जमातको अति पुरानो संस्था तथा माउ संस्थाको रुपमा स्थापित डुवर्स नेपाली साहित्य विकास समितिको स्वर्ण जयन्ती आगामी २७, २८ र २९ दिसम्बरको दिन डुवर्सको बीरपाडामा सम्पन्न हुने तय भएको छ।
अन्तर्राष्ट्रिय स्तरमा नै यसपाली यो स्वर्ण जयन्तीलाई तीन दिवसीय समारोहको रुपमा पालन गर्ने निश्चय भएकोले समारोहमा राष्ट्रिय-अन्तर्राष्ट्रिय कवि, साहित्यकार औ कलाकारहरूको जमघट रहने छ भने भीआईपी अतिथिहरूको सहभागिता यसमा रहने बताइएको छ। डुवर्सको टिस्टादेखि सुनकोशसम्मको प्रबुद्ध लेखक, कलाकार, कवि तथा साहित्यकारहरूलाई समेटेर स्वर्ण जयन्तीको तयारीमा अब जुटेको समितिको मूलसचिव रबिन खवासले जनाएका छन्। समारोहमा सिक्किम, दार्जीलिङ, कालेबुङ, डुवर्स, असम र उत्तरपूर्वी राज्यका नेपाली साहित्यकारहरू मात्र नभएर नेपाल र भोटाङका लेखक कलाकारहरूको पनि उपस्थिति रहने बताइएको छ। बीरपाडा पथेरसाथीमा आइतबार बसेको डुवर्स नेपाली साहित्य विकास समितिको कार्यकारिणी अनि स्वर्ण जयन्ती समारोह समितिको सभाले कार्यक्रमको रुपरेखा तयार पारिएको बताउँदै समारोह सञ्चालनको जिम्मेवारी पनि तय गरिएको समितिका उपाध्यक्ष रुपेश शर्माले थप जानकारी गराएका छन्।
प्रथम दिनको उद्बोधन कार्यक्रमसितै दोस्रो अनि तेस्रो दिनसम्मको कार्यक्रमको खाका सभामा व्यापक चर्चा परिचर्चा पश्चात तय भएको र यसै स्वर्ण जयन्तीलाई केन्द्र गरेर समितिको भवनको शिलान्यास गर्ने पनि तयारीमा समितिका जम्मै सदस्यहरूले जुटेको रुपेश शर्माले बताएका छन्। आइतबार उक्त सभामा समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, उपाध्याक्ष रुपेश शर्मा, मूलसचिव रबिन खवास, कोषाध्यक्ष राजेश प्रधान, आजीवन सदस्य वेगवसन्त थापा, स्वर्ण जयन्ती आयोजना समितिको अध्यक्ष हर्कु तामाङ, सचिव बुद्धिमान लामा, कोषाध्यक्ष विनोद मोक्तानलगायत समितिको वयोज्येष्ठ संरक्षक कृष्ण योञ्जन गडबडे, समितिको कार्यकारिणी सदस्यहरू सागर शर्मा, अजय खडका, जीवन बराइली, कुमार छेत्री, चन्दन भट्टराई, दुर्गा राई, शनि तामाङ, अमीर सुब्बा र शिवराज थापाको उपस्थिति रहेको थियो। समितिको ५०औँ वर्षपुर्ति तथा स्वर्ण जयन्तीलाई अन्तर्राष्ट्रिय स्तरमा नै पालन गर्ने ध्येय राखेर भव्य अनि सभ्य तरीकामा कार्यक्रम सम्पन्न गर्नेबारे विशद् छलफल भएको र यस सभाले सबै दायित्वप्राप्त सदस्यहरूले नयाँ ऊर्जाको साथ काम फतेह गर्ने जमर्को कसेको विश्वास रहेको एवम् डुवर्सका जम्मै जातिप्रेमी, साहित्यप्रेमी जमातले स्वर्ण जयन्तीलाई सफल बनाउन सहयोग पुऱ्याउने आशा पनि राखिएको समितिको उपाध्यक्ष रुपेश शर्माले जनाएका छन्।

Leave a comment