पुलिस स्मृति दिवस पालन
कालचिनीः एसएसबी ५३ वाहिनी सिमलाबारी-फालाकाटाले सोमबार “पुलिस स्मृति दिवस” भव्य रूपमा मनाउँदै “स्मरण परेड” पनि आयोजना गऱ्यो। समारोहमा एसएसबी ५३ वाहिनीका कमान्डेन्ट विजय सिंहले उपस्थित सबैलाई बधाई दिएको थियो भने १ अक्टोबर २०२३ देखि ३१ अगस्त २०२४ सम्मको अवधिमा ड्यूटीमा शहीद भएका सिएपीएफ र पुलिसका जवानहरूलाई सम्झन्दै पुलिस स्मृति दिवसको बारेमा विवरण राखिएको थियो।
उल्लेखनीय छ, भारतको चीनसँगको २५०० माइल लामो सीमा सुरक्षाको जिम्मेवारी भारतीय पुलिसको तीन बटालियनहरूमा थियो।
पहिलो दुई बटालियन गस्ती सकेर फर्किए पनि तेस्रो बटालियन गस्तीबाट फर्किएनन्। उत्तर-पूर्वी लद्दाखको हट स्प्रिङ्स क्षेत्रमा तैनाथ पुलिस जवानहरूको एक टुक्रालाई चिनियाँ सेनाले एम्बुस गरेको थियो। जसमा हाम्रा १० जना सैनिक शहीद भएका थिए भने ७ जना घाइते भएका थिए। यस बटालियनको नेतृत्व डीएसपी करम सिंहले गरिरहेका थिए तर लुक्ने ठाउँ नहुँदा डीएसपी करम सिंहसहित १० सैनिकको मृत्यु भएको थियो भने ७ सैनिकलाई चिनियाँ सेनाले बन्धक बनाएको थियो।
यस घटनाको २३ दिनपछि १३ नोभेम्बर १९५९ मा चिनियाँ सेनाले ती सैनिकहरूको शव भारतलाई फिर्ता गरायो। करम सिंहलाई वीरताको लागि मरणोपरान्त अशोक चक्र प्रदान गरिएको थियो। पुलिस जवानले देशका लागि गरेको त्याग र योगदानलाई मध्यनजर गर्दै सन् १९६० जनवरीमा पुलिस महानिरीक्षकको वार्षिक सम्मेलनले प्रत्येक वर्ष अक्टोबर २१ लाई पुलिस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। एसएसबी ५३ वाहिनी मुख्यालय सिमलाबारी फालाकाटामा पालित समारोहको सो अवसरमा डेपुटी कमाण्डेन्ट हर्ष सिन्हा, डेपुटी कमाण्डेन्ट शेखर बजाज, असिस्टेन्ट कमाण्डेन्ट (सञ्चार) अशोक राय तथा अन्य फोर्सका कर्मचारीहरूको उपस्थिति रहेको थियो।