कालचिनी – गत जुलाई महीनादेखि बन्द रहेको उत्तर बङ्गालका विभिन्न राष्ट्रिय पार्क तथा अभराण्यहरूलाई आजदेखि खोलियो। डुवर्सको प्रसिद्ध जल्दापाडा राष्ट्रिय निकुञ्ज र बक्सा ब्याघ्र प्रकल्प पनि खोलिएको छ। मङ्गलबार प्रथम दिन मै जल्दापाडा र बक्सा पर्यटकीय क्षेत्रमा पर्यटकहरूको चहल पहल देखियो। पर्यटकहरूको आगमन हुने भएकोले बक्साका टूरिस्ट गाइडहरू एवम् होमस्टे सञ्चालकहरूमा अहिले हर्ष छाएको छ।

मङ्गलबार यसै क्रममा मदारीहाटस्थित जल्दापाडाको प्रवेशद्वार र राजाभातखावास्थित बक्सा ब्याघ्र प्रकल्पको प्रवेशद्वारमा एवम् सुन्तलाबारीमा घुम्न आएका पर्यटकहरूलाई स्थानीय होमस्टे सञ्चालकहरू र गाइडहरूले खदा लगाएर स्वागत जनाएको थियो।
बक्सा ब्याघ्र प्रकल्पको पक्षबाट प्रदत्त जङ्गल सफारी वाहनहरूले मङ्गलबार पर्यटकहरूलाई निर्धारित गन्तव्यमा पुऱ्याएको देखियो भने पर्यटकहरूले बक्साको कोर जङ्गल क्षेत्रमा सफारीको आनन्द लिएको थियो। सुन्तलाबारीका होमस्टे सञ्चालक हिरो छेत्री, गाइड शनी लामा र निमाई घोषले मुख्यमन्त्रीले अगावै बक्सा प्रयोग गर्न शुल्क बन्द गरेको छ भने अहिले पर्यटकहरू स्वत स्फूर्तरुपमा हर्षित हुँदै केवल टूर प्याकेज अनुसार बक्साद्वार, जयन्ती, महाकाल, पोखरी आदि ठाउँहरूमा घुम्न एवम् जङ्गल सफारीको मजा लिन थालेको जनाएका छन्।