एउटा सिङ्गो शताब्दी बाँचेका श्रीकिरातसँग केही कुराकानी

Table of Contents

एउटा सिङ्गो शताब्दी बाँचेका श्रीकिरातसँग केही कुराकानी


दुर्गा राई ‘चामलिङ’

आफू सय वर्ष बाँचि सक्दासम्म पनि नेपाली भाषा, साहित्य र समाजको निम्ति अझ केही गर्न बाकी नै छ भन्ने शताब्दी पुरुष हायमनदास राई किरात (श्रीकिरात) भारतेली नेपाली साहित्यका एक शिखर पुरुष हुन् । मान्छेको देह मर्छ, शरीरिक मांशहरू गल्छ अनि पञ्चतत्त्वमा बिलीन हुन्छ । मान्छेको भाव, विचारहरू र सत् कर्महरू भने सदैव मानव समाजमा जीवित भएर रहन्छ ।

नेपाली साहित्यको बृहत् छातामा आफू बाँचेर साहित्य कर्ममा लागि परिरहने शताब्दी पुरुष हायमनदास राई किरात, नेपाल राष्ट्र कवि माधव प्रसाद घिमिरे र सत्य मोहान जोसी हुन् । नेपाली साहित्यका त्रि शताब्दी पुरुषको जन्मको संयोग एकै साल रहेको छ । केही महिनाको हेरफेर रहे तापनि साल भने एकै रहेको छ र साहित्यिक योगदान पनि उस्ता उस्तै रहेको छ । यी शताब्दी बाँचेका साहित्यिक महारथीहरू माध्ये भारतेली नेपाली साहित्यका आख्यानकार हायमानदास राई किरात एक हुन् ।

सन् १९१९ को १९ फरवरीका दिन भारतको कालेबुङ स्थित गोरुबथान वस्तीको उत्तरेमा पिता स्व. रविचन्द्र राई र माता रत्नबाई राईनीको कोखबाट हायमनदास राई किरातको जन्म काइलो पुत्रको रूपमा भएको हो । गाउँकै प्राथमिक पाठशालामा कक्षा चारसम्म उतीर्न गरे पछि उनी मिरीकमा गई पाचौँ र छैटौँ कक्षाको अध्ययन गरे भने दार्जीलिङको सरकारी विद्यालयबाट आठौँ कक्षासम्मको शिक्षा प्राप्त गरे । त्यस पछि भने उनी औपाचारिक शिक्षादेखि बञ्चित रहे । उच्च शिक्षा ग्रहण गर्ने उनको इच्छा प्रबल रहेको हुँदा उनले स्व अध्ययनले नै स्कुल फाइनल दिए । यसै अध्ययन गर्ने क्रममा उनले खुल्ला शिक्षाको माध्यम उत्तर बङ्ग विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर (एम.ए.) तहसम्मको उच्च शिक्षा हासिल गरे । नेपाली साहित्यको बिराट फाँटमा वि.सं. १९९१ मा शारदा पत्रिकामा सुरवीर शीर्षकमा कथा लेखेर प्रकाशन गरे पछि साहित्यमा प्रवेश गरेका श्रीकिरत – का चौकीदार (सन् १९५२), अभागिनी साथी (सन् १९५५), बिनायो (सन् १९५६), विजय (सन् १९५६), बटुवा (सन् १९५७), आँधी ब्रेह्री (सन् १९६१), पङ्खी (सन् २०००), केही नमिलेका रेखाहरू भाग (सन् २००६), केही नमिलेका रेखाहरू भाग (सन् २००७), हाइकिङ (सन् २०११) आदि कथा सङ्ग्रह रहेका छन् भने उपन्यासमा होय च्याङ्बा –(लघु उपन्यास, सन् १९८४) र कुण्डल (सन् २०१२) रहेको छ । श्रीकिरातले आख्यान विधामा मात्र कलम नचलाएर कविता विधामा पनि कलम चलाएका छन् । कविता सङ्ग्रहमा उनका असार२९ (सन् १९८८) र यो वैशाख हो (सन् २०११) आदि साहित्यिक कृतिहरू प्रकाशित रहेको छ भने उनले थुप्रै पत्र पत्रिकाको सम्पादन पनि गरेका छन् ।

