राजाभातखावामा सहीद मेजर दुर्गा मल्लको सालिक अनावरण

राजाभातखावामा सहीद मेजर दुर्गा मल्लको सालिक अनावरण


कालचिनीः डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ कालचिनी खण्डको वन सुन्दरीको भनेर चिनिने राजाभातखावामा आइतबार १३ फूट अग्लो सहीद मेजर दुर्गा मल्लको सालिक अनावरण सम्पन्न भयो। सालिक निर्माण समिति राजाभातखावाको आयोजना एवम् नेपाली समाज कल्याण समितिको सहभागिता र समाजसेवी पासाङ लामाको‌ सौजन्यतामा सम्पन्न सो समारोहमा मुख्य अतिथिहरूमा खरसाङका विधायक बीपी बजगाई, लङ्कापाडाका युवा समाजसेवी तथा अलिपुरद्वार जिल्ला परिषदका कर्माध्याक्ष विशाल गुरुङ, एसजेडीएका भाइस चेयरम्यान मृदुल गोस्वामी, समाजसेवी जुगेश राई, नवीन के. छेत्री, आगोस प्रमुख तथा बाग्राकोटका समाजसेवी सघन मोक्तान, कालचिनीका वरिष्ठ समाजसेवी ललित न्यासुर, भागोप प्रतिनिधिहरू अनिल थापा, मोहन विश्व, लाक्पा योञ्जन, कुमार गोले, विनोद सुब्बालगायत डुवर्सका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू आदिवासी समाजसेवी आदिको बाक्लो उपस्थिति रहेको थियो। सो समारोहमा नै नीट परीक्षा २०२४ को उत्तीर्ण विद्यार्थी र अभिभावकहरूलाई सालिक निर्माण कमिटीको पक्षबाट सम्वर्द्धना प्रदान गरिएको थियो भने जयगाउँ सन्त डोमेनिक्स स्कूलका विद्यार्थीहरूले स्वाधीनता आन्दोलनको संवाद अनि गीतमा सुन्दर सडक नृत्य प्रस्तुत गरेको थियो। समारोहमा उपस्थित अलिपुरद्वारका विशिष्ट समाजसेवी मृदुल गोस्वामी, खरसाङ विधायक बीपी बजगाई, युवा समाजसेवी विशाल गुरुङ र पासाङ लामाले ऐतिहासिक ठाउँमा ऐतिहासिक काम भएको र गोर्खा जातिको स्वाधीनता सेनानीको सालिक स्थापनाले सबै जाति, सम्प्रदायमाझ एकता र चिनारीको काम भएको जनाएका छन्।

कार्यक्रममा खरसाङका विधायक बीपी बजगाईले यो सालिक नभएर गोर्खा जातिको एउटा इतिहास आफूले देखेको र सालिक निर्माणले हाम्रो उपस्थितिको आभास देखाएको बताए। यसैगरी लङ्कापाडाका युवा समाजसेवी तथा अलिपुरद्वार जिल्ला परिषदका कर्माध्याक्ष विशाल गुरुङले ऐतिहासिक स्थल राजाभातखावामा गोर्खा स्वाधीनता सेनानी शहीद मेजर दुर्गा मल्लको सालिक अनावरण कार्यक्रममा सहभागी बन्न पाउँदा खुसी लागेको र यो कार्यक्रममा सबै जात धर्मका मानिसहरूको बराबर सहभागिता देख्दा मन प्रफुल्लित बनेको बताउँदै आगामी दिनमा अलिपुरद्वार सहरमा पनि शहीद मेजर दुर्गा मल्लको सालिक बसाल्ने तयारी चलिरहेको जानकारी गराए। कार्यक्रम आयोजक तथा सालिक दाता समाजसेवी पासाङ लामाले यो सालिकको स्थापना गर्न निस्वार्थ रुपमा काम गरेको र साम्प्रदायिक सद्भाव कायम गर्ने उद्देश्यले दल र राजनीतिबाट केही टाढा भएर शहीद मेजर दुर्गा मल्लको परिचय सबैले पाउन् भन्ने र हामी यही माटोको भूमिपुत्र भएको यसले प्रमाण दिने र आगामी दिनमा बक्साद्वारको काखमा अवस्थित सुन्तलाबारीमा पनि शहीद मेजर दुर्गा मल्लको सालिक स्थापना गर्ने योजना रहेको जनाएका छन्।

यता राजाभातखावाका विशिष्ट समाजसेवी दुर्गा चामलिङले सालिक निर्माण गर्ने समाजसेवी पासाङ लामाप्रति आभार व्यक्त गर्दै एकदमै राम्रो माहौलमा सालिक अनावरण भएको यसले गोर्खा समाजलाई सकारात्मक सन्देश सम्प्रेषण गर्ने जनाएका छन्।कार्यक्रममा जोश र जाँगरसहित आइपुगेका आगोस प्रमुख सघन मोक्तानले सालिक स्थापनाले गोर्खा जातिको गौरव बढाएको र गोर्खाहरुको देशप्रति बलिदानको साक्षी दिने काम गरेको भन्दै सरकारले हामीलाई हाम्रो विभुतिहरूको सालिक निर्माण गर्न केही कोष नदिए पनि चन्दा सङ्ग्रह गरेर पनि हाम्रो विभूतिहरुको सालिक लगाउन पछि नपर्ने बताए। प्रायः दिनभरी नै सम्पन्न सो समारोहको उद्घोषणा समाजसेवी रामकुमार लामा, राजु छेत्री र अभिनारायण शर्माले गरेको थियो।

याे पनि हेर्नुस्


AMAZON

FLITE Women

FLITE Flip Flop FL-430 For Women

Buy Now

Leave a comment