मालबजारः आज आदिकवि भानुभक्त आचार्यको वेदीको अनावरण माल नगरपालिका चेयरमेन स्वपन साहाको बाहुलीबाट गरियो। वेदी अनावरण पछि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरेर भानुजयन्ती पालन गरियो। स्मरण गराइन्छ- भोलि १४ जुलाईको दिन डुवर्स नेपाली साहित्य विकास समिति र मालबजार नेपाली समाजको आयोजनामा सुभाषिनी बालिका विद्यालयमा भव्य रूपमा २१०औँ भानुजयन्ती पालन गरिनेछ। मालबजारमा भानुभक्त आचार्यको वेदीको अनावरण भएपछि यहाँका नेपाली समाजका मानिसहरू धेरै खुशी छन् साथै माल नगरपालिका चेयरमेन स्वपन साहाप्रति आभार व्यक्त गरेका छन्। देवीको अनावरणपछि माल नगरपालिका चेयरमेन स्वपन साहाले भने, भानुभक्तको सालिक २०१८ सालमा यहाँ स्थापना भएको थियो। तर कतिपय कारणले गर्दा वेदी निर्माण गरेर राख्न सकेका थिएनौँ। यहाँका नेपाली दाजु-भाईहरूले धेरै परिश्रम गरेका छन्।
तिनीहरूले वारम्बार मलाई वेदी निर्माण गरिदिने आवेदन गरेका थिए। आज हामीले वेदी निर्माण गरेर भानुभक्तलाई सही ठाउँमा राख्न सफल भएका छौँ। भानुभक्त जन्मजयन्ती आयोजक समितिका सचिव अजित पराजुलीले भने, माल नगरपालिकाको तर्फबाट माल बस स्टेण्डनजिक आदिकवि भानुभक्त आचार्यको सालिक राखिएको छ। तर कतिपय कारणले गर्दा त्यसलाई वेदी निर्माण गरेर राख्न सकेको थिएन। आज माल नगरपालिकाको तर्फबाट वेदी निर्माण गरी अनावरण पनि गरिएको छ। सालिकको वेदी निर्माणमा माल नगरपालिकाका वार्ड नम्बर १५ का काउन्सिल मिलन छेत्रीको मुख्य भूमिका रहेको छ। यसको निम्ति हामी सम्पूर्ण मालबजारको नेपाली समाजका मानिसहरू धेरै खुशी छौँ साथै चेयरमेनप्रति आभारी छौँ। यस विषयमा १५ नम्बर वार्डका काउन्सिलर मिलन छेत्रीले भने, २०१९ सालमा यहाँ माल नगरपालिकाद्वारा भानुभक्त आचार्यको मूर्ति स्थापना गरेको थियो। तर कतिपय कारणले गर्दा मूर्तिलाई वेदी निर्माण गरेर राख्न सकिएको थिएन। समाजद्वारा नगरपालिकालाई बारम्बार भानुभक्तको मूर्तिलाई वेदी निर्माण गरेर राखिदिने आवेदन गरिरहेको थियो। जसको फलस्वरूप आज वेदी निर्माण समाप्त भएर अनावरण पनि गरियो। यसको निम्ति माल नगरपालिका चेयरम्यान सपन साहालाई धन्यवाद दिन्छौँ।
आजको भानुजयन्ती कार्यक्रममा शिक्षक कृष्ण शर्मा, अजय थापा, भिम राई, दिपक दर्जी, कृष्ण छेत्री, नबिन थापा, गोपाल सोनार, कल्याण प्रधान, समाजसेवी अजित पराजुली, किरण प्रधान, कृष्ण बराइली, १५ नम्बर वार्ड काउन्सिलर मिलन छेत्री, राजेश गुरुङ र मालबजार नेपाली समाजका मानिसहरूको उपस्थिति रहेको थियो।