गङ्गुटिया र भोटे बनबस्ती पश्चात जयन्ती बासिन्दा पनि बसाई सर्न सहमत

गङ्गुटिया र भोटे बनबस्ती पश्चात जयन्ती बासिन्दा पनि बसाई सर्न सहमत


कालचिनी: एनटीसीए र बन विभागको पहलमा १५ लाखसितै ८ डेसिमल जमीन रिलोकेशनमा प्रदान गरिए गङ्गुटिया र भोटे बनबस्ती सरह आफूहरू स्वइच्छाले बसाई सर्न सहमत बनेका छन् अलिपुरद्वार जिल्लाको कालचिनी खण्ड अन्तर्गत तथा बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेका जयन्ती स्टेशनका बासिन्दाहरू।
मङ्गलवार जयन्ती स्टेशनका बासिन्दाहरूले पत्रकारहरू समक्ष भौगोलिक विकटता साथै जयन्ती नदीको त्रास र रोजगार गर्ने माध्यम नरहेकोले आफूहरूलाई बन विभाग र एनटीसीएले रिलोकेशनको सुविधा सुनिश्चित गराए सबै यहाँबाट स्थानान्तरण गर्न सहमत रहेको जनाएका छन्।
प्रायः ४४९ जना लाभार्थीहरू रहेको बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ पर्ने जयन्ती बासिन्दाहरूले बाढीको प्रकोप र रोजगारको माध्यम नभएपछि हाल जयन्तीमा जीवन यापन गर्न कठिन भइरहेको र बन विभागले स्वतस्फूर्त रुपमा गङ्गुटिया अनि भोटेबस्तीका लाभार्थीहरूलाई जस्तै सुविधा सुनिश्चित गरे ठाउँ सरुवा गर्न आफूहरू तयार रहेको र लिखित स्वीकृति पनि बक्सा ब्याघ्र प्रकल्पको अधिकारीहरू समक्ष पेश गरिएको जयन्ती ग्राम सभाका सचिव आशीष दे, होमस्टे सञ्चालक दीपबहादुर छेत्री, स्थानीय बासिन्दाहरू सन्ध्या लामा, निला लामा एवम् अन्यान्यले जनाएका छन्।


उपरोक्त सम्बन्धमा जयन्ती बासिन्दाहरूले रहरले होईन न त कसैको करकापले तर जब बन विभागले तथा एनटीसीएले रिलोकेशनसहित आर्थिक योगदानको सुविधा दिन तयार छ भने किन बिजोग भएर कोर जङ्गलमा बस्ने बरु अलिपुरद्वार सहरको नजीक बस्ने ठाउँ दिए हामी सबै जयन्ती स्टेशन छोड्न तयार रहेको जनाएका छन्।
जयन्ती टूरिज्म गाइडको सचिव शिखर भट्टाचार्यले बताए अनुसार, केही मानिसहरूले बन विभागले डर र धमकी देखाएर जबरजस्ती जयन्ती गाउँ छोड्न षडयन्त्र गरेको आरोप लगाएका सुनिएको तर यो सरासर झुटो दाबी रहेको जनाएका छन्।
तिनले आज जुन परिस्थितिमा जयन्ती गाउँका बासिन्दाहरू बसोबास गर्दैछन् त्यसको भोगाई यहाँको गाउँलेहरूलाई नै सोधे थाह लाग्ने र वर्षाकालमा जयन्ती नदीको बाढको त्रास र हाल बन विभागले ३ महीना जङ्गल सफारी र पर्यटकहरू आउन बन्द गरेपछि आयश्रोत बन्द भएको र पहिला नदीमा बालुवा र ढुङ्गा खनन दिँदा गाउँलेहरूले काम पाउँथे तर यो पनि ग्रीन ट्राइब्यूनलले बन्द गरिदिएपछि कुनै रोजगार गर्ने उपाय यहाँ नरहेकोले गर्दा अब यदि बन विभागले १५ लाख र ८ डेसिमल जमीनसहित रिलोकेशन गराए त्यसमा सबै लाभार्थीहरू सहमत बनेको र यसको प्रक्रिया अघि बढ्न थालेको पनि अवगत गराएका छन्।
बक्सा नेशनल पार्क अथवा बक्सा टाइगर रिजर्भले कोर जङ्गल क्षेत्रमा वन्यजीवको प्राकृतिक वासस्थान सुनिश्चित गर्नलाई रिलोकेशनको सुविधा दिएको बेला यसको लाभ लिन गाउँलेहरू स्वतस्फूर्त रुपमा तयार रहेको र यसले जङ्गल संरक्षण र वन्यजीवको पनि सुरक्षा हुँदा यसमा वन्यजीव र मानिस सबैको कल्याण हुने भएकोले गाउँलेहरू रिलोकेशनको लागि तयार भएको ग्राम सभाका सचिव आशीष दे ले थप जनाएका छन्।
गाउँलेहरूको स्वेच्छा स्वीकृतिले यो प्रक्रिया अघि बढ्न थालेको र यसमा कसैले भाँजो नलगाइदिने अनुरोध पनि जयन्ती स्टेशनका प्रायः ४३० जना मानिसहरूले गरेका छन्।
यद्यपि यस सम्बन्धमा बक्सा ब्याघ्र प्रकल्पको फील्ड डाइरेक्टर अनि डीएफडीहरूसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेका छैनन्।
यता बक्सा ब्याघ्र प्रकल्पको अन्यान्य बनबस्तीका बासिन्दाहरूमा पनि अहिले रिलोकेशन लिएर चर्चा चल्न थालेको छ।

याे पनि हेर्नुस्


Leave a comment