नेपाली भाषा, साहित्य, शिक्षा, आदि सामाजिक दायित्वहरूलाई आत्मा साथ गरेर कर्म गरेका श्रीकिरातलाई शिक्षा राष्ट्रिय पुरस्कार (१९९३), अरुगि पुरस्कार (१९९५), पारसमनि पुरस्कार (२०००), मदन व्याख्यानमाला पुरस्कार (२००३), भानु पुरस्कार (२००४), अकादमी पुरस्कार (२००८) बद्रीनारायण प्रधान स्मृति पुरस्कार (१०१३) आदि पुरस्कारहरूले सम्मान गरेका छन् ।

नेपाली साहित्यमा एउटा माइल खुट्टी भएर स्थापित हुन पुगेका श्रीकिरात एउटा सिङ्गो शताब्दी बाँचे । जीवनको अन्तिम पलसम्म मैले समाजको निम्ति अझ केही गर्नु बाकी छ भन्ने उर्जावान व्यक्तिको निधन १४ जुलाई २०१९ आइतबारको दिन भयो । श्रीकिरातको शरीर यो धरामा नरहे तापनि उनले गरेको नेपाली भाषा, साहित्य, शिक्षा र समाजप्रतिको सत् कर्महरू हामीमाझ सदैव एउटा दीव्य आभा भएर रहने छ ।

यसै बहूमुखि प्रतिभा भएका व्यक्ति आज एउटा व्यक्ति मात्र नरहेर एउटा सिङ्गो संस्था भएर हामी माझ विध्दमान रहेको छ । त्यस हेतु उनले गरेको कर्म र नेपाली जाति, भाषा र साहित्यप्रतिको योगदानको मूल्याङ्कन उनी जन्मेका क्षेत्रले आज कतिको गरिरहेछ यस विषयका लेखाजोका हुन अति आवश्यक मानिन्छ । आगामी दिनहरूमा उनको कर्मको सही मूल्याङ्कन हुने छ भन्नेमा आस्वास्ता पनि रहेको छु ।

यसै व्यक्तित्वका धनी श्रीकिरातसँग १२ नोभेम्बर २०१७ को दिन उनकै निवास गोरुबथानको उत्तारेमा मित्र सञ्जय प्रधानको साथमा केही भलाकुसरी गर्ने मौका जुरेको थियो । त्यसै भलाकुसरीलाई यहाँ पस्तुत छ पाठकहरू सामु –

१) साहित्य लेखन यात्रामा कुनै  प्रेरक प्रसङ्गहरू सुन्न चाहान्छु ?

उत्तर – मैले त सानैदेखि लेखेको हो । साथीहरूसँग भेला भएर । धेरै वर्ष पहिले जब हामीले प्राइमरी स्कूल पास ग¥यौँ । हामी छ सात जना साथीहरू थियौँ । उनीहरूसँग मिलेर पुस्तक पढ्ने हामीहरूको चासो पुरा गर्ने विचार लियौँ र हामीले कितापहरू बजारबाट किन्थियौँ । त्यति बेला बजारमा किताप पनि पाउँदैन थियो । साधारण किताप नै किन्थियौँ र साटी साटी पढ्थियौँ । र पछिबाट के भो भने देखिलाई ती कितापहरू साटी साटी पढ्यौँ र पछि बाल्य कबिर पुस्तकालय खोल्यौँ । त्यसै पुस्तक पढ्ने भेला हुने क्रममा हामी भन्दा जेठो पाको दाजुहरूले यसरी हुँदैन अब लेखेर पढेर सुनाउनु पर्छ भन्ने कुरामा लेख्न थाल्यौँ । त्यही पारामा मेरो लेखाई शुरु भाको हो ।

२) हजुरको बुझाईमा साहित्य के हो जस्तो लाग्छ ?

उत्तर – साहित्य भनेको मानिसमात्रको मनको एउटा भावना हो । जसलाई अभिव्यक्त गरिन्छ, त्यही भावनालाई साहित्य भनिन्छ । किन भने देखिलाई जसको ह्रदय उर्बर छैन । जसको ह्रदयमा कुनै प्रकारको रङ्गले प्रभाव पार्दैन त्यो मानिसले लेख्न सक्दैन । प्रभावित भएर त्यो भित्र पसेरमात्र लेख्न सकिन्छ । त्यही लेखाईलाई चाही हामी साहित्य भन्छौ ।

३) साहित्य लेखन यात्राको दीर्धकाल तय गरिसक्नु भएको छ  । त्यी साहित्यले समाजमा कस्तो प्रभाव पार्न सकेको छ जस्तो लाग्छ ?

