कालचिनीः आगामी १ दिसम्बरदेखि ८ दिसम्बरसम्म कालचिनी खण्ड दिव्याङ्ग सङ्घले विश्व दिव्याङ्ग दिवसलाई कालो दिवसको रुपमा पालन गर्ने बताइएको छ। दीर्घ दिनदेखि दिव्याङ्गहरूको कतिपय दाबीहरू अलिपुरद्वार जिल्ला शासकलगायत कालचिनी बीडीओ समक्ष ज्ञापनको रुपमा चढाउँदै आइरहेको तर केवल आश्वासन मात्र दिव्याङ्गहरूले पाएकोले अब यस वर्षको विश्व दिव्याङ्ग दिवसलाई कालो दिवसको रुपमा पालन गर्दै कालचिनी बीडीओ कार्यालय अघि आगामी ३ दिसम्बरको दिन धरना प्रदर्शन गरिने एवम् सरकारद्वारा आयोजित दिव्याङ्ग दिवसलाई बहिष्कार गर्ने पनि बताइएको छ।
कालचिनी खण्ड दिव्याङ्ग सङ्घका सचिव विवेक कामीले राज्य सरकार समक्ष कालचिनी बीडीओ र अलिपुरद्वार जिल्ला शासक मार्फत विगत २०१८, २०२१ र २०२२ सालदेखि ज्ञापन र भोक हडताल समेत गर्दै आइरहेको तर आजसम्म दिव्याङ्गहरूको हकमा केही नगरिएकोले अब दिव्याङ्ग समूह पुनः आन्दोलनमा ओर्लिन बाध्य भएको विवेक कामीले जनाएका छन्। दिव्याङ्ग स्कूलको स्थापना, शिक्षित दिव्याङ्गहरूलाई बीडीओ एवम् जिल्ला प्रशासनको कार्यालयमा नौकरी प्रदान गरिनु पर्ने, प्रत्येक ग्राम पञ्चायतहरूमा भोकेशनल ट्रेनिङ सेन्टरको स्थापना, दिव्याङ्ग भत्तामा वृद्धि, डुवर्स दिव्याङ्ग विकास बोर्डको गठन, चुनाउमा दिव्याङ्गहरूलाई आरक्षण, राज्य दिव्याङ्ग सम्मान दिव्याङ्ग कवि, लेखक, समाजसेवा र खेलकूदमा प्रदान गरिनु पर्ने आदि दाबीहरू लिएर कालचिनी खण्ड दिव्याङ्ग सङ्घले ज्ञापन, धरना गर्दै आइरहेको तर दिव्याङ्गहरूलाई उपेक्षा गर्दै आइरहेकोले नै यसपालीको विश्व दिव्याङ्ग दिवसलाई कालो दिवसको रुपमा पालन गर्ने अठोट लिएको थप जानकारी कालचिनी खण्ड दिव्याङ्ग सङ्घका सचिव विवेक कामीले दिएका छन्। तिनले दिव्याङ्गहरूको यस आन्दोलनलाई सबैले सहयोग पुऱ्याउने अपील समेत गरेका छन्।