भूमिका
डा. कविता लामा
नेपाली आख्यानमा सूत्र लेखनको आरम्भ गर्ने पहिलो लेखक हुन् ध्रुवचन्द्र गौतम । मिर्मिरे (सन् १९८४) पत्रिकाको एउटा अङ्कमा यिनको सूत्र कथा प्रथमपल्ट प्रकाशमा आएको पाइन्छ। एक दशकभन्दा धेर समय लिएर यिनी पुनः देखापरे पहिलो सूत्र उपन्यास फूलको आतङ्क (सन् १९९८) सित। एक अन्तर्वार्तामा रोशन ‘नीरव’ द्वारा सूत्र उपन्यासको नामकरणबारे सोधिएको प्रश्नको जवाबमा यिनी भन्छन्- ‘यसको नाउँ वा अवधारणा त मैले सूत्र- कथा लेख्दा नै दिएको हुँ। सूत्र उपन्यास लेख्न सकिने यस्तो सम्भावना छ भनेर लेखेकै हुँ र त्यो सम्भावना कलमले खोज्नुपर्थ्यो कहिले, अनि त्यो निस्कन्छ। त्यसपछि सूत्र कथा लेखिसकेपछि त्यही सूत्रबाट यो नाउँ अर्थात् सूत्र उपन्यास आउनु स्वाभाविक थियो ।’
(समकालीन साहित्य, ३६, पृ. ६७)
यस उपन्यासलाई गोविन्दराज भट्टराई ‘अत्यन्तै अपरम्परित आविष्कार’ ठान्छन् । (उत्तरआधुनिक पृष्ठभूमि र ‘फूलको आतङ्क’, फूलको आतङ्क, २०५५, पृ. ६२) यसको नयाँ प्रयोगबारे मोहनराज शर्मा-तासका चक्की झैँ फिटेर पढ्न मिल्ने सूत्र उपन्यास बताउँछन् । (समकालीन साहित्य, वर्ष १३, अङ्क १, पूर्णाङ्क ४७, पृ. ८२)
नेपाली उपन्यास लेखन परम्परामा सूत्र उपन्यासको प्रकाशनलाई एक सफल प्रयोग मानिन्छ। प्रयोगवादी लेखकको रूपमा ध्रुवचन्द्र गौतम स्वयम् आफ्नो अघिल्लो रेकर्डलाई तोड्दै आएका छन्। नयाँ प्रयोगको क्षेत्रमा एक कीर्तिमान कायम गरेका यिनको सूत्र उपन्यास फूलको आतङ्क – बाट प्रेरित र प्रभावित भएका एक प्रतिभाशाली कथाकार प्रदीप गुरूङ यसै लेखन प्रवृत्तिलाई आत्मसात् गर्दै देखा पर्छन्- पोस्टर र लात सूत्र उपन्यास लिएर।
‘सूत्र उपन्यास’ भन्नसाथ प्रथमतः फूलको आतङ्क -को सम्झना भइहाल्छ। प्रदीप गुरूङलिखित पोस्टर र लात फेरि अर्को यो सूत्र उपन्यासभित्र के त्यस्तो नयाँ छ? भन्ने जिज्ञासा पाठकको मनमा उठ्नु अति स्वाभाविक देखिन्छ। केही दृष्टिले यो उपन्यास गौतमको उपन्यासबाट सोझै प्रभावित भएको छ। पहिलो ‘सूत्र उपन्यास’ नै भनेर आफ्नो कृतिलाई गुरूङले भारतीय नेपाली साहित्यमा चिनाएका छन्। कारण यस कृतिभन्दा अघि यहाँबाट सूत्र उपन्यास लेख्ने पहल अन्य उपन्यास लेखकबाट भएको छैन। तसर्थ पोस्टर र लात भारतबाट लेखिएको पहिलो सूत्र उपन्यास हो। दोस्रो, केही विषयहरू जस्तै- भोक, सपना, पानी, प्रेमी-प्रेमिकाका प्रसङ्गहरू गुरूङका सूत्र उपन्यासमा पनि घरिघरि प्रयोगमा आएको पाइन्छ। यद्यपि यी विषयहरूले गौतमकोभन्दा बेग्लै अर्थ लिएका छन् ।
तेस्रो, फूलको आतङ्कभित्र समाविष्ट विभिन्न सूत्रहरूमा एउटै प्रमुख पात्र ‘उ’ देखिन्छ । अन्य पात्रहरू प्रसङ्गवश आएका छन्। गुरूङबाट पनि ‘उ’ पात्रद्वारा सूत्रहरू बुनिएका छन् ।
यी अतिरिक्त प्रदीप गुरूङ उपन्यासको शीर्षक, अन्य भावपक्ष र शिल्पपक्ष आदिमा गौतमभन्दा भिन्नै देखिने प्रयास गर्छन् । र यस कृतिलाई नितान्त आफ्नो सामाजिक बुनोट र परिवेशअनुरूप सिर्जना गर्नमा सफल भएका छन् ।
