यूआईडीएआई सेवाबाट वञ्चित चुवापाडा अञ्चलका मानिसहरू

यूआईडीएआई सेवाबाट वञ्चित चुवापाडा अञ्चलका मानिसहरू


कालचिनीः आधार कार्ड अर्थात यूआईडीएआई परिसेवा वर्तमान ई-गभर्नेन्सको एउटा महत्वपूर्ण अङ्ग बनिन पुगेको छ। हरेक प्रमाणपत्र र कागजपत्र आवेदन गर्न वा जमा दिन जाँदा आधारकार्ड जरुरी हुन पुगेता पनि पश्चिम बङ्गाल राज्यका विभिन्न गाउँ, चियाकमान र बस्ती बासिन्दाहरूले आजसम्म पनि आधारकार्ड संसोधन वा नयाँ आवेदन गर्न सजिलो परिसेवा केन्द्र नपाएकोले विभिन्न प्रशासनिक काम अनि ब्याङ्कको कामहरूमा बाधा तथा दिकदारीको सामना गर्न परिरहेको भुक्तभोगीहरू बताउँछन्।
कालचिनी खण्डको एसबीआई शाखामा आधारकार्ड सम्बन्धित परिसेवा केन्द्र भएता पनि चुवापाडा अञ्चल संलग्न सेन्ट्रल डुवर्स चियाकमान, बुथुरी, राधारानी, नयाँ बस्ती, अच्छापाडा, विजयपुर, बनछाया , मेचपाडा, ८ नम्बर, गाउँ बस्तीका मानिसहरूलाई यो केन्द्र टाढा पर्न गएको छ। आधार परिसेवा प्रदान गर्न विगत ६ महीना अघि नै आधार अर्थात यूआईडीएआई परिसेवा केन्द्र खोल्न चुवापाडा चियाकमानस्थित इन्डियन ओभरसीज ब्याङ्कको कियोस्क शाखालाई अनुमति दिएको बताइएता पनि आजसम्म यसको परिसेवा चालू नगरिएकोले मानिसहरू दिक्क भएका छन्। भारतको जनगणना २०११ मुताबिक कालचिनी चियाकमान, मेचपाडा, भाटपाडा, चुवापाडा, सेन्ट्रल डुवर्स राङ्गामाटीको कुल ४५४०० जनसङ्ख्यामा छरिएका मानिसहरूले सजिलोसँग आधारकार्ड अपडेट गर्न अनि नयाँ आवेदन गर्न एवम् संसोधन गर्न नपाइरहेको स्थिति देखा परेको विज्ञजनहरू बताउँछन्।
यस क्रममा चुवापाडास्थित उक्त इन्डियन ओभरसीज ब्याङ्कको शाखामा किन यो सेवा चालू गरिएन भन्ने सवाल उठ्न थालेको छ।
उक्त सम्बन्धमा सो ब्याङ्कको अधिकारी सुभाष मित्रले आधारभूत संरचना र सुरक्षाको व्यवस्था र भवन ठीकठाक नभएसम्म आधारकार्ड अपडेट परिसेवा चालू गर्न नसकिरहेको यद्यपि आगामी एक महीनाभित्रै भवन तयार भएपछि आधारकार्ड सम्बन्धित परिसेवा चालू हुने जनाएका छन्। तिनले ब्याङ्क स्वयं अहिले ग्राहक बनाउन काममा लागिपरेको र आधारकार्ड अपडेट सेन्टर चालू हुँदा ब्याङ्कलाई लाभ हुने बताउँदै आगामी एक महीनाभित्र यसको काम शुरु हुनसक्ने जनाएका छन्। अर्कोतिर गाउँलेहरूले आधारकार्ड परिसेवाको अनुमति भएर पनि आजसम्म चालू नभएकोले धेरै असुविधा भइरहेको जनाएका छन्। ग्राहकहरूले यदि आधारकार्ड अपडेट परिसेवा प्राप्त गर्नसके ब्याङ्कलाई नै लाभ पुग्ने ग्राहक सङ्ख्या पनि वृद्धि हुने निश्चित भएता पनि किन सेवा चालू नभएको भनि सवाल उठाएका छन्। यता शीघ्र आधारकार्ड अपडेट परिसेवा यहाँ चालू गरिए चुवापाडा अञ्चल मात्र नभएर कालचिनी अञ्चलको मानिसहरू लाभान्वित हुने र यसले आधारकार्ड समस्याको समाधान हुने पनि स्थानीय मानिसहरूले जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment