शरद छेत्रीका खण्डकाव्यकृतिगत अध्ययन- बजारमा
सिलगढीः वरिष्ठ साहित्यकार शरद छेत्रीका खण्ड काव्यहरूमाथि शोध गरेर तयार गरिएको पुस्तक शरद छेत्रीका खण्डकाव्यकृतिगत अध्ययन- अब बजारमा आइपुगेको छ। डा. वीणा हाङखिमले तयार गरेको सो पुस्तक आम नेपाली पाठकसंगै शोधार्थीहरूको निम्ति पनि महत्वपूर्ण रहने देखिएको छ। भारतेली नपाली साहित्यको इतिहासमा एउटा अलग छाप छोड़्ने लेखक शरद छेत्री १९८६ का साहित्य अकादमी पुरस्कार बिजैता पनि हुन्। जसले भारतेली नेपाली साहित्यलाई बत्तीसवटा कृति दिएर गएका छन्। नेपाली साहित्यको हरेक विधामा कलम चलाउने छेत्रीलाई मूल रूपले आख्यानकारको रूपमा चिनिए पनि उनको काव्यकृतिको अलगै महत्व रहेको छ। उनै छेत्रीद्वारा लिखित खण्डकाव्यमाथि केन्द्रित रहेर तयार गरिएको शोध मार्फत नै डा. वीणा हाङखिमले त्रिभुवन विश्वविद्यालयबाट विधाभारिधि प्राप्त गरेकी थिइन् भने सो अवधि शोधमा राख्न छुटेका र रहेकालाई पनि अझ परिमार्जित गरेर पुस्तक तयार गरेको उनले बताएकी छिन्। पुस्तकमा शरद छेत्री लगायत उनका नजिकका साहित्यिक मित्र गुप्त प्रधानसंग लिइएको अन्तरवार्ता पनि राखिएको छ। पुस्तकबारे डा. वीणा हाङखिमले भनेकी छिन्, ‘यो पुस्तक मेरो शोध कार्यकै उपज हो। यद्यपि शोध कार्यमा कहिलेकहीं आफूलाई मन परेका कुराहरू पनि समेट्न नसकिने रहेछ। यसैले ती सबैलाई संशोधन गर्दै अझ परिमार्जित रूपमा यो पुस्तक तयार गरेकी छु। जो आम नेपाली पाठकसंगै अध्ययनरत विद्यार्थी लगायत शोधार्थीहरूको निम्ति पनि महत्वपूर्ण बन्ने कुरामा आश्वस्त छु।’