आजका पाठक साहित्य अध्ययनसम्बन्धी धेरै सचेत छन्। नवीन प्रयोग, नवीन अवधारणा, नयाँ सोच, नयाँ तकनिकीप्रति धेर आकर्षित अनि जिज्ञासु देखिन्छन् । ध्रुवचन्द्र गौतमको फूलको आतङ्क नपढ्ने हामीसित पाठक विरलै होलान् र सूत्र उपन्यासबारे यथेष्ट जानकारी हासिल गरिसकेका होलान्। यिनीहरूको निम्ति सूत्र उपन्यासबारे जानकारी दिन यहाँ अनावश्यक भए तापनि विशेषतः नयाँ पाठकहरू जसकहाँ फूलको आतङ्क आजसम्म उपलब्ध हुन सकेको छैन र सूत्र उपन्यास नितान्त नयाँ अवधारणा भएर रहेको छ, यसबारे यहाँ संक्षिप्त रूपमा जानकारी गराउन उल्लेखयोग्य ठहर्दछ ।
- १. सूत्र उपन्यासको कुनै नियम हुँदैन। यसले आफ्नो नियम आफै बनाउन सक्छ।
- २. सूत्र उपन्यास अनौपचारिक ढङ्गले लेख्न सकिन्छ ।
- ३. दुईवटाभन्दा धेर सूत्र वा कथाहरू लिएर सूत्र उपन्यास लेखिएको हुन्छ ।
- ४. एक एकवटा सूत्र एक अकदिखि छुट्टै र स्वतन्त्र अनि आफैमा अर्थपूर्ण हुन्छ।
- ५. प्रचलित उपन्यासको पठन परम्परालाई यसले पछ्याउँदैन। आदि, मध्य, अन्तका कुनै पनि सूत्रबाट सूत्र उपन्यास पढ्न सकिन्छ।
- ६. सम्पूर्ण औपन्यासिक तत्त्वहरूको प्रयोग हुनैपर्छ भन्ने छैन।
- ७. बिना पात्रको सूत्रद्वारा पनि सूत्र उपन्यास लेख्न सकिन्छ।
- ८. संरचनामा छोटो कथा जस्तो देखिए पनि यसलाई लघुकथा भन्न मिल्दैन बरू सूत्रकथा भन्न सकिन्छ।
- ९. एक एकवटा सूत्रले बेग्लाबेग्लै अर्थ दिएको हुन्छ तर सूत्र उपन्यासमा यी विखण्डित सूत्रहरूबाट होइन, ती सूत्रहरूको समग्र योगबाट अर्थ ग्रहण गर्नपर्ने हुन्छ।
यी उल्लिखित केही प्रमुख बुँदाहरूलाई आधार गरी पोस्टर र लात सूत्र उपन्यास लेखिएको छ।
अबको उत्तरआधुनिक साहित्य लेखनले परम्परालाई मान्दैन। यही परम्परादेखि हटेर प्रदीप गुरूडले उत्तर आधुनिक विचारको समर्थन गर्दै आजका मान्छेको जीवन-अनुभवलाई अत्यन्त सार अनि दुस्साहस रूपमा यस उपन्यासमार्फत चित्रण गर्ने प्रयास गरेका छन् ।
१३९ वटा सूत्रहरूको सङ्गालो पोस्टर र लात सूत्र उपन्यासमा अन्तर्भुक्त गरिएका एक एकवटा सूत्रले समसामयिक विषयलाई प्रस्तुत गरेको छ। समग्रमा उपन्यासको नामकरणमा नै समसामयिकता झल्कन्छ ।
फ्रान्सेली इतिहासकार म्याक्स ग्यालो ‘पोस्टर’ सम्बन्धी आफ्नो विचार पोख्छन्- ‘गत दुईसय वर्षदेखि संसारमा पोस्टरलाई सार्वजनिक स्थलमा प्रदर्शन गरिँदै आइरहेको छ। दृश्यात्मक भएकोले यसले छेउबाट हिँडिरहेको मानिसको ध्यान आकर्षित गर्छ, हामीलाई राजनैतिक स्थितिबारे सचेत तुल्याउँछ, विशेष कार्यक्रमहरूमा उपस्थित हुन उत्साहित गर्छ वा कुनै विशेष वस्तुहरू किन्न प्रेरित गर्छ।’ (ग्यालो, म्याक्स (२००२); द पोस्टरस् इन हिस्ट्री, डब्लु.डब्लु. नोरटन)
यस दृष्टिले हेर्दा यस सूत्र उपन्यासको शीर्षकले निश्चित रूपमा पाठकको ध्यान आकर्षित गर्दछ। अनि लेखक गुरूङले यो शीर्षक राख्नु ठूलो उद्देश्य रहेको छ। कारण अहिलेको तकनिकी र जन सञ्चारको युगमा ‘पोस्टर’ – ले वृहत् रूपमा जनक्रान्ति ल्याएको छ। जनतासित प्रत्यक्षतः सम्प्रेषण गर्ने एक प्रभावकारी माध्यम नै ‘पोस्टर’ हो। यसलाई परिवर्तनको आह्वान गरिने पद्धतिमध्ये एउटा मानिन्छ। दुई स्तरमा यसले परिवर्तन ल्याएको हुन्छ-
- १) व्यक्तिगत स्तर
- २) सामाजिक स्तर।
‘पोस्टर‘– को उपयोगिता धेरै छन्- तीमध्ये प्रमुखः
- क) सन्देश प्रसार
- ख) महान् कार्यलाई सहयोग
- ग) आफ्नो समुदायमा विशेष मुद्दाबारे सजगता
- घ) आफू वरिपरि के भइरहेछ त्यसप्रति सचेतता प्रदान गर्नु आदि।
उपन्यासको शीर्षक ‘पोस्टर र लात‘ मा लेखिएको ‘पोस्टर’ ले जनक्रान्ति ल्याउनका साथै जनतालाई हरेक वस्तुस्थितिप्रति सचेत बनाउने अर्थ लिएको छ।
यस उपन्यासभित्रका एक एकवटा सूत्रले विशेष क्षेत्र पहाडी अञ्चल र तराईका सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक विषयहरूलाई लिनका साथै एउटा सिङ्गो जात गोष्ठी र एउटा सिङ्गो राष्ट्रको वर्तमान स्थितिबारे साँचो चित्रण गरेको छ। साहित्य, दर्शन एवम् अध्यात्म जस्ता विधासम्बन्धित लेखिएका केही सूत्रहरू- ‘ईश्वरको खोजी’, ‘प्रवचन’, ‘प्रतियोगिता’, ‘भाषा’, ‘अन्तबाट शुरू’, ‘अरूची’, ‘फेरि भोक’ आदिले यस उपन्यासलाई उत्तर आधुनिक लेखनको विशेषताअन्तर्गत उभ्याएको छ।
समाजमा र राष्ट्रमा व्याप्त विकृति, विसङ्गति, नैराश्य, राजनैतिक अस्थिरता, आडम्बर, कृत्रिमता, विश्वासघात, मानवीय मूल्यको ह्रास, नकारात्मक सोच, ध्वंशकारी प्रवृत्ति सबै सबै आयामलाई यस उपन्यासमा विभिन्न सूत्र शीर्षकमार्फत् पाठकसमक्ष ल्याउने चित्रित पात्र छ ‘उ’। उपन्यासकारले कथाको मागअनुरूप अनेकौं थरिका पात्रहरूको चरित्रलाई ल्याउन सक्छन्।
कथात्मक संरचनालाई यी पात्रहरूले विभिन्न भूमिकाद्वारा अघि बढ़ाएर लान्छन् । तर पोस्टर र लात उपन्यासका विभिन्न सूत्रहरूमा ‘उ’ सार्वनामिक पात्र एउटै व्यक्ति हो जस्तो लाग्छ तर त्यस्तै अर्को ‘उ’ को उपस्थिति ‘प्रेमको परिभाषा’, ‘वेश्याको विकृति’, ‘माफिया’, ‘प्रतियोगिता’ जस्ता सूत्र आदिले बोध गराउँछ। स्पष्ट छ एउटा ‘उ’ अस्थायी कर्मचारी, भुक्तभोगी, पीड़ित, क्षेत्रीय राजनीतिमा परोक्ष-प्रत्यक्ष सहभागी, शोषित, आरम्भिक सूत्र १. ‘पोस्टर’ बाट प्रवेश पाएको ‘उ’ अन्तिम सूत्र ‘पोस्टर र लात’ सम्म विभिन्न र धेरजसो सूत्रकथा जस्तै- ‘र’, ‘लात’, ‘बुँख्याचाहरूको ताली’, ‘सिन्थेटिक खेती’, ‘अफिसको बाबु’ आदिमा आइपुग्दा आञ्चलिक पात्र भएर देखापर्छ जो आफ्नो विशिष्ट परिस्थिति, समस्या तथा सन्दर्भसित गाँसिएर बसेको छ। अर्को ‘उ’ पात्र कहिले कविता, कहिले कथाबारे चर्चा गर्दै आफूसम्बन्धित अञ्चल विशेषदेखि बाहिरिएर देशमा विभिन्न समयकालमा घटित घटनाको जानकारी गराउँदै एक सार्वभौम पात्रको रूपमा चित्रित छ। यी ‘उ’-हरूले दुई काल भूत र वर्तमान हिँडेर तय गरेको यात्राले मुखुण्डधारी समाज र युगीन यथार्थको उद्घाटन गर्ने मूल उद्देश्य राखेको छ। यस उपन्यासमा परम्परागत रूपमा पात्र प्रयोग भएको छैन। केही सूत्र, पात्रको अनुपस्थितिमा पनि लेखिएको छ।
‘पोस्टर र लात‘– भित्रका प्रायः सूत्रहरूले राजनीतिको नाममा जाति, समाज, देशलाई विध्वंश गर्ने नेताहरूलाई मुख्य लक्ष्य बनाएको छ। केही सूत्र कथाहरू सोड़ौ क्षेत्रीय गजनीतिसित सम्बन्ध स्थापित गर्दै जातीय अस्तित्वको मागमा नारा लगाउँछ-
आन्दोलन के को निम्ति ?
स्व-अस्तित्व र जातीय अस्मिताका लागि।
जुलूस के हो?
