गोरुबथानमा स्व. किरातको सालिग अनावरण गरिने

गोरुबथानः नेपाली भाषा साहित्यका मूर्धन्य स्रष्टा तथा शताब्दी पुरुष स्व. हायमनदास राई किरातको पूर्णाङ्ग सालिग आगामी ११ फरवरी, आइतवार स्व. किरातको जन्म जयन्तीको अवसरमा भव्य कार्यक्रमबीच अनावरण गरिनेछ। यस ऐतिहासिक समारोहको साक्षी बन्न दार्जीलिङ, कालेबुङ, सिलगढी, डुवर्स, सिक्किमलगायतका साहित्यकारहरूलाई आमन्त्रित गरिनेछ। साझा साहित्य संरक्षण संस्था, गोरुबथानको आह्वानमा मंगलवार बसेको सभाले उपर्युक्त प्रस्तावमाथि मोहर लगाउँदै कार्यक्रमको निम्ति तयारी शुरु गरेको आयोजक कमिटीको पक्षबाट अध्यक्ष तरुण राई, सचिव रूस्तम शर्मा र साहित्य अकादमी नयाँ दिल्ली, नेपाली भाषा परामर्श समितिका सदस्य सुवास सोताङले जानकारी गराएका छन्।
साहित्य अकादमी पुरस्कार, राष्ट्रिय शिक्षक पुरस्कार जस्ता गरिमामय सम्मानले विभूषित भारतीय नेपाली साहित्यकै एक विभूति हायमनदास राई किरातको ११ फरवरी १०६ औँ जन्म जयन्ती परेकोले पनि उक्त कार्यक्रमको विशेष महत्व रहने आयोजक कमिटीले जनाएको छ। १९५६ तिर नवयुग नेपाली पुस्तक मन्दिर नामक प्रकाशन संस्था गोरुबथानमा स्थापित गरेर किरातले भारतेली नेपाली भाषा साहित्यलाई ठुलो गुण लगाएका छन्। उक्त पूर्णाङ्ग सालिग स्थापनाले भारतेली नेपाली भाषा साहित्यप्रति किरातले पुराएको योगदानको केही कदर हुने आयोजक कमिटीको ठम्याइ छ।
यसै विषय लिएर आयोजन समितिको पक्षमा सुवास सोताङ, तरुण राई, रूस्तम शर्मा,लेनिन राई, सौराज राई, सन्जय प्रधान आदिको एक टोलीले बाग्राकोट गएर मूर्तिकार अमीर सुन्दाससँग भेट गऱ्यो भने निर्माणाधीन सालिगको पनि निरीक्षण गऱ्यो। स्व. किरात गोरुबथानको मात्रै साहित्यिक सम्पति नभएर सारा नेपाली समाजकै साहित्यिक निधि भएका हुनाले उनको सालिग अनावरणका दिन सम्पूर्ण नेपाली साहित्यिक समाजको उपस्थिति हुनेछ भन्ने आयोजक समितिको अपेक्षा छ।

1 thought on “गोरुबथानमा स्व. किरातको सालिग अनावरण गरिने”

Leave a comment