कुबीर प्रधानको ‘मैले गीत लेखेछु मैले प्रित लेखेछु’ गीत सङग्रह लोकार्पित

खरसाङ: स्रष्टा कुबीर प्रधानद्वारा लिखित ‘मैले गीत लेखेछु मैले प्रित लेखेछु’ गीत सङ्ग्रहको लोकार्पण गरिएको छ। खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारी निवासी कुबीर प्रधानको दोस्रो कृतिको रूपमा गीत सङ्ग्रह महानदीको तिरसठ पाखास्थित सार्वजनिक भवनमा लोकार्पण गरिएको छ। उक्त कार्यक्रममा सभाध्यक्षको रूपमा शिक्षक शरणकुमार राई अनि प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार सचेन राई दुमी उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सङ्गीतको गुरु गोबिन्दसिंह घतानी, वरिष्ठ लोक गायक मानसिहं मोक्तान, कथाकार जयप्रकाश लामा, नारी स्रष्टा शारदा स्टेफी राई लगायत अन्यहरू उपस्थित रहेका थिए। अतिथिहरूको बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण देवराज मुखियाले राखेका थिए। युवराज सुन्दासद्वारा सञ्चालित कार्यक्रममा शारदा स्टेफी राईद्वारा गीत प्रस्तुत गरिएको थियो भने खरसाङका गजलकार दिपक ठटाल जलनद्वारा गजल वाचन गरिएको थियो। यसै कार्यक्रममा कुबीर प्रधानद्वारा लिखित गीत सङ्ग्रह ‘मैले गीत लेखेछु मैले प्रित लेखेछु’ माथि रचना अनाकारद्वारा लिखित समीक्षात्मक टिप्पणी ऋषि राईले पठन गरेका थिए। यसै कार्यक्रममा नारद पुरस्कारले सम्मानित पत्रकार हनोक थापा लगायत कवि उज्जवल सेवा, कवि धिराज छेत्री, कराँते खेलाड़ी रोजी प्रधान, उदय प्रधान, विभुषण प्रधान आदिलाई खदार्पण गरेर सम्मान जनाइयो। कार्यक्रममा कुबीर प्रधानद्वारा लिखित अनि साईमन सेवाको सङ्गीतमा रहेको गीत वरिष्ठ गायक महेश सेवाले प्रस्तुत गरेका थिए भने महेश सेवाको सङ्गीतमा रहेको कुबीर प्रधानद्वारा लिखित अर्को गीत गायक कर्म मोक्तानले प्रस्तुत गरेका थिए। कार्यक्रममा गीतकार कुबीर प्रधानले आफ्नो सम्बोधनमा गीत सङ्ग्रह प्रकाशित गर्नलाई विभिन्न पक्षबाट सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन्। कार्यक्रममा कवि राममणि जोशी र शम्भु राईद्वारा कविता पठन गरिएको थियो। यसै कार्यक्रममा कुबीर प्रधानद्वारा लिखित आफ्नो दोस्रो कृति तथा गीत सङ्ग्रह ‘मैले गीत लेखेछु मैले प्रित लेखेछु’ कार्यक्रमको सभाध्यक्ष शरणकुमार राई, प्रमुख अतिथि सचेन राई दुमी, विशिष्ट अतिथिहरू साथै बिमला प्रधान लगायत गीतकार कुबीर प्रधान र उनकी पत्नी आशा प्रधान आदिको बाहुलीबाट विधिवत् रूपमा लोकार्पण गरिएको छ। कार्यक्रममा नेपाली गीत विषयमा कवि दिल थापाले वार्ता प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि सचेन राई दुमीले आफ्नो सम्बोधनमा कुबीर प्रधानले आफ्ना गीतहरूमा कल्पना मात्र होइन तर यथार्थ पनि लेखेको बताएका छन्। कार्यक्रममा गीतकार कुबीर प्रधान र उनकी पत्नीलाई सम्मान जनाइएको थियो भने धन्यवाद ज्ञापन कवि उम्मेद गोलेले राखेका थिए।

Leave a comment