पाेस्टर र लात – अन्तिम भाग

प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : अन्तिम भाग


प्रदीप गुरूङ
प्रदीप गुरूङ

१३१. पीडित

जिन्दगीमा हरेक आयामबाट पीडित बन्न उसको नियति बन्यो।

  • – ऊ परिवार पीडित बन्यो।
  • – ऊ समाज र व्यवस्था पीडित बन्यो।
  • – दुनियाँदारी पीडित बन्यो।
  • – ऊ कार्यालय पीडित बन्यो।

कार्यालय पीडित अवस्थाको टिप्पणी –

कार्यालय निकम्मा, अयोग्य र ठगहरूको अड्डा ।

आफ्नो सिद्धान्तमा कायम रही कार्यालय विरुद्ध नै ऊ लड्न उठ्यो। तर चोरहरूको गाउँमा एकजना मात्र साधु नै चोर प्रमाणित भयो। निकम्मा र अयोग्यहरूले उसको विरुद्ध नै जुलूस निकाले। जुलूससँग ऊ हार्नै मानेन। किनकि ऊ आफ्नो सिद्धान्तमा हार्न मानिरहेको थिएन।

परिणाम-

जुलूसद्वारा ऊमाथि आक्रमण ।

घाइते अवस्थामा उसको अस्पताल भर्ना ।

अन्तमा-

सूत्र उपन्यास पाेस्टर र लात
सूत्र उपन्यास पाेस्टर र लात

फेरि तिनै निकम्मा र अयोग्यहरू आई गोहीको आँसु बहाउन थाले। ऊ गोही आँसुपीडित बन्यो।

******++++*****

१३२. भोग-प्रयोग

कुनै एक उपलक्ष्य ।

दुई जोडी पति पत्नीहरू एक साथ।

१- क+क र ख+ख

पति ‘क’-ले भन्यो- ‘फूल भोग हो भने काँढा परित्यक्त बस्तु हो।’

पत्नी ‘ख’ बोली- ‘हाम्रा लागि सुगन्ध फूलकै भोग हो। काँढाको चाहिँ सुरक्षात्मक महत्त्व छ।’

पति ‘ख’ बोल्यो- हाम्रो त फूललाई मात्र समर्थन छ।

पत्नी ‘क’ ले अन्तमा भनी मलाई त भमरा प्रासाङ्गिक लाग्छ।

त्यसपछि उसो कुनै विवादमा नपर्ने तिनीहरूले प्रस्ताव ग्रहण गरे।

रातसँगै रक्सी चड्यो। फूल र काँढाको सन्दर्भमा तिनीहरूको मत नमिले पनि रक्सीको असरमा तिनीहरू समान रहे। ‘क’ र ‘ख’ -को विपरीत जोडीमा ती मिले अनि एकै स्वरमा कराए – ‘भोग पनि प्रयोग हो। भोगको मान्यता सर्वमान्य छ।’

रातलाई साक्षी राखेर भोगको प्रयोगमा तिनीहरू बेग्ला बेग्लै कोठाभित्र एकार्कामा अर्कै अर्कै मिलेर समर्पित भए। अन्धकारसँगै भोग फैलियो।

बिहान उठेर तिनीहरूले नयाँ प्रयोगात्मक अभिवादन जनाए-एकार्कामा।

******++++*****

१३३. मुद्दा

अनपेक्षित रूपमा मुद्दा अदालत पुग्यो।

न्यायाधिशले भने- ‘आतङ्क अपराध हो। अझ ‘फूलको आतङ्क’ ‘भनेपछि त त्यो नौलो थरिको अपराध हो।’

‘यस प्रसङ्गमा फूल के अपराधी साबित हुन्छ त?’

