राजाभातखावामा बनमहोत्सव पालन
कालचिनीः पश्चिम बङ्गाल राज्य सरकारको दिशानिर्देश अनि राज्यको बन विभागको पहलमा विभिन्न जिल्लाहरूमा बनमहोत्सव पालन गर्ने क्रममा मङ्गलवार वन्यजीव संरक्षण अनि जैव विविधताको रक्षार्थ बक्सा ब्याघ्र प्रकल्पको पहलमा राजाभातखावास्थित एनआईसीमा अलिपुरद्वार जिल्लास्तरीय बनमहोत्सव सम्पन्न भयो। उक्त अवसरमा कार्यक्रमको शुभारम्भ उद्घाटन गर्न जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबो, डा. सौरभ चक्रवर्ती, मृदुल गोस्वामी, बक्सा ब्याघ्र प्रकल्पको फील्ड डाइरेक्टर अपूर्व सेन, जल्दापाडा डीएफओ प्रवीण कासवान एवम् अन्यान्य अधिकारीगणको उपस्थिति रहेको थियो।
यस अवधि विभिन्न स्कूलका विद्यार्थी अनि एनजीओ प्रतिनिधि एवम् अतिथिहरूको बाहुलीबाट वृक्षारोपण गरिएको थियो भने स्कूले विद्यार्थीहरूलाई बस अनि चित्र बनाउ प्रतियोगितामा सहभागिता गराइएको थियो। उक्त प्रतियोगितामा सहभागी जम्मै विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने पानबारी जेएफएमसीलाई उत्कृष्ट काम गरेकोले सम्वर्द्धना प्रदान गरिएको थियो।