हात्तीपत्तामा भानु जयन्ती पालन

कालचिनीः शनिबार डुवर्सको विभिन्न ठाउँहरूमा २१०औँ भानु जयन्ती पालन गरिने क्रममा सुदुर कुमारग्राम खण्डको मैनाबारी हात्तीपत्तास्थित सन साइन मोडल स्कूलमा हैकमसिंह राई सालिक निर्माण कमिटीको तत्वावधानमा भानु जयन्ती पालन गरियो।
यस अवसरमा अतिथिको रुपमा राजाभातखावाबाट डुवर्स नेपाली साहित्य विकास समितिको संरक्षक तथा संस्थापक दुर्गा चामलिङ र सृजनशील समूह कालचिनीको पक्षबाट सचिव चन्दन भट्टराई एवम् सालिक निर्माण कमिटी हात्तीपत्ता मैनाबारीको सचिव वसन्त राई, उपाध्याक्ष रतन छेत्री, शिव शर्मा र विजय गोम्देन एवम् अन्यान्यको उपस्थिति रहेको थियो। आदिकवि भानुभक्त आचार्यको प्रतिकृतिमा मुख्य अतिथि दुर्गा चामलिङको बाहुलीबाट धुपदीप प्रज्वलन गरिएको थियो भने उपस्थित अतिथिहरूले पुष्पार्पण गरेको थियो।
सोही कार्यक्रममा नै आगामी ३१ अगस्तको दिन डुवर्सको प्रथम साहित्यिक प्रतिनिधि हैकमसिंह राईको ७ फूट अग्लो सालिक अनावरण साथै नेपाली भाषा मान्यता दिवस पालन गरिने निर्णय सालिक निर्माण कमिटीले गरेको पनि सालिक निर्माण कमिटीका सचिव वसन्त राईले जनाएका छन्। विशेषतया डुवर्सको प्रथम साहित्यिक प्रतिनिधि एवम् स्वाधीनता सेनानी मैनाबारी कैँजले बस्तीमा जन्मिएका हैकमसिंह राईको चर्चा नेपाली साहित्य जगतमा सुनिएता पनि तिनको सालिक निर्माण गर्ने सुरसार वर्तमानमा सृजनशील समूह कालचिनीको सदस्यहरू एवम् राजाभातखावाका साहित्य अनुरागी तथा विशिष्ट समाजसेवी दुर्गा चामलिङले लिएपछि त्यसमा हैकमसिंह राईको परिवार र सालिक निर्माण कमिटी लागिपरेको र आगामी ३१ अगस्त २०२४ को दिन नेपाली भाषा मान्यता दिवस पालनसितै हैकमसिंह राईको सालिक अनावरण पनि गरिने सालिक निर्माण कमिटीको सचिव वसन्त राईले थप जनाएका छन्।
उक्त कार्यक्रमलाई भव्यतापूर्ण सम्पन्न गर्न डुवर्सको सम्पूर्ण भाषाप्रेमी, साहित्यप्रेमी र जातिप्रेमीहरू समक्ष खुल्ला निम्तो पनि रहेको हैकमसिंह राई सालिक निर्माण कमिटीको सदस्यहरूले जनाएका छन्।

Leave a comment