उत्तर – खै के भनौ यस विषयमा म । मैले त्यति खोजी निधो गरेको छुँइन । किन भनेदेखिलाई लेख्छु कति लेख कितापहरूमा छापिन्छ, कति छापिन्दैन । र त्यसले मान्छेमा के प्रभाव पार्छ, के प्रभाव पार्दैन त्यो सोधी खोजी गर्दिन । हिजो अस्ती एक जना मानिस आए र मलाई भने दाइ तपाईँले धेरै किताप लेख्नु भो । तपाईँले लेखेको किताप पढ्दखेरी तपाईको भाषा जन भाषा छ । जन भाषा भएको हुनले तपाईको रचना जो छ जनता रुचाउँछ । तपाईको रचनामा जन भाषा नभएको भए तपाईको रचना यति लोक प्रिय हुने थिएन । जसरी प्रेमचन्दको भाषा त्यस बेलाको बोलाई अनुसारको थियो । यसकारणले मान्छे अझै पनि मन पराउँदैछ । तपाईको अहिलेको लोक भाषा अनुसार हो लेखाई छ र जन अभिरुचि त्यसमा छ । त्यसमा उनले भने साहित्यको भन्दा धेर तपाईको लेखनमा भाषाको प्रभाव छ भनेर भने । र त्यति नै हो ।

४) तपाईको उमेरले शताब्दी टेक्दैछ । त्यसैले पनि हजुरलाई जीवन भनेको के जस्तो लाग्छ ?

उत्तर – हा.. हा..जीवन त एउटा, म त के भनुम् । यो भोगि ल्याएको, खेलेको खेल न हो । यो संसारमा जन्मे पछि बिताउनु पर्छ जीवन, त्यसैले पनि जीवन एउटा खेल जस्तो लाग्छ । जसरी एउटा खेल खेल्यो खेल्यो त्यसपछि त्यसको कुनै अर्थ रहँदैन्, त्यस्तै जीवन पनि शेष भएपछि केही रहँदैन् । बाँचुञ्जेल एउटा आनन्द, एउटा मौज, एउटा सुख दुख भोग्नु छ । त्यसरी नै शेष भएपछि त्यसको अर्थ पनि शेष हुन्छ । त्यस्तो लाग्छ किनभने कति मेरो उमेरका साथीहरू हिजो अस्तीसम्म थिए, आज छैन । यसो विचार्छु, खेल हो, ती साथीहरू आउँथे, भेट्थे, डुल्थ्यौ त्यस बेला एक प्रकारको आनन्द थियो । तर सक्यो ती कुराहरू र तिनीहरूसँग भेट पनि हुँदैन र कुराहरू पनि हुँदैन । एउटा नाटक जस्तो क्या त, नाटक शेष भएपछि एउटा स्मृतिमा मात्र रहन्छ ।

५) हजुरले साहित्यको विभिन्न विधाहरूमा कलम चलाएको पाइन्छ, जस्तै कथा, कविता, निबन्ध, उपन्यास तापनि हजुरलाई विशेष पाठकले कथाकार कै रूपमा चिन्ने गरेको छ । कथा विधालाई नै चयन गर्नुको कारण के होला ?

उत्तर – कथालाई, कस्तो लाग्छ भने आफ्नै जीवनको वर्णन गरे जस्तो लाग्छ । आफ्नो जीवनको वर्णन मान्छेलाई सुनाउँदा एउटा आनन्द आउँछ । त्यसैले मेरो कथामा जति तपाई खोज्नु होस् मेरो जीवन कै कुराहरू पाउनु हुन्छ । कथामा गोठालो, खेताला गरेको वर्णन छ । त्यही मेरो जीवन हो । वर्णनात्मक रूपमा आफ्नो जीवनको जुन रूप, जुन कथा हुन्छ त्यही मेरो कथामा छ ।

६) समाज र साहित्य वा साहित्य र समाज एक सिक्काको दुई पाटा भनिन्छ होइन र ? सर । यस कुरालाई तपाईले कसरी सन्तुलन राख्नु हुन्छ ?