आन्दोलनको प्रबल पक्ष
आन्दोलनको चरम बिन्दु के हो?
सम्झौता।
सम्झौताको प्रतिफल चाहिँ के हो?
आर्थिक सहुलियत र प्रशासनिक सुविधा।
सुविधाको अंशदार को हो? नेता कि जनता?
यसको उत्तर चाहिँ उसँग छैन।
(‘जुलूसको मौसम’)
दार्जीलिङ पहाड र तराई अञ्चलमा माटोको आन्दोलन अद्योपान्त चलिरहेछ। यस जल्दोबल्दो विषयलाई सूत्र उपन्यासकार गुरूङ विभिन्न दृष्टिले, भिन्नाभिन्नै कोणबाट, विगत र वर्तमानमा उभिएर, यससम्बन्धित अनेकौं पक्षहरूलाई आफ्ना सूत्र कथाहरूमा साँचो र सहि चित्रण गर्ने साहस देखाउँछन् । राष्ट्र, समाज र जातिलाई आफू एक आम नागरिकको हैसियतमा सहि मार्गनिर्देशन दिनु र एकजना लेखक भएर समाजको सहि चित्रण गर्दै ठीक प्रतिनिधित्व गर्नु नै यिनको यो एक उत्तर आधुनिक सोचाइ हो। यसै सदर्भमा समालोचक ऋषिराज बरालको भनाइ उल्लेखनीय मानिन्छ- ‘आज पनि उपन्यास – कलामार्फत् समाज र सामाजिक चिन्तनलाई बुझ्ने एउटा सबल माध्यम हुनाका साथै यो नवीन साहित्यिक सिद्धान्तहरूको प्रयोगभूमि पनि बनेको छ।’ (‘उपन्यास लेखनका समकालीन प्रवृत्तिहरू र तेस्रो विश्वका उपन्यासहरू’, गरिमा, वर्ष १५, अङ्क ७, पूर्णाङ्क १७५, असार २०५४, पृ २९)
सूत्र लेखन जस्तो नयाँ प्रविधिलाई उपन्यासमा प्रयोग गर्दै प्रदीप गुरूङ समाज र सामाजिक चिन्तनमा मात्र डुब्दैनन् तर यिनी यहाँको राजनीति अस्थिरताप्रति पनि उत्तिकै गहिरो चिन्तामा छन् भन्ने कुरा हाम्रा नेताहरूप्रति यिनको सोझै आक्षेप र हस्तक्षेपले प्रमाणित गर्दछ। सूत्रकथा ‘बुख्याचाहरूको ताली’ मा भन्छ-
विकास कहाँ भएको छैन र यो पहाड़मा?
दुई खुट्टे बाघले लामो सेतो ज्याकेटको छात्ती खोलेर भाले टाई देखाउँदै भन्यो।
बुख्याचाहरूले ताली बजाए।
उसले पनि बुँख्याचा ताली बजायो।
‘हेर्दै जानोस्, यहाँ सुँगुरले पनि नुनिया चामलको भात खान्छ ।
तपाईहरूको बिल्डिङको छप्परमा स्वीमिङपुल बनिनेछ ।’
ताली, बुख्याचा ताली।”
माथिको सूत्रांशले पाठकलाई पहाडको राजनीतिको विगत दृश्य आँखाअघि ल्याइदिन्छ । आज पनि गोर्खा जातिको अस्तित्व सङ्कटमा किन छ? भन्ने प्रश्नको जवाब हुन्छ हामीसित जाति बेचिखाने नेताको जनताद्वारा अचाहिँदो जयजयकार भएर हो। हामी विवेकहीन जनतालाई यस सूत्रकथामा ‘बुँख्याचा’ भनेर सम्बोधन गरिनु यहाँ नेता बिगार्ने अरू कोही होइन जनता हो, भन्ने बुझ्नुपर्छ।
प्रदीप गुरूडले यस उपन्यासभित्र यस्ता धेरै सूत्रहरू बुनेका छन् जसमा हाम्रो जातीय अस्मिताको लडाईको प्रसङ्ग आएको छ। माटोको आन्दोलनलाई ‘पोस्टर’ बनाएर, रमिता बनाएर गोर्खा जातिलाई अन्धकारमय भविष्यतर्फ धकेल्ने विश्वासघाती र जातीय मुद्दालाई बेचिखाने नेताको साँचो चरित्रको मूल्याङ्कनमा भनिएको छ-
‘कोही पुरानो घर भत्काएर महल बनाउँदै थिए।
कोही नयाँ मोडेलको गाडी फेर्दै थिए।
कोही ब्याङ्क एकाउन्स जोड्दै थिए।
कोही स्वास्नी फेर्दै थिए।
कोही विदेश भ्रमणका लागि भिसा निकाल्दै थिए।
यसर्थ उसको हातको सूचीमा एउटै नाम पनि चढ़ेको थिएन ।’