एकजना लेखकले सोधे।

‘फूल त एउटा निर्दोष बस्तु हो र मुद्दा चाहिँ त्यसका शब्द सर्जकमाथि थोपिन्छ।’ न्यायाधिशले तर्क राखे।

‘शब्द प्रयोग लेखकको लेखन अधिकारभित्र पर्ने विषय हो। शब्द सर्जकमाथि मुद्दा थोपिन्छ भन्नु न्याय प्रणालीको अपराध हो।’ लेखक चड्किए।

त्यसपछि न्याय बुझ्न आएका लेखकहरूको समूहले एकाएक त्यसको विरुद्ध नाराबाजी शुरु गरे।

स्थिति नियन्त्रणदेखि बाहिर जाने शङ्कामा न्यायाधिशले फेरि अर्को निर्णय सुनाए- ‘न्याय प्रणालीमा यो नौलो मुद्दा हो। यसर्थ, समाधानार्थ न्याय विशेषज्ञहरूको एउटा आयोग बस्नेछ। त्यतिञ्जेल तपाईंहरू धैर्य धारण गर्नुहोस् ।’ लेखकहरूले यसलाई नै विजय ठानेर कराउँदै न्यायालय प्राङ्गण छाडे- ‘शब्दको प्रयोग जिन्दाबाद, फूलको आतङ्क जिन्दाबाद।’

******++++*****

१३४. उसकै खुट्टा

धेरै लामो भाग-दौडपछि उसलाई आफ्नै खुट्टाले एक दिन सोध्यो- ‘सारा जीवन मैले तिमीलाई बोकेको बोकेकै छु। तर तिमी आफ्नो शिरलाई मात्र प्रत्येक थोकको श्रेय र स्याबासी दिन्छौ।’

उसले भन्यो- ‘कवि भूपिले तिम्रो गुनासो आफ्ना कवितामा पोखिदिएका छन् त ।’

ऊमाथि उल्टो प्रश्न दोहोरियो- ‘त के कवि भूपिको खुट्टाले माला लगाउन पाए त?’

‘त्यो त मालाको अपमान हुने थियो नि।’

‘खुट्टाको मान चाहिँ मालाको अपमान?’

खुट्टे तर्क-

‘तिमीले मलाई खुट्टाको खुट्टामै राख्यौ। आफूमाथि अत्यचार हुँदा पनि मलाई बिरुद्धमा लात बन्ने मौका दिएनौ। अरूले जस्तो म पोस्टरमा लात मार्ने त थिइन ।’

‘होइन, तिम्रो वास्तविक दाबी र माग चाहिँ के हो?’

उसले खुलस्त पार्न खोज्यो ।

‘तिमीले मेरो मान हानि गरि त हाल्यौ। यसर्थ, जबसम्म यो मान हानिको मुद्दा छिन्दैन तबसम्म म यहाँ हडतालमा बस्नेछु।’

खुट्टाले अन्तिम दाबी जनायो। अन्ततः ऊ पनि खुट्टाको सामू आत्मसमर्पण गरेर यथास्थितिमा समाहित बन्यो।

******++++*****

१३५. अनशनकारी जिन्दाबाद!

भीड आँगमा जुलूस बोकेर हिँड्ने भएको छ।

भीडको स्वास स्वासमा नारा छ।

आन्दोलन जातीय, अस्मिता र चिन्हारीका लागि।

जिन्दाबाद, जिन्दाबाद।

जुलूसका ओठहरू कराउँछन् ।

अनशनमा छन् अनशनकारीहरू अन्न, पानी नकारेर।

गान्धीबाद!

थुम थुमबाट आउँछन् समर्थकहरू। फूल गुच्छा, खदा माला।

माटो (छुट्टै राज्य) चिनेर ऊ पनि एक हुलको पछि पछि गई खदाहरू चढायो। छोरोको जन्म- दिनमा बटुलिएका खदाहरू !

बेलुकी घरमा चामल थिएन। ऊ किन्न गयो। तर पैसा थिएन। एउटा ठेकेदार चिनारूले सघाउँथ्यो यस्तोमा पहिला पहिला। ठेकेदारलाई नभेटी भएन।

खोज्दै खोज्दै होटलमै पुग्यो।

ठेकेदार भेटिएन।

अनशनकारीलाई दिउँसो फूल गुच्छा र खदा चढाउने

सम्भ्रान्त समर्थकहरू थिए- ह्विस्कीसँग चिकन फ्राइ खाइरहेका ती ! उसको मनले दोहोर्यायो-

अनशनकारी जिन्दाबाद!

******++++*****

१३६. ऋण

भाग्नु सिवाय उसँग अर्को विकल्प रहेन।

यसर्थ, ऊ भागिरह्यो।

भाग्दै भाग्दै सुरक्षित स्थानतिर गयो।

तर उसलाई भीडको कोलाहलले खेदिरह्यो ।

एकान्तताले पनि लखेटि रह्यो।

ऊ फेरि भीडमा मिसियो ।

भीडको प्रत्येक अनुहारमा आफ्नो तमसुक पढ्यो । जीवन धान्ने प्रक्रियामा ऊ ऋणमा चुर्लुम्म डुबेपछि भागी भागी आफूलाई ऋणदेखि चुक्ता गर्न खोजी रह्यो।

भीडभित्र एकजनाले उसको कठालो समाएर भीडले पनि सुन्नेगरी भन्यो- ‘कति दिनसम्म भागेर हिँड्ने? लगेको रुपियाँ कहिले फिर्ता गर्छस्?’

उसँग यसको उत्तर थिएन।

किनकि उसको खल्तीमा ऋण तिर्ने पैसा थिएन।

उन्मुक्तिको चाहनामा ऊ छट्पटियो। तर कठालो छाडिएन। हठात् अर्को ठूलो ऋणदाता आएर उसको सानो ऋणदाताको पनि कठालो समाएर उस्तै करायो- ‘तँ यहाँ अर्काको कठालो समाएर आफूलाई बहादुर प्रमाणित गर्ने? पहिला मेरो बीस हजार खुरुक्कै फिर्ता गर् अनि तलाई बहादुर मानुला। अर्काको कठालो छाड्।’

ऊ मुक्त भयो। भाग्दै सम्झ्यो- ‘सम्पूर्ण संसार नै ऋणमा डुबेको रहेछ।’

******++++*****

१३७. भोक-बिद्रोह

भोकले फेरि उसको बिरूद्ध बिद्रोह गर्यो।

आन्दोलनको स्थल उसको पेट-प्रदेश बन्यो।

पेट-प्रदेशमा धेरै दिनदेखि बन्दक परेको भोक एकाएक बाहिर दुनियाँदारीमा देखा पर्यो र उसको बिरूद्ध नारा लगाउन थाल्यो- ‘हामीलाई भोजन चाहिन्छ, चाहिन्छ।

हाम्रो माग दालभात, दाल भात।’

त्यसपछि भोकले उसको बिरूद्ध सार्वजनिक स्थलमा पोस्टर टाँस्यो- ‘दिइएको मियादभित्र हाम्रो माग पूरा नभए हामी आमरण भोक हड्तालमा बस्ने छौं।’

भोक स्वयंले भोक हड्ताल गर्ने कुरो पनि बिश्वको अनौठो आश्चर्य बन्यो। दुनियाँभरका पत्रकार र मिडियावालाहरू आएर रात दिन उसको पेट-प्रदेशबाट उम्किएको भोकको पछि पछि कुद्न थाले।

तर भोकको माग पूरा गर्ने ऊसँग सामर्थ्य थिएन। किनकि उसको परिवार पनि धेरै दिनदेखि भोकै थियो।

परिणाम-

भोकले उसको बिरूद्ध आमरण भोक हड्ताल शुरु गर्यो।

ऊ अस्पतालको पलङ्गमा पुग्यो।

******++++*****

१३८. नपुशंकहरूको शहर

ऊ वस्तो शहरमा आइ पुग्यो जुन शहरमा नपुशंकता मौलाइ रहेको थियो। ‘अन्धकारको खुड्डा’ (बैरागी काइला) ले हिँडेर नपुंशकहरू शहरको मुर्दापनमा नकारात्मक उर्जा थपिरहेका थिए।

