स्वाधीनता दिवसमा पनि ऐतिहासिक बक्साफोर्टको सरसफाई नगरेको आरोप

कालचिनीः १५ अगस्त स्वतन्त्रता दिवसमा डुवर्सको अलिपुरद्वार जिल्लाको कालचिनी खण्ड अन्तर्गत तथा बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेको ऐतिहासिक बक्साफोर्टमा मानिसहरू घुम्न जाने परम्परा बसेको छ। तर विगत केही वर्षयता वन विभागले लागु गरेको नियम र शर्तहरूको कारण बक्साद्वार वा बक्साफोर्टमा घुम्न जान असुविधा भएकोले बक्साद्वार खल्लो लाग्न थालेको मानिसहरू बताउँछन्। स्वाधीनता दिवसमा पनि राजाभातखावास्थित बक्सा ब्याघ्र प्रकल्पको चेकपोस्टबाट मानिसहरू प्रवेश गर्न नदिएको क्षोभ अनि आजादीको अमृत महोत्सवको रुपमा पालन भइरहेको ७८औँ स्वाधीनता दिवसमा पनि ऐतिहासिक किल्ला बक्साफोर्टको सरसफाई वन विभागले नगरेकोले स्थानीय समाजसेवी अनि बासिन्दाहरूले विक्षोभ व्यक्त गर्न थालेका छन्।

वर्षैपिच्छे बक्साफोर्ट मैदानमामा फूटबल सम्पन्न हुँदै आइरहे तापनि यसपाली भने गाउँको एकजना असल व्यक्तिको निधनले शोक पालन गर्नाले फूटबल खेला गर्न नसकिएको यद्यपि १५ अगस्तको दिन मानिसहरू बक्साफोर्ट घुम्न आउने चलन रहेकोबीच वन विभागले राजाभातखावास्थित बीटीआर चेकपोस्टबाट कसैलाई छिर्न नदिएकोले बक्साफोर्ट नै सुनसान बनेको स्थानीय बक्सा विकास अभियानका विकास थापाले दुख व्यक्त गरेका छन्।


अर्कोतिर वन विभागले हरेक कुरामा बाधा लगाएर दुर्गम बक्साद्वार पहाडको बासिन्दाहरूको पर्यटनबाट हुने आय र दोकानपाटले खाने बाटो नै बन्द गरिदिएको पनि बक्साद्वार बासिन्दाहरूले आरोप लगाएका छन्। बक्साद्वारको चर्चित लोक कलाकार तथा समाजसेवी इन्द्रशंकर थापाले १५ अगस्तको दिन आजादीको अमृत महोत्सवमा पनि वन विभागले यसकी गेटमा मान्छे छिर्न नदिएर बक्साद्वार बासिन्दाहरूको मन दुखाउने काम गरेको र कम-से-कम बक्साफोर्ट परिसरको जंगल सरसफाई पनि वन विभागले नगरि दिएकोले यस्तै अवस्थामा अलिपुरद्वार नेचर क्लब र रोभर्स एन्ड माउन्टेनियरिङ्ग क्लब औ स्थानीय स्कूले विद्यार्थीहरूले तिरंगा झण्डा उत्तोलन गर्न बाध्य भएको बताए। यता सुन्तलाबारी ग्राम सभाका सचिव अरुणकुमार राईले पनि बक्साफोर्ट एउटा ऐतिहासिक किल्ला रहेको र यसको जीर्णोद्धार गरिएता पनि यसको देखरेख वन विभागले लिएको सुन्नमा आएको तर यसरी स्वाधीनता दिवसको उपलक्ष्यमा पनि सरसफाई नगरि दिनु बडो दुखको कुरा भनि मन्तव्य पोखेका छन्। सुन्तलाबारीका समाजसेवी जेम्स भोटिया र सामुएल राईले स्वाधीनता दिवसमा राजाभातखावा गेटमा नै मानिस छिर्न नदिएपछि सुनंतलाबारी र बक्साद्वार पहाडको दोकान व्यावसाय नचलेकोले सबै बासिन्दाहरू दुखित बनेको र वन विभागले गरिरहेको मनमानी क्रियाकलाप विरुद्ध बक्सा पहाड र सुन्तलाबारीका मानिसहरू विक्षुब्ध बन्न थालेको जनाएका छन्।

Leave a comment