‘शहादतको मूल्याङ्कन’ शीर्षक यस सूत्रले विगतका नेतालाई मात्र इङ्गित नगरेर वर्तमानमा पनि हाम्रो जातिसित यस्तो प्रवृत्ति भएका नेताहरू छन् र जनता तिमी समयमा सचेत हुनुपर्छ भनी आह्वान गरेको छ। ‘फलानोको सालिग’, ‘जुम्राको खेती’, घृणा’, ‘नकारात्मक मूल्याङ्कन’ आदि सूत्रले क्षेत्रिय नेताको चरित्रलाई विशेष व्यङ्गयद्वारा प्रस्तुत गरेको पाइन्छ भने देश चलाउने नेताहरूको वास्तविक रूप उदाङ्गो भएको सूत्र छ- ‘मिन्थेटिक खेती।’
यस उपन्यासको सर्वाधिक रोचक पक्ष नै हाम्रा नेताहरूको स्वार्थपन, परिवर्तित चारित्र, छल कपटपूर्ण घोषणा, राजनीति अस्थिरताले निम्ताएको हरेक क्षेत्रमा अस्तव्यस्तता, अस्थायी कर्मचारीको अनिश्चित भविष्य, जातीय अस्तित्वको लँडाइको नाममा जुलूस, आमरण अनशन जस्ता प्रजातान्त्रिक हतियारसित असंवेदनशील बर्ताव, माटोको आन्दोलन र जनताको प्रतिबद्धता अनि इमान्दारितासित खेलाची गरेवापत् कटाक्ष आक्षेप तथा उदाङ्गो चित्रण हुनु हो। उदाहरणार्थ- ‘बाघ’, ‘छद्मभेषी’, ‘देशको लुतो’, ‘मधेशको हो कि पहाडको?’, ‘दृष्टान्त’, ‘पोस्टर’, ‘अनशनकारी जिन्दाबाद’, ‘अनशन’ अनि ‘दाउपेचमा अनुहारहरू’ इत्यादि।
उत्तर आधुनिकतावादी ‘सत्य’ को अस्तित्व मान्दैनन्, ‘सत्य’ लाई भ्रम ठान्छन् । आज ठानेको ‘सत्य’ भोलि गएर भूल हुनसक्छ। यसै अवधारणालाई लिएर लेखिएको सूत्रकथा ‘बाघ’ मा ‘कागजको मेला’ अर्थात् बासभूमिको मागमा ‘दार्जीलिङ गोर्खा पार्वत्य परिषद्’ गोर्खा जातिको निम्ति ‘कागज’ सरह जलेर जाने भ्रम भएको बोध हुँदछ । क्रान्तिको आह्वानस्वरूप सिर्जित यस सूत्रमा बाघको आगमनले जनताको चेतना हराएको छ।
यही विषय पुनः अर्को सूत्र ‘विस्थापन’ सित जोडिएर आउँदा त्यहाँ चित्रित बुढो बाघले हाम्रो नेताको प्रतिनिधित्वलाई स्पष्ट स्वरूप प्रदान गर्छ। ‘यो डमरू एक दिन बाघ हुनेछ।’ यो भनाइ आजसम्म सत्य भएको छैन, वास्तवमा संसारमा ‘सत्य’ केही छैन, हामी जनता सब वर्षोंदेखि भ्रम बाँचिरहेका छौं। ‘असन्तुलन’ मा नेता स्वयंको भनाइ- जीवन स्वयम् एक ‘भ्रम हो’ ले उक्त कथनलाई अझ पुष्टि गर्नमा सघाउ पुऱ्याउँछ । उपन्यास धेरै प्रकारका छन्- रहस्यमय, ऐतिहासिक, सामाजिक, पौराणिक, प्रेमपरक, स्वैरकल्पनात्मक, विज्ञानपरक, वियोगात्मक, भयानक आदि। यीमध्ये व्यङ्ग्यात्मक एक हो।
प्रदीप गुरुङलिखित ‘पोस्टर र लात‘ सूत्र उपन्यासलाई सामाजिक-राजनैतिक व्यङ्ग्यात्मक अन्तर्गत राखेर हेर्नसकिन्छ। व्यङ्ग्य प्रयोग उत्तरआधुनिक लेखनको एक मुख्य विशेषता हो। यानि राखेर हेर्न सकिन्छ। व्यङ्ग्यका विभिन्न भेदमध्ये यस उपन्यासमा लेखकले ‘सटायर’ (निन्दापरक) को प्रयोग गर्दै विशेष यहाँको राजनैतिक र सामाजिक क्षेत्रमा एक सकारात्मक सन्देश दिन चाहेका छन्। ‘पति संस्करण’, ‘हजुर आमाको फरिया’, ‘लात’, ‘अनशनकारी जिन्दाबाद’, ‘कर्णेलको घोडा र वीर्य कुण्ड’, ‘आकाश थुक्ने मान्छे’ आदि जस्ता केही सूत्रहरूमा श्याम व्यङ्ग्यको प्रयोग अति सुन्दर ढङ्गमा भएको छ। ‘अक्षरको खेती र अन्धाको देश’ – सूत्रले अति सान्दर्भिक व्यङ्ग्यलाई प्रयोगमा ल्याएको छ। यसरी गम्भीर विषयलाई व्यङ्ग्यात्मक रूपले प्रस्तुत गर्नसक्नु उत्तर आधुनिक साहित्यमा महत्त्वपूर्ण मानिन्छ। जोन बार्थ, जोसेफ हेलर, विलियम गाडिस, कोट वोनगट, बुश जे फ्रायडम्यान आदिलाई उत्तर आधुनिक साहित्यमा व्यङ्ग्य उपन्यासकारको रूपमा चिनिन्छ। अघिबाटै नेपाली साहित्यमा उपन्यासकार ध्रुवचन्द्र गौतमलाई श्याम व्यङ्ग्य लेखकको मान्यता प्राप्त भइसकेपश्चात् अब ‘पोस्टर र लात‘ कृतिले प्रदीप गुरूडलाई पनि एक साहसिक व्यङ्ग्यकारको रूपमा चिनाउने छ।
जातीय चिन्हारी, नेता, सपना, भोक, भुक्तभोगी जनता। (अस्थायी कर्मचारी, यहाँको वर्तमान समस्या) आदि ‘पोस्टर र लात‘ सूत्र उपन्यासका प्रमुख समसामयिक सूत्र- विषयहरूमध्ये ‘सपना’ अति महत् र गनन विषय भएर देखापर्छ। गौतमकृत ‘फूलको आतङ्क‘ मा प्रस्तुत ‘सपना’ बारे शैलेन्द्र साकार लेख्छन्- ‘सपनाबाट कृति आरम्भ हुन्छ र धेरैपल्ट सपनाका प्रसङ्गहरू आइरहन्छन् । सपनाहरूले ‘उसका’ आकांक्षाहरूलाई प्रतिबिम्बित गर्छन्। उसका आकांक्षाहरू भनेको एउटा निम्न मध्यवर्गीय नागरिकको आकांक्षा हो। देशको आकांक्षा।’ (विपर्यासबाट व्याख्यायित आधुनिक चेत, पृ १५) । सपनाको एक अध्ययनअनुसार मान्छेको स्वस्थको निम्ति ‘सपना’ देख्नु राम्रो हो। सपनाले तनाउपूर्ण जीवनदेखि मुक्त पार्छ अनि मानसिक र शारीरिक स्फुर्ति दिन्छ। तसर्थ मान्छेले सपना देख्नु महत्त्वपूर्ण मानिन्छ ।
फर्केर आऊ पोस्टर र लातभित्र विभिन्न सूत्रहरूमा जहाँको प्रमुख ‘उ’ पात्र आफ्नो व्यावहारिक जीवनदेखि विरक्तिएको छ, आर्थिक अभाव र अपुगहरूले पिल्सिएको ‘उ’ बारम्बार सपना सदनमा पुग्छ। सपनामा उ बुद्ध भगवान देख्छ, आफ्नो मृत्यु भएको देख्छ, हिमाल रोएको देख्छ, भूतपूर्व प्रेमिकासित आनन्दपूर्ण क्षण बिताउँछ, कर्णेलको घोडा हिनहिनाउँदै गरेको सुन्छ, दिनमा पनि सपना देख्छ, आफ्ना अधुरो इच्छाहरू पूरा भएको हुन्छ।
सपनामा मृत्यु विभिन्न स्वरूपमा देखिन्छ। ‘उ’ पात्र स्वयम् आफ्नो मृत्यु सपनामा देख्नुको अर्थ हुन्छ उ आफ्नो सम्पूर्ण समस्याहरूदेखि मुक्त हुनु। सपनासित धेरै अन्धविश्वासहरू जोडिएका छन्- सपनामा ‘उ’ पात्र साहित्यकार, कविसित बात मार्छ, यसले के बताउँछ भने केही सुसमाचार सुन्न पाउने छ। आमासित धेर संवेदनशील भएकोले ‘उ’ आमाको मृत्युलाई पनि आफ्नो मृत्युसित पाउँछ। सपनामा आफ्नो मृत्यु भएको देख्नुलाई एक मनोवैज्ञानिक समस्यासित पनि दाँजेर हेर्न सकिन्छ। सपनामा उ जति नै खुसि रहे पनि विपनामा उसित एक कठिन जीवनले सधैं गिज्याइरहेको हुन्छ। कमाइ-क्रम’, ‘आतङ्क’, ‘शान्तिको खोजीमा बुद्ध’, ‘उल्टो मुद्दा’ आदि सूत्रहरूको सपनाले वास्तविक जीवनको तिक्ततालाई खुबै साँचो स्वाद दिने प्रयास गरेको छ। यद्यपि गुरूङको सपनाप्रति अटुट विश्वास र भरोसा रहेको बोध ‘उ’ पात्र बारम्बार सपनासदनमा पुग्नुबाट हुन्छ।
पोस्टर र लात उपन्यासको अर्को प्रमुख विषय छ ‘भोक’। संसारमा पाँच अरब मान्छेमा १ अरब मान्छे गरीवीको कारणले भोकले छट्पटाएर मर्छन् । ‘भोक’ शारीरिक हुन्छ जसले भोक लाग्नुको अर्थमा खानेकुराको चाहना गर्छ। अर्को भोक हुन्छ मान्छेको इच्छाको। ‘भोक’ हाम्रो समाजमा मात्र होइन यो संसारको एक रोग बनिसकेको छ। त्यही भोक, रोग र नग्नता हाम्रो समाजमा पनि छ। ‘भोकको कथा’, ‘सस्तो’, ‘भोक विद्रोह’ आदि सूत्रहरूमा भोक प्रतीकात्मक रूपमा प्रयुक्त भएको छ। साहित्यमा ‘भोक’ एक प्रतीक हो। यहाँ चित्रित ‘उ’ पात्रको शारीरिक भोक एक प्राथमिक आवश्यकता हो व्सबाहेक ‘उ’ भित्र अस्थायी नोकरीको स्थायित्व हुने भोक दीर्घदिनदेखि रहिआएको छ। उसको अर्को भोक छ जीवनमा उसले गरेको सङ्घर्षमा समाज सधैं उप्रति सहयोगी वनिदियोस्।
समाजको ध्यान उप्रति पनि रहोस् यही उसको चाहना छ। विस्तृत अर्थमा उसको भोक छ। वर्तमान समाजको विसङ्गति र अव्यवस्थित परिवेशलाई सहि नेतृत्वले अधि लिएर जोओस्। यो समाजको भोक ठिक नेतृत्व दिनसक्ने व्यक्तिप्रति छ, हामी प्रचेकले चुनौतीलाई सहजै लिनसक्ने नेतृत्वको चाहना राखेका छौं, यो हाम्रो भोक हो। पोष्टर र लात उपन्यासमा चित्रित भोक शारीरिक भोक होइन। ‘भोग र भोक’ सूत्रको अनमा भोक विद्रोह भएर खड़ा भएको पाइन्छ। फ्रान्ज काफ्काको ‘अ हङ्गर आर्टिस्ट’ मा (भोको कलाकार) एक कलाकारले दर्शकको भोकको चाहना राखेको हुन्छ। दर्शकद्वारा मात्र त्यस कलाकारको आत्मिक भोक मेट्न सकिन्छ।
प्रदीप गुरूङको मूल उद्देश्य पनि यही छ कि अब हाम्रो भोक मुक्तिको निम्ति हुनुपर्छ । तसर्थ यस कृतिलाई एक मुक्तिवाहकको रूपमा पनि हेर्न सकिन्छ।
प्रचलित उपन्यास लेखनको नियमलाई भत्काएर प्रदीप गुरूङ अनेकों प्रतीक र विम्बको प्रयोग गर्दै यहाँ सिर्जित सूत्रहरू कोही पूर्णतः कवितात्मक ‘जुलूसको मौसम’, ‘पहाडकी रानी’, ‘अनशनकारी जिन्दाबाद’, ‘मानचित्रको खोजी’, ‘अधिकारको खोजी’, ‘खोजी’ तथा ‘अनशन’ आदि कोही नाट्य शैलीमा ‘प्रवचन’, ‘फूलको अस्तित्त्व’, ‘पहाडकी रानी’ आदि, प्रश्नोत्तर शैलीमा ‘ईश्वरको रोदन’, ‘मातृत्त्वको सम्झना’, ‘जुम्राको खेती’, ‘अन्तबाट शुरू’ आदि, संवादपूर्ण शैलीमा ‘नकरात्मक मूल्याङ्कन’, ‘शहादतको मूल्याङ्कन’ आदि, सूचनापरक शैलीमा ‘भेजाल बस्ती’- सबै साहित्यिक विधालाई एउटै कृतिमा समेटेर यो उत्कृष्ट उपन्यासलाई पुनः सूत्रात्मक शैलीमा प्रस्तुत गरेर यिनी एक युग सचेत उत्तर आधुनिक लेखकका रूपमा उभिन सक्षम भएका छन् ।
दुई वाक्यमा बद्ध सबैभन्दा छोटो सूत्र ‘असमर्थता’ स्वयंमा एक स्वतन्त्र र अर्थपूर्ण संरचना देखिन्छ भने लामो आयाममा लिखित ‘बाघ’ अनि ‘पोस्टर र लात’ सूत्रकथालाई मान्न सकिन्छ।
उत्तर आधुनिक विचारधाराका लेखक प्रदीप गुरूङले भाषाव्याकरण सम्बन्धी सूत्रहरूको प्रस्तुतिकरणले (‘र’, ‘खण्डहर’) यस उपन्यासलाई समसामयिक कृति प्रमाणित गरेर यसको उँचाइलाई माथि पुयाएका छन् । पारिजात, वैरागी काइँला, ध्रुवचन्द्र गौतम, ईश्वर वल्लभ, कार्ल माक्स, कवि गिरी, कवि भूपि तथा नित्सेको बारम्बार उल्लेखले यी सूत्रहरूभित्र लेखक स्वयंको उपस्थिति तथा सहभागिता पाठकले बोध गरिरहेका हुन्छन्।
अनिश्चितता, व्यक्ति अस्तित्वको सङ्कट, जातीय अस्तित्वको सङ्कट, खण्डित विचार, राजनीति अनि अस्तित्व, स्वको खोजी, विकेन्द्रीकरण, श्रृङ्खलाहीन, विनिर्मित यी उत्तर आधुनिक विशेषताहरूलाई अङ्गीकार गरेर लेखिएको छ पोस्टर र लात उपन्यास ।