उसले शहरभरि पोस्टरै पोस्टर देख्यो।

लेखिएको थियो- ‘पुरुषार्थ मुर्दाबाद्।’

‘पुरूषार्थ होशियार।’

आगन्तुकहरू त्यहाँ जति पुरुषार्थ संलग्न प्रवेश गरे सबैलाई नपुशंकहरूले अपहरण गरी प्रयोगशालातिर लाँदै थिए। त्यो ठाउँ पुरूषार्थसंलग्न मानिसहरूलाई नपुशंकमा रूपान्तर गर्ने प्रयोगशाला थियो।

फेरि उसले अर्को पोस्टर पढ्यो- ‘तथाकथित पुरूषार्थकै कारण संसार आज यो अवस्थामा पुगेको छ।’

नपुशंकहरू तालिवान बनेका थिए र शहरभरि आफ्नो फरमान जारी गरिरहेका थिए।

उसले त्यहाँ एउटा सार्वजनिक पसल देख्यो। पसलमा नपंशुकताको आवरण चर्को मूल्यमा पनि निरन्तर बिक्री भइरहेको थियो। रूपान्तर बिरोधीहरू सबै त्यहाँ भीड लागेका थिए।

प्रत्येकको मनमा प्रयोगशालाको भय थियो।

पुरूषार्थमा अडिग बसी प्रयोगशालातिर जान अस्वीकार गर्नेहरूलाई शहरको विभिन्न चोकमा क्रुसिफाइ गरिएका थिए। त्यहाँ तिनीहरूको पुरूषार्थको नग्नता प्रदर्शित थियो।

नपंशुकहरू शहरभरि अट्टाहास गरिरहेका थिए र क्रुसिफाइड पुरूषत्वको नापतौल गरेर नकारात्मक मूल्याङ्कन गर्नमा ती उद्धत थिए।

आफ्नो सुरक्षात्मक प्रयोगमा उसले पनि सम्बन्धित पसलमा गई नपुशंकताको आवरण किन्यो। तर अचानक नपुंशकहरूले शहरमा पुरूषत्व दाखिल भएको शङ्कामा शहरभरि रौचिरा खोज अभियान शुरू गर्ने हल्ला सुनियो। ऊ किमार्थ आफ्नो पुरूषार्थलाई आत्मसर्पण गराउने पक्षमा थिएन। यसर्थ, उसले नपुशंकताको आवरण प्रयोग गर्यो शहरमा।

तर शहरबाहिर आइसक्दा नपुंशकताको सङ्क्रमण ऊभित्र पनि पूर्णतः व्याप्त थियो।

******++++*****

१३९. पोस्टर र लात

पोस्टर टालियो।

टोलमा ।

टोलमा मतलब उसकै किरायदार घरको भित्तामा।

पोस्टर टालिएको समय- सम्भवतः रातको प्रहर !

घातक !

रातको आड्मा काम गर्नेहरू ।

पोस्टरमा उसले पढ्यो- ‘तँ फलानो होशियार। तैंले सूत्रहरू फैलाएर हाम्रा कमजोरीहरूलाई सार्वजनिक गरिस् होइन? हेरूँ, तेरा सूत्रहरूको शक्ति ! हाम्रो मतलबको हरेक खण्डमा तेरो अतिक्रमण बढ्यो। तर तँ हाम्रो लागि अयोग्य बस्तु होस् । तैं अब हाम्रो लात खान मात्र योग्यको रहिस् । जति तैंले व्यङ्ग्य हानिस् त्यति नै अब तँमाथि लात बर्सिने छ। बुझिस्? सिर्फ लात् !’

पोस्टरले उसलाई भन्यो।

भीड व्यङ्गय हाँस्यो ।

खुच्चिङ, खुच्चिङ ! उसका बैरीहरू।

पोस्टर बारूद भयो। पोस्टर आतङ्कबाद भयो।

फेरि अट्टाहास छाड्यो पोस्टरले। भीडको आँखाले शङ्का छादि रह्यो ऊमाथि।

ऊ अपराधी?