उत्तर – समाज र साहित्य, माने एउटा पैसाको दुई पाटो ? यसलाई मैले त्यस्तो साह्रो विचारेको छुँइन किनभने म जुन रचना, जुन कथाहरू लेख्छु नि त्यो भित्रको कुराहरू, त्यस विषयका कुराहरू म त्यति खोज्दिन । लेख्नु जो छ लेखि पठाउँछु । र जुन तयारी हुन्छ त्यो मात्र हेर्छु । यस विषयमा चाहिँ म तपाईलाई त्यति भन्न सक्दिन ।

७) तपाईको कथामा आञ्चालिकता मानौ गाउँले परिवेश प्राचुर मात्रमा पाइन्छ । यसलाई कथामा कसरी समावेश गर्नु हुन्छ ?

उत्तर – गाउँमा बसेर, गाउँले परिवेशमा आपैm पनि मुसिएको छ । आफ्नो विचार र चाल चलन, आफ्नो भनाई, बोलाई त्यसभित्र घुसिएको हुँनाले त्यही कुरालाई दोहोराएर लेखेको मात्र हो । गाउँभित्र बसेर, गाउँले परिवेशमा आएर बसेको हुनाले गाउँले विचार, गाउँले परिवेश मेरो लेखाईमा आउँछ । यहाँ कृत्रिमता, नकलीपन आउँदैन मेरोमा । मेरोमा जे छ, जस्तो वस्ताविक रूप छ । भन्दै जाँदा, लेख्दै जादा त्यही लेख्दै जान्छु, बिचमा कँही बनावटी कुरा आयो भने मिल्दैन मेरो कथामा । त्यसो गरे देखि नमिल्ने कुरालाई निकालेर फ्याली दिन्छ । यसै र मेरो कथामा तपाईले भने जस्तै गाउँले परिवेश प्रचुरमात्रमा रहेको छ ।

८) यतिका उमेरसम्म पनि हजुरले कथा सिर्जना गर्दै हुनु हुन्छ, ती सिर्जना गर्नुमा कुन उर्जा अथवा प्रेरणले साथ दिइरहेको छ त ?

उत्तर – यो त । अरुहरूको के कस्तो के छ, म भन्न सक्दिन । तर यसमा प्रेरण, उमङ्ग, उर्जा भन्ने कुरा जो छ यो त मभित्र सुशुप्त रूपमा क्या थाहै नपाई मभित्र बसेको छ । त्यही कुरा बाहिर निस्केको मात्र हो । कसैले प्रेरण दिएर, कसैले लेख भनेर, कसैले भन भनेर भनेको पनि होइन, लेख भनेर पनि लेखेको पनि होइन । यो त जस्तै साउने पानी हुन्छ नी ? एकासी फुटेर निस्केको मात्र हो । मलाई त्यस्तो लाग्छ । मलाई त्यस्तो लाग्छ पनि होइन, त्यस्तो नै हो ।

९) नेपाली साहित्यलाई विश्व साहित्यको तुलनामा या स्तरमा पु¥याउन के कस्तो पहल हुनु पर्छ जस्तो लाग्छ हजुरलाई ?

उत्तर – यो त अप्ठ्यारो कुरा हो । किन भने विश्व साहित्यलाई पनि राम्रो अध्ययन गरेको हुनु पर्छ । आफ्नो साहित्यलाई पनि राम्रो अध्ययन गर्नु पर्छ । तब मात्र त्यसको बराबरिमा पुग्न सकिन्छ । किन भने मेरो आफ्नो विचारमा आफ्नो संस्कृति, आफ्नो–आफ्नो भाषा, आफ्नो–आफ्नो मुलुक अनुसारको व्यवहार हुन्छ । र रुसको जुन संस्कृति छ, त्यो यहाँ हाम्रो संस्कृतिसँग मिल्दैन । वहाँ र यहाँको सन्तुलन पनि राख्न सकिदैन । यसलाई पूर्ण रूपले अध्ययन गर्नु पर्छ तबमात्र हुन्छ कि जस्तो लाग्छ ।

१०) नेपाली कथा लेखन अर्थात नेपाली साहित्यमा हालसम्म विभिन्न प्रकारको वाद अर्थात अवधारणहरूको निर्माण भएको छ । यस अवधरणहरूले हजुरको कथा लेखनमा कतिको प्रभाव पारेको छ ?

