मालबजारः मालबजारको घडीमोडस्थित जाइलिस एकाडेमीमा आगामी २७, २८ र २९ दिसम्बर डुवर्स नेपाली साहित्य विकास समितिको स्वर्ण जयन्ती समारोहलाई सफल बनाउन एउटा सभा सम्पन्न भयो। अहिले डुवर्स नेपाली साहित्य विकास समितिले स्वर्ण जयन्ती समारोहलाई भव्य रूपमा पालन गर्नको निम्ति डुवर्सको विभिन्न स्थानमा त्यहाँका सङ्घ-सस्थाहरूसित बैठक गर्ने कार्य गरिरहेको छ। आज यसै सिलसिलामा मालबजारमा माल ब्लकभरिको सङ्घ-संस्थाहरूलाई लिएर सभा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता मालबजारका समाजसेवी एवम् भूतपूर्व सैनिक अजित पराजुलीले गरेका थिए भने।
कार्यक्रममा डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रबिन खवास, अध्यक्ष कृष्ण श्रेष्ठ, समितिका भूतपूर्व अध्यक्ष एवम् साहित्यकार गोपालसिंह विश्व, कथाकार गंगाप्रसाद प्रधान, कथाकार मदन खड्का, समाजसेवी जेवी छेत्री आदिको उपस्थिति रहेको छ। सभामा डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष अनि सचिव दुवैले समितिको स्वर्ण जयन्तीको कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोगको आशा राखेको भन्दै विशेष गरेर युवाहरूलाई अघि आइदिने आह्वान पनि गरे। सभामा मालबजारबाट राजेन प्रधान, अजय थापा, भिम राई, शङ्कर छेत्री, किरण प्रधान, गोपाल सोनार, प्रणय प्रधान, अतीत थापा, पत्थरझोड़ाबाट रूपेश विश्व, बाग्राकोटबाट गौतम विश्वकर्मा, सबिन छेत्री, गकुल थापा, नारायण विक्रम प्रधान, रबिन थापा, चाल्सबाट इन्द्र बस्नेत आदिको उपस्थिति रहेको थियो।
आजको सभामा मालबजार नेपाली समाज, नेपाली युवा संघ, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, साहित्य परिक्रमा बाग्राकोट, संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।