डुक्पा लिभिङ हेरिटेज फेस्टिभल दुर्गम बक्साद्वारमा सम्पन्न

कालचिनीः अलिपुरद्वार जिल्ला अधीनस्थ कालचिनी खण्डको मिनि भुटान भनेर चिनिने बक्सा पर्यटकीय स्थल बक्साद्वारमा शुक्रबारदेखि तीन दिवसीय डुक्पा लिभिङ हेरिटेज फेस्टिभल शुरु भएको छ। मूलतः बक्साद्वारलाई विश्व पर्यटनको मानचित्रमा चिनाउन एवम् यहाँको आदिम जनजाति डुक्पा समुदायको सांस्कृतिक एवम् पारम्परिक जीवन र कलाको सम्वर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटन संस्था एक्टको आयोजना तथा अलिपुरद्वार जिल्ला प्रशासनको सहयोगितामा सम्पन्न सो टूरिज्म फेस्टिभलमा मुख्य अतिथिको रुपमा भोटाङबाट बिफाका महासचिव डासो थिन्ले दोर्जी र अलिपुरद्वार जिल्ला शासक आर. विमला रहेको थियो भने अन्यान्य अतिथिहरूमा भोटाङमा भारतको कन्सुलेट जेनेरल अजित कुमार, एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारीका कमान्डेन्ट विजय सिंह, फुन्चोलिङ भोटाङका डुङपा डासो कर्मा जुर्मी, अलिपुरद्वार एडीएम नृपेन्द्र सिंह, अलिपुरद्वार एएसपी असीम खान, अलिपुरद्वार ओसी टूरिज्म पीडी. भोटियालगायत अन्यान्यको उपस्थिति रहेको थियो।


कार्यक्रममा अतिथिहरूलाई स्वागत जनाउन डुक्पा लोक नृत्य अनि गीत प्रस्तुत गरिएको थियो भने यसैबीच प्रथमपल्ट बक्साद्वारबाट भारतीय सेनामा भर्ना भएका तीनजना जवानका अभिभावकहरूलाई सम्वर्द्धना पनि जनाइएको थियो। कार्यक्रमबीच डुक्पा जातिको पारम्परिक तिरन्दाज तथा धुनकाँढ प्रतियोगिता पनि सम्पन्न भएको थियो। उक्त अवसरमा आइपुगेका अलिपुरद्वार जिल्ला शासक आर.विमलाले बक्साद्वारको डुक्पा कल्चर र यहाँको मौलिक पर्यटनलाई बचाउन यो कार्यक्रम गरिएको र यहाँ जीवन कठिन रहेता पनि यहाँको हरेक दुखमा जिल्ला प्रशासन साथमा रहने जनाएकी छन्। बिफा महासचिव भोटाङका डासो थिन्ले दोर्जीले पनि आफू बक्साद्वारमा प्रथमपल्ट आउने सौभाग्य जुरेको र भोटाङसँग मिल्दो रहन सहन र संस्कृतिले अझै भारत भोटाङबीचको मैत्री प्रगाढ भएर जाने आशा रहेको जनाएका छन्।
आयोजक कमिटीको पक्षबाट पिन्छो डुक्पा र ओसियन लेप्चाले डुक्पा हेरिटेजको सम्वर्द्धन तथा संरक्षण गर्ने एवम् विश्व पर्यटनसित बक्साद्वारलाई जोडने उद्देश्यले यो फेस्टिभल आयोजना गरिएको जनाएका छन्।

Leave a comment