उत्तर – यो त पढ्नेहरूले खोज्नु पर्ने हो । मैले त के भन्ने र ? प्रभाव पारेको होला । किन भने मैले प्रायः नै विदेशी कथाहरू, विदेशी साहित्यलाई पढेको छु । कनिभने म विदेशी साहित्य पट्टी नलाग्नले नै मेरो कथामा आफ्नोपन रहेको छ । र पढे, कति अङ्ग्रेजीमा पढे, कति हिन्दीमा पढे, नेपाली अनुवादमा पढे तर त्यसको त्यस्तो प्रभाव परेको जस्तो मलाई लाग्दैन । कनिभने कति कथा मलाई मन प¥यो, कति मन परेन । मन परेको कथा कस्तो भो भने देखिलाई आपूmलाई मन परेको कथामा आफ्नो जातिसँग मेल खाएन । त्यसै र मेरो कथामा त्यस्तो प्रभाव परेको जस्तो लागेन ।

११) अनि कथा लेखेर कतिको सन्तुष्ट प्राप्त गर्नु भएको छ ?

उत्तर – कथा लेखेर सन्तुष्टि ? किन भने कोइ कोइ कथा चित्ता बुझ्दो हुन्छ, सन्तुष्ट हुन्छ । कोइ कोइ कथा चित्ता बुझ्दो हँुदेन, आपैmले लेखेको चित्ता बुझ्दो हुँदैन । जुन कथाले सन्तुष्टि दिन्छ त्यसले आपूmलाई पनि प्रभाव पारेको हुन्छ ।

१२) तपाईको कथा सिर्जनामा पाठक तथा समाजबाट कस्तो प्रकारको प्रतिक्रिया पाउनु भएको छ ?

उत्तर – कसैले त केही भनेको छैन अहिलेसम्म मलाई । केही आलोचनाहरू पढेको छु मैले । जे जस्तो होस् मेरो कथाहरू मेरो सिर्जनाहरू पाठकले पढीदिएको छ । रुचाइ दिएको छ । मलाई त्यति आनन्द लाग्छ । त्यहाँदेखि उप्रन्त खोज्दिन पनि म ।

१३) वर्तमान कथा लेखक तथा कथा लेखनप्रति तपाईको अवधरण कस्तो रहेको छ ?

उत्तर – वर्तमान कथा ? अलिकति कता कता नयाँ पाराले घुमेको छ । त्यसो गर्दाखेरी प्रायः पाठकहरूले उत्ति त्यो कथामाथि साधारण पाठकहरूले अभिरुचि राखेको पाइन्दैन । माथिल्लो तहका पाठकहरूको अर्कै कुरा रहेको छ । कनिभने मानिसहरूले भन्छन् मलाई कथा त कथै हो तर कथा जस्तो लाग्दैन हौँ – भनेर भन्छन् । अहिले त्यस्तो कथा लेख्नेहरूले प्रयोगवादी कथा भन्छन् । तिनीहरूको कथामा अलिकति कथा बिटुलिएको जस्तो लाग्छ हौँ । तपाईहरूलाई के लाग्छ कोनि ? तपाईहरूको आफ्नो आफ्नो विचार हो । म त बुढो मान्छे । बुढो विचार । बुढो भनाई । बुढो लेखाई छ । अहिलेको वर्तमानहरूको नयाँ नयाँ भनाई र नयाँ पढाई छ । अहिलेको समाजको जुन रूप छ । त्यसलाई त्यही रूप दिन्छन् होला । त्यही प्रकारले पढ्छन् होला जस्तो लाग्छ । विशेष म त्यसपट्टी उत्ति ध्यान पनि दिँदिन ।

१४) वर्तमान कथा लेखकहरूप्रति हजुरको केही सन्देश छ की ?

उत्तर – वर्तमान कथा लेखकहरूप्रति ? कथा मात्र होइन अरु विषयहरू पनि लेख्दै गर्नु पर्छ । तर प्रयोग र अरुको मौलिकतालाई चाहिँ आफ्नो मौलिकताभित्र घुसाउनु हुँदैन । आफ्नो लेखनमा कृत्रिमता आउँछ । भन्ने मेरो विचार छ ।

******+++*******


Leave a comment