चुनावी प्रचारकाे दाैडमा रक्षामन्त्री राजनाथ सिंह जयगाउँमा

बङ्गालको अधिकांस आसनमा भाजपाको जीत सुनिश्चित- रक्षामन्त्री राजनाथ सिंह

कालचिनी: प्रायः साँझ पर्ने बेला भाजपा अलिपुरद्वार लोकसभा केन्द्रको प्रार्थी मनोज तिग्गाको समर्थनमा जनसभा गर्न केन्द्रिय रक्षामन्त्री राजनाथ सिंह आइतवार कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँको माइला लाइनमा आइपुगे।
रक्षामन्त्री राजनाथ सिंहले आफ्नो सम्बोधनको क्रममा उपस्थित विधायक अनि भाजपा नेतृत्वहरूलाई अभिवादन गर्दै पश्चिम बङ्गाल चैतन्य महाप्रभु, रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, नेताजी सुभाषचन्द्र बोस, श्यामाप्रसाद मुखर्जी जस्ता महान हस्तीहरूको राज्य रहेको तर वर्तमान तृणमूल सरकार आएपछि यहाँ सन्त्रास कायम भएको आलोचना गरे।
तिनले चाहे कंग्रेसको पाला होस् वामपन्थको पालामा होस् या वर्तमान तृणमूलको सरकारमा बङ्गालको मान्छे जति ट्यालेन्ट छन् त्यस मुताबिक ती ट्यालेन्टहरूले उचित ठाउँ नपाएको र हाल तृणमूल सत्तामा आएपछि राज्यमा महिला, युवा अनि नागरिक समाज सबैले असुरक्षित महसूस गरिरहेको कटाक्ष गरे।
भाजपाले कहिले सत्ताको लागि मात्र राजनीति नगरेको तर देश हित र विकासको निम्ति काम गरिरहेको पनि रक्षामन्त्री राजनाथ सिंहले बताए।


देशको सैन्य शक्तिले प्रगति गरेको र भाजपाको सरकार रहेको मध्यप्रदेश, उत्तरप्रदेश गरीबमुक्त राज्य बन्न लागेको डिङ रक्षा मन्त्रीले हाँकेता पनि चियाकमानको भूमिमा उभिएर बोल्दा तिनले चिया श्रमिकहरूको निम्ति भने केही नबोलेको राजनैतिक पर्यवेक्षकहरूले जनाएका छन्।
तिनले लोकसभा चुनाउमा भाजपा प्रार्थीलाई जिताउने अपिल गर्न प्रधानमन्त्रीको आदेशमा यहाँ आएको र यसपाली बङ्गालको अधिकाश आसनमा भाजपाको जीत सुनिश्चित रहेको दाबी पनि गरे।लोकसभा पश्चात आउँदो विधानसभा चुनाउमा पनि बङ्गालमा भाजपाको सरकार ल्याउन जनता तयार बस्ने आह्वान गर्दै केन्द्रको योजनाहरू आयुष्मान कार्ड, घर घरमा नलको योजना लागु गरिने कुरा अघि राखे।
रक्षामन्त्री राजनाथ सिंहले शिक्षक नियुक्ति घोटालामाथि बोल्दै सरकार गठन भएपछि शिक्षक नियुक्ति घोटालामा संलिप्त आरोपी विरुद्ध अझै कारवाई गरिने र नियुक्तिको नाममा लिएको रकम पीडितहरूलाई फर्काउने वाचा पनि गरे।
देशको प्रधानमन्त्रीको उपलब्धी र विकसित भारतमाथि नै अधिक बल दिएर बोलेता पनि रक्षामन्त्री राजनाथ सिंहले तृणमूल सरकारको खोइरो खन्न कुनै कसर भने राखेनन्।
गुन्डा पालेर सन्त्रास फैलाउने शासक दललाई सहन नगरिने पनि रक्षामन्त्री राजनाथ सिंहले चेताउनी दिए। अबेर साँझ भएकोले जनसभामा भनेजस्तो भाजपा समर्थकहरूको सहभागिता नदेखिएको केही प्रत्यक्षदर्शीहरूको भनाइरहेको छ।

याे पनि हेर्नुस्

Amazon

Silk Kurta

Janasya Women’s Beige Poly Silk Floral Print Straight Kurta

Buy Now

Leave a comment