वरिष्ठ भाषासङ्ग्रामी मीनबहादुर गुरुङ पत्नीशोकमा

ओदलाबारीः डुवर्सका वरिष्ठ समाजसेवी एवं भाषासङ्ग्रामी मीनबहादुर गुरुङकी धर्मपत्नी श्रीमती मनकुमारी गुरुङको आज अपरान्ह २.४१ मिनटमा निधन भएको छ। दीर्घ दिनदेखि पेटको रोगले ग्रसित उनले आज ओदलाबारीस्थित निजी निवासमा अन्तिम श्वास लिइन्। उनी ९६ वर्षकी थिइन्। उनले आफूपछि पति, तीन छोरा, बुहारी, नाता-नातिनी एवं पनातिहरू छोड़िगएकी छन्। उनको निधनको समाचार सुन्नेबित्तिकै डुवर्सका विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि, साहित्यकार तथा समाजसेवीहरू उनलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न उनको निवास पुग्ने क्रम जारी छ। उनको अन्तिम संस्कार भोलि ओदलाबारीमै गरिने पारिवारिक सूत्रले जानकारी दिएको छ।सन् १९५३ मा घुम भन्ज्याङ निवासी मनकुमारी गुरुङको मङ्पू निवासी मीनबहादुर गुरुङसँग विवाह भएको थियो। पछि मीनबहादुर गुरुङ १९५६ सालमा जीविकाको खोजीमा ओदलाबारी आए। ओदलाबारी आएर केही व्यवस्थित भएपछि मात्र मनकुमारीलाई उनले १९७० तिर स्थायी रूपमा आफूसँगै ओदलाबारी ल्याएका थिए। गुरुङका व्यक्तिगत जीवनका अनेकौँ सङ्घर्ष, उतार-चढाव, समाजसेवा, विभिन्न सङ्घ-संस्थामा उनको आबद्धता अनि भाषा-सङ्ग्रामका कामहरूमा उनले आफ्ना पतिलाई सहयोग र साथ दिँदै आएकी थिइन्। नब्बेको दशकमा डुवर्समा जातीय जागरणका अभियानमा उनले सङ्गठनका युवाहरूलाई धेरै प्रोत्साहन, सहयोग र ऊर्जा प्रदान गरेकी थिइन्। त्यसताक ‘बडी’-का रूपमा डुवर्समा उनको परिचय थियो।

उनको निधनमा डुवर्सका विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि तथा साहित्यकारहरूले गहिरो शोक प्रकट गरेका छन्। डुवर्स नेपाली साहित्य विकास समिति, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, साहित्य परिक्रमा परिवार आदि सङ्घ-संस्थाहरूले उनको निधनमा गहिरो शोक एवं परिवारका सदस्यप्रति समवेदना प्रकट गरेका छन्।

Leave a comment