खतराकाे घण्टी

कविता

खतराकाे घण्टी

लेकनाथ खालिङ

जुलाई महिनामा हिमाल हाँस्नु खतराकाे घण्टी बज्नु हो,
साउन बित्न लाग्यो अझसम्म मूल पनि फुटेन,
२०२५ सालको कुरा हो यो,
दस दिन पहिले आइपुगेको मनसुन
मौसम विभागको रेकड थियो,
पछिबाट थाहा पाइयो
मनसुन हावा आइपुगेर २१ दिन बिसायो,
कोही कोही ठाउँमा अत्याधिक बर्षा
कोही ठाउँमा केही छैन,
यस्तो पाराले कठै दैव
यस धर्तीमा मान्छे रहला कि नरहला,
रुख है काटि जङ्गल मासि
बनायौँ कङ्क्रिटको घर,
गर्मी बढ्दा एसी लायौँ
घाम लाग्दा के को डर,
माथि माथि हिमालतिर
मोटर गाडी पुर्याउने रहर,
त्यसैले त पहाड फुटाई
सुरुङ खनि रेलगाडी अनि पुर्याउने मोटर,
खोला र नाला
पहाड र पर्वत भत्किने भो अब,
एसीमा हिड्ने एसीमा बस्ने भएपछि!
हिम पहिरोहररू चल्ने भो बेसी
फुट्ने भो पोखरीहरू,
भेल र बाढी आउने नै भयो,
बिस्तारैसँग खोला र पोखरी सुक्ने भयो,
बेमौसम बर्षा तुफान र आँधी
आइ नै रहने भयो,
पानीको मुहान सुकेपछि
कसरी जिउने हो!
धर्तीको चार भागमा तीनभाग पानी
तर पिउन नसक्ने हो,
एक प्रतिशत पानी पिउन लायक छ
त्यो पनि सुकिसक्यो,
उभ्रेको पानी सबै नै आज दुषित भइसक्यो,
सगरमाथाको थाप्लोमा पनि धेरै मैला थुप्रिसक्यो,
समुन्द्रमा पनि तार र तेलले ढाकिसक्यो,
आकाशमा हेर्यो त्यस्तै छ आज
नदेख्ने विकिरण सञ्जाल
त्यसैले गर्दा अप्ठ्यारो भयो
जलचर थलचर नभचर सबैलाई
त्यसैले त मौसममा हाँस्ने हिमाल
बेमौसम हाँसिराछ,
यो हँसाई तर हामी सबैको निम्ति
शुभ सङ्केत होइन है।।

(नोट-यहाँ एसी भनेको वातानुकुल ब्यावस्था हो।)

धजे,कालेबुङ


याे पनि हेर्नुस्

Leave a comment