खम्बु चेली डाक्टर अलका राईलाई किखरासांसंद्वारा सम्मान

खम्बु चेली डाक्टर अलका राईलाई सम्मान

गोरुबथानः समाजमा सबैभन्दा मूल्यवान चिज कुनै छ भने त्यो हो ‘शिक्षा अथवा ज्ञान’। हरेक व्यक्तिको पहिलो सपना शिक्षित बन्ने हुनुपर्छ किनभने शिक्षित व्यक्तिले मात्र समाजमा परिवर्तन ल्याउन सक्छ। उपर्युक्त कथनलाई चरितार्थ गर्न सक्षम बनेकी गोरुबथानकी खम्बु चेली डाक्टर अलका राईलाई शनिवार किराँती खम्बु राई सांस्कृतिक संस्थान गोरुबथान खण्ड समितिद्वारा सम्मान जनाइयो। हालैमा सिक्किम केन्द्रिय विश्वविद्यालयबाट अर्थशास्त्रको ‘एग्रिकल्चर मार्केट’ देशभरिका (फुड ग्रेन्स-सिरियल्स/पल्सेस) विषयमाथि विद्यावारिधी पूर्ण गरेकी डाक्टर अलका राईलाई आज उनकै निजी वासस्थान गोरुबथानमा पुगेर एक प्रतिनिधि टोलीद्वारा सम्मानित गरियो। अर्थशास्त्र जस्तो चुनौतिपूर्ण विषयमाथि शोध गरेर डक्टरेट गरेकी डाक्टर अलका राई किराती खम्बु जातिको निम्ति हिरासमान रहेको मन्तव्य गर्दै किराँती खम्बु राई सांस्कृतिक संस्थान गोरुबथान खण्ड समितिका सल्लाहकार निशानदास राईले यस गरिमामय उपलब्धिको निम्ति उनीलगायत सम्पूर्ण परिवारप्रति बधाई टक्राए।

खम्बु चेली डाक्टर अलका राईलाई सम्मान
खम्बु चेली डाक्टर अलका राईलाई सम्मान

डाक्टर राईको उपलब्धिले परिवार पक्षलाई मात्र नभएर सम्पूर्ण किराँती खम्बु राई समुदायलाई नै खुसी बनाएको तिनले सम्बोधनमा बताए। अबको पीढिले डाक्टर अलका राईले चुनेको बाटोलाई अनुसरण गर्नुपर्ने पनि तिनले सुझाव राखे। खण्ड समिति सचिव एमबी साम्पाङद्वारा सञ्चालित भेटघाट कार्यक्रमलाई उपाध्यक्ष रतन राई, सहकोषाध्यक्ष अरुण राईले पनि सम्बोधन गरेका थिए। पदाधिकारीद्वयले सम्बोधनमा डाक्टर अलका राईलाई यस महत्वपूर्ण उपलब्धिको निम्ति हार्दिक बधाई दिँदै शुभकामना दिए। डाक्टर राई अहिले युवाहरूको निम्ति प्रेरणाको श्रोत बनेको मन्तव्य गर्दै सहकोषाध्यक्ष अरुण राईले खम्बु राई समुदायमा डाक्टर अलका राईजस्ता व्यक्तित्वहरूको अझै खाँचो रहेको बताए। त्यसरी नै सम्बर्द्धित व्यक्तित्व डाक्टर अलका राईले आफुले डाक्टरेट उपाधिको निम्ति गरेका संघर्षहरूबारे बताइन्। शिक्षालाई प्राथमिकता दिएर यसरी सम्मानित गरेकोमा हर्ष प्रकट गर्दै तिनले किराती खम्बु राई सांस्कृतिक संस्थानप्रति आभार प्रकट गरिन्। यस छोटो कार्यक्रममा खण्ड समिति पदाधिकारी केबी राई, लेनिन राई, योगेश राई बाछाना अनि गोरुबथान शाखा पदाधिकारी सुकदास राईको विशेष उपस्थिति रहेको थियो। स्मरण रहोस् डाक्टर अलका राई हालमा यहाँको युद्धवीर उच्चतर माध्यमिक विद्यालयमा सहशिक्षिकाको रुपमा सेवारत छिन्।

याे पनि हेर्नुस्

Leave a comment