थोप्ले मृगको शिकार गर्ने दुईजना अभियुक्तलाई सुनाइयो सजाय

कालचिनीः वन्यजन्तु संरक्षणको दिशामा महत्त्वपूर्ण उदाहरण प्रस्तुत गर्दै अलिपुरद्वारको सीजेएम अदालतले थोप्ले मृगको शिकार गरेको मामिलामा ५ वर्षको सश्रम सजाय सुनाएको छ। गत वर्ष २०२३ को सेप्टेम्बर महीनामा बक्सा ब्याघ्र प्रकल्प (बीटीआर) पूर्वी डिभिजनको उत्तरी राइडाक दायरामा थोप्ले मृगको शिकार गरेको आरोपमा दुई अभियुक्त अब्राहम तिग्गा र रुना तिर्कीलाई बन विभागले पक्राउ गरेको थियो भने सो मामिलामा दुवै अभियुक्तहरू विचाराधीन कैदीको रुपमा रहेको थियो। शुक्रवार अलिपुरद्वार जिल्ला सीजेएम अदालतले मामिलाको सुनवाई गर्दै दुवै अभियुक्त विरुद्ध ५ वर्षसम्म कैद र ३० हजार जरिवाना तोकेको छ‌।
वन्यजन्तु संरक्षण ऐन अन्तर्गत संरक्षित प्रजातिमा पर्ने थोप्ले मृग उत्तरी राईडक रेन्जमा सिकार भएको भेटिएको थियो, जसलाई बीटीआर पूर्व डिभिजन टोलीले गहिरो अनुसन्धान गर्न प्रेरित गरेको थियो। पक्राउ परेकाहरूलाई चोरी सिकार र सम्बन्धित कसुरमा मुद्दा चलाइएको थियो।
अदालतले सुनाएको यस निर्णयले सम्भावित शिकारी र वन्यजन्तु अपराधीहरूलाई उनीहरूलाई न्यायको कठघरामा ल्याइनेछ भन्ने बलियो सन्देश दिने साथै वन्यजन्तु प्रजातिहरूको संरक्षण र प्रकृतिको संरक्षणको लागि महत्वपूर्ण चेतना प्रदान गर्ने बक्सा ब्याघ्र प्रकल्पको अधिकारीहरूले बताएको छ। वन्यजन्तु संरक्षण ऐन, १९७२ अन्तर्गत स्पोटेड डियर संरक्षित वन्यजन्तु प्रजाति हो र यस जनावरको शिकार गर्नु दण्डनीय अपराध हो भनी सबैलाई जानकारी पनि बन विभागले गराएका छन्।

Leave a comment