कालचिनीः एसएसबी ३४ वाहिनीको आयोजनामा शुक्रबार भारत भोटाङ सीमान्त क्षेत्रका ग्रामीण युवाहरूलाई खेलप्रति उत्साह प्रदान गर्न भलिबल खेल प्रतियोगिता सम्पन्न भयो। एसएसबी ३४ वाहिनीका कमान्डेन्ट मनोजकुमार चन्दको नेतृत्वमा नागरिक कल्याण कार्यक्रम अन्तर्गत भारत भोटाङ सीमान्त क्षेत्रमा पर्ने कालिखोला र न्यूल्यान्ड्स बीओपी क्षेत्रका स्थानीय क्लब/गाउँका भलिबल टोलीलाई आमन्त्रण गरी भलिबल प्रतियोगिता सम्पन्न भएको थियो। यस पहलको मुख्य उद्देश्य ग्रामीण युवा/नागरिकहरू बीच खेलकुद प्रतियोगिता जागृत गर्नु र उनीहरूलाई भारत सरकारको मूलधारमा जोडेर समृद्ध समाज र वातावरण सिर्जना गर्नु र युवाहरूलाई खेलकुदमा उनीहरूको भविष्यमा उच्च आयामहरूमा पुग्न मद्दत गर्नु रहेको बताइएको छ।
सो अवसरमा एसएसबी ३४ वाहिनीका अधिकारीहरू नायब कमाण्डेन्ट राजीव राणा, मनीष कुमार सहायक कमाण्डेन्ट, इन्स्पेक्टर इन्दुभूषण कुमार, कमाण्ड इन्चार्ज न्यूल्याण्ड लगायत स्थानीय समाजसेवीहरू दिलीप लामा, सहायक प्रबन्धक पी कानन, रेञ्ज अधिकारी राणा गुहा, पञ्चायत सदस्य भीमप्रसाद शर्मा आदिको उपस्थिति रहेको थियो। उक्त भलिबल प्रतियोगिता कालीखोला फरेस्टबस्तीको सार्वजनिक खेल मैदानमा सम्पन्न भएको थियो जसमा ८ वटा टीमहरूले अंशग्रहण गरेको थियो। उपकमान्डेन्ट राजीव राणाको बाहुलीबाट सेमीफाइनल एवम् फाइनल म्याच खेलेका ४ वटा टीमका प्रत्येक खेलाडीहरूलाई टी-शर्ट सेट, जूता र मोजा प्रदान गरेर प्रोत्साहित गरिएको थियो भने फाइनल खेलमा विजेता एवम् उप-विजेता टीमहरूलाई मेडल, ट्रफी र खेलकूद सामग्री प्रदान गरिएको थियो।