ऊ दोषी र पापी?

भीडले कैफियत खोज्यो उसको अनुहारमा। ऊ उभिएको, उभिएकै। पराजयको अन्तहीन दौडमा हारेर ऊ कुदेकै कुदेकै। मूक कैफियत उसले दियो भीडलाई। ऊ निःशब्द। स्थिर ।

-ऊ त एकजना अपात्र हो। उसको अपराध यति भइ दियो कि समाजको पक्षमा सार्वजनिक बन्यो, एउटा माध्यम बन्यो। ऊ सूत्र बन्यो। ऊ भोक र अभावग्रस्त बन्यो। सार्वजनिक पात्रता उसको अपात्रमाथि केन्द्रित बन्यो।

उसले भीडको सामू पोस्टरलाई बढो सम्मानसाथ उप्काएर पट्यायो अनि त्यसलाई आफ्नो खल्तीभित्र राख्यो। किन कि उसको अपात्रताको जन्म कुण्डली त्यहीभित्र थियो।

कोठा थुनेर उसले दिनभरि पोस्टर दर्शनमाथि गहिरो चिन्तन गर्यो।

– संसार एउटा कोरा, निष्कलङ्क पोस्टर हो।

– प्रकृतिको हातले त्यहाँ श्वेत आभास पोतेको हुन्छ।

– त्यस्तो पोस्टरको गरिमालाई सबैले संरक्षण गर्नु पर्छ।

यसर्थ, भोलिपल्ट उसले पोस्टरको सुसंस्कार संरक्षणार्थ ठूलो र स्वच्छ सेतो भित्ताकारको क्यानभास ल्याएर घरसामू सार्वजनिक स्थानमा राख्यो। सार्वजनिक यस अर्थमा कि पोस्टरको संस्कार नै सार्वजनिकता हो।

उसको निर्क्याैल-

– पोस्टरले लात होइन, सम्झौता र सद्भावनाको हात बढाउनु पर्छ।

– स्वच्छ पोस्टर समाजको प्रतिबिम्ब बनोस् ।

फेरि केही नलेखिएको पोस्टर हेर्न भीड जम्यो।

भीडको आँखाले तर हिजकै लात हान्ने पोस्टर खोज्यो। भीडको ब्यापकता बढ्‌यो र फेरि लातको स्वाद खोज्न थाल्यो।

एकजनाले भन्यो – ‘यस्तो सफा पोस्टर छ। तर बीचमा किन त्यो सानो कालो बिन्दु ?’ पोस्टरमा कालो बिन्दुको सङ्क्रमण बढ्दै गयो। अर्कोले बिन्दु कोट्याएर त्यहाँ सानो छिन्द्र नै बनाइ दियो। दागको छिन्द्रतामा चित्त नबुझ्दा अर्कोले अझ कोट्यायो। कोट्यायो, कोट्यायो।

‘यस्तो केही नलेखिएको पोस्टरको कुनै अर्थ छैन ।’

पोस्टरलाई अर्थपूर्ण बनाउन अर्कोले लात कसेर स्वच्छ पोस्टरमा गतिलै छाप बसायो। सत्ता पक्षलाई गाली गरेको एउटै नारा पनि यसमा छैन।’

राजनैतिक बिपक्षको लात कसियो।

‘जनताको समस्याको यसमा कुनै उल्लेख छैन ।’

समस्याको लात कसियो।

‘बजेट र सहुलियतको कुनै जानकारी छैन।’

बजेट-लात बर्सियो ।

‘बेकारीको लागि रोजगारको कुनै तथ्य छैन।’

बेकारी लात कसियो ।

‘खास मुद्दाको उल्लेख छैन ।’

मुद्दाको लात कसियो।

अन्तमा पोस्टर पूर्णतः लात सङ्क्रमित बन्यो।

अनि क्रमशः लात, लात अनि लात !!

******++++*****

याे पनि हेर्नुस्


Leave a comment