कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको डेपुटी कमाण्डेन्ट लालेन्द्र रत्नाकरको उपस्थितिमा अनि कमाण्डेन्ट विजय सिंहको निर्देशनमा नागरिक कल्याण कार्यक्रमअन्तर्गत ५३औँ बाहिनी सशस्त्र सीमा बलले भारत भोटाङ सीमान्त क्षेत्र जयगाउँ एक नम्बर अञ्चल अन्तर्गत तोर्षा चियाबारीमा भलिबल पोष्ट (पोल), नेट, रेफ्री स्ट्यान्ड र बल जडान गरी भलिबल खेल मैदान तयार गरी सोमबार यसको विधिवत उद्घाटन गऱ्यो। उद्घाटन समारोहमा स्थानीय क्लब/ग्रामीण भलिबल टोलीलाई आमन्त्रण गरी भलिबल खेलको पनि आयोजना गरिएको थियो। यससँगै ३० गाउँलेलाई स्वदेशी कुखुराको चल्ला पनि वितरण गरिएको थियो भने ३ सय वटा स्वदेशी चल्ला उपलब्ध गराई गाउँलेलाई रोजगारीका लागि प्रवर्द्धन गरिएको छ। नागरिक कल्याण कार्यक्रम अन्तर्गत तोर्षा चियाबारीको छेत्री लाइनमा सशस्त्र सीमा बलद्वारा नवनिर्मित भलिबल खेल मैदानको तयारी गरिएपछि स्थानीय जनप्रतिनिधि र गाउँलेहरूको उपस्थितिमा तोर्षा बासिन्दाहरूलाई हस्तान्तरण गरिएको एसएसबी सुत्रले जनाएको छ। यस पहलको मुख्य उद्देश्य भारत-भोटाङ सीमानाका गाउँले युवा/नागरिकहरूबीच खेलकुद प्रतियोगिता जागृत गर्नु र उनीहरूलाई मूलधारमा जोडेर समृद्ध समाज र वातावरण निर्माण गर्नु र युवाहरूलाई भविष्यमा उच्च आयाममा पुग्न मद्दत गर्नु रहेको एसएसबी सुत्रले जनाएका छन्।
यस अवसरमा एसएसबी ५३ बाहिनीका अधिकारी हर्षित रत्न, सहायक कमाण्डेन्ट कमाण्ड इन्चार्ज जयगाउँलगायत स्थानीय जनप्रतिनिधि तथा अन्य स्थानीय गणमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सीमा क्षेत्रका युवाहरूलाई खेलकुदमा आफ्नो पहिचान स्थापित गर्ने अवसर प्रदान गर्नुका साथै समाजमा लागुऔषध दुर्व्यसनबाट टाढा रहेर स्वस्थ्य जीवन जिउन युवाहरूलाई प्रेरित गर्न रहेको एसएसबी सुत्रले थप जनाएका छन्। भारत–भोटाङ सीमा क्षेत्रको बीओपी खोक्ला र सुन्तलाबारीमा यस प्रकारको खेलकुद प्रतियोगिता आयोजना गर्ने योजना तयार गरिएको पनि एसएसबी सुत्रले जनाएको छ। ज्ञात रहोस् खेलकुदसँगै वाहिनीले सीमावर्ती क्षेत्रका युवा–युवतीलाई रोजगारीमा सहयोग पुऱ्याउनका लागि नागरिक कल्याण कार्यक्रमअन्तर्गत सीप विकास तालिम पनि निरन्तर सञ्चालन गर्दै आएको छ।