अन्तमा सूत्र उपन्यास पोस्टर र लात शीर्षकलाई सार रूपमा विश्लेषण गरेर हेरौं-
र————- स्वभावले संयोजक———- समाज र जनता अनि नेतालाई संयोजन गर्दछ तर यसको कार्यशाली ठिक छैन । आफू राम्रो भएर जतापट्टि पनि हाम्रा समाज र नेता दुवैलाई बिगार्नमा सघाउ पुर्याउँछ।
यहाँ विश्लेषित अर्थ नै अन्तिम अर्थ होइन। ‘पोस्टर’ समाजको दर्पण हो जहाँ असम्भव र अस्वाभाविक घटनाहरू पनि घटेका छन् जस्तै ‘कृत्रिम मातृत्व’ र ‘उल्टो काण्ड’ मा चित्रित पाइन्छ। तर यति विश्वासचाहिँ राख्न सकिन्छ ‘पोस्टर’ ले झुटो सन्देश दिँदैन। ‘पोस्टर’ विश्वसनीय हुन्छ, यो एक गुण हो यसको। ‘पोस्टर’ का प्रकार धेरै छन् अनि प्रयोग पनि विभिन्न उद्देश्यले गरिन्छ। तर आजको परिप्रेक्ष्यमा ‘पोस्टर’ भन्नाले राजनीतिसम्बन्धी नै विशेष रूपले बुझिन्छ। यहाँ यस शब्दले राजनीति र सामाजिक दुवै अर्थलाई बुझाउँछ। यस सूत्र उपन्यासको अर्को प्रमुख विशेषता छ- विभिन्न सूत्रहरूको योगले यो उपन्यासको सिर्जना भएको छ। वास्तवमा विभिन्न शीर्षकरूपी ‘पोस्टर’ बाट वहाँ एक ‘पोस्टर उपन्यास’ को पनि जन्म भएको छ।
हामी ‘पोस्टर’ सधैँ खण्ड रूपमा विविध शीर्षक हेरेर पढ्ने गर्छौं। प्रत्येकपल्ट बद्लिएको पोस्टरको शीर्षक पनि बद्लिएको हुन्छ। ‘पोस्टर’ को अर्थलाई फेरि दोहोराएर हेर्दा यसले एक विशेष मुद्दाबारे जनतालाई सचेत बनाउँछ। हो, यो ‘पोस्टर उपन्यास’ ले हाम्रो जातीय अस्तित्वको लँड़ाईप्रति सबैलाई सचेत बनाउँदै जनक्रान्तिको पुल्ठोलाई उज्यालो बनाइराख्ने ‘उ’ पात्रले भन्छ- ‘एकजना बालकको हातमा त्यो थमाइ दिँदै’ उसले भन्यो- ‘पुल्ठो निभ्नु हुन्न है बाबू तिम्रो हातमा। यो आउँदो शताब्दीको लागि पनि चाहिन्छ।’ (बाघ)
हामी एक एकजना व्यक्ति विचारले, ईर्ष्याले, स्वार्थले, अहम्ले, घृणाले, प्रेमले, भावनाले, सोच्ले एकाअर्कादेखि भिन्न छौँ, स्वतन्त्र, मुक्त र खण्डित छौँ तर जहाँ जातीय चिन्हारीको प्रश्न आउँछ, भाषा साहित्य र जाति विकासको कुरा आउँछ, हामी एक एक जना व्यक्ति सूत्र भएर एकाअर्कामा गाँसिएर, जोडीएर एउटै धागोमा उनिएर एकबद्ध भयोँ भने हामीले आफ्नो लक्ष्य एकदिन निश्चय प्राप्त गर्नसक्छौँ। र यी खण्डित अर्थहरूलाई एक अर्थमा परिवर्तित गर्न सक्षम बन्नेछौँ ।
चर्चाअन्तर्गत केही मुख्य विषय, घटनाहरू छोडिन गए मेरो विनम्र अनुरोध सम्पूर्ण पाठकजनमा आउनुहोस, तपाईँहरू स्वयम् यी रोचक सूत्रमय ‘पोस्टर’ पढेर, चिन्तन गर्नुहोस्, विश्लेषण गर्नुहोस्, मन्तव्य पोख्नुहोस् अनि सोझै सम्पर्क गर्नुहोस् ‘पोस्टर र लात’ का लेखक प्रदीप गुरूडलाई।
म आफ्नो पक्षमा यिनलाई हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्छु।
१३ जनवरी २०१०
सूत्र उपन्यास के हाेरू
सूत्र उपन्यास कुनै परम्परिक नियम नभइ स्वतन्त्र रूपमा लेखिने उत्तर आधुनिक चेत बाेकेकाे एक आख्यान हाे ।
याे पनि हेर्नुस्
Amazon
Portable Hard Disk
Western Digital WD 1TB Elements Portable Hard Disk Drive, USB 3.0, Compatible with PC, PS4 and Xbox, External HDD (WDBHHG0010BBK-EESN)