कालचिनीः डुवर्स विभिन्न जाति, भाषा, संस्कृति र परम्परा बोकेको भौगोलिक क्षेत्र मात्र नभएर डुवर्सको हरियो जङ्गल र बनबस्तीहरूलाई जैविक विविधताको खजाना पनि भनिन्छ। डुवर्सलाई विश्व पर्यटनको श्रृंखलामा जोड्न डुवर्सको सबै पर्यटन व्यावसायी तथा सङ्गठनहरू लागि परे तापनि आजसम्म भनेको जस्तो सरकारी तथा प्रशासनिक सहकारिताको अभाव देखिन्छ।
पूर्व डुवर्सको जल्दापाडादेखि चिलापाता, बक्सा हुँदै असमको धानसिरी मानससम्मको पर्यटन अनि होमस्टे सञ्चालकहरूलाई समेटेर शनिबार कालचिनी खण्डको विजयपुर बस्तीस्थित ह्याङला तामाङ होमस्टेमा इस्टर्न डुवर्स टूरिज्म डेभलपमेन्ट एसोसिएसनको कमिटी तयार भएको एसोसिएसनको प्रमुख विश्वजीत साहाले जनाएका छन्। पूर्व डुवर्सको बक्सा, जल्दापाडा, चिलापाता क्षेत्रमा बन विभागको विभिन्न शर्तहरूसँग पर्यटन विकास कसरी सम्भव हुन्छ यस सम्बन्धमा ईटीडीए प्रमुख विश्वजीत साहा, रामकुमार लामा र शरण लामाले शनिबार कार्यशाला मार्फत विस्तृत छलफल चलाएको थियो।
उक्त छलफल पश्चात अन्ततः इस्टर्न डुवर्स टूरिज्म डेभलपमेन्ट एसोसिएसनको कमिटीको अध्यक्ष शरण लामालाई नियुक्ति गर्दै जल्दापाडा, चिलापाता, बक्सा, राजाभातखावा, कोचबिहार, असमका विभिन्न सदस्यहरूलाई चयनित गरेको बताइएको छ।
डुवर्सको लाटागुडीलाई मात्र अधिकांश पर्यटकहरूले डुवर्स भन्ने चलन राखेको जबकि जल्दापाडा, बक्सा र चिलापातालाई उनीहरुले डुवर्स भन्न नमानेको अवस्थालाई पनि छलफल गर्दै जल्दापाडादेखि चिलापाता बक्सा र असमको धानसिरी मानससम्मलाई पूर्व डुवर्सको हिसाबमा मानेर इस्टर्न डुवर्स टूरिज्म डेभलपमेन्ट एसोसिएसनको कमिटी तयार भएको विश्वजीत साहा र शरण लामाले जनाएका छन्।
जल्दापाडा चिलापाता र बक्साको विभिन्न क्षेत्रमा पर्यटन विकास गर्न बन विभागको कतिपय नियमहरुले गाह्रो भएता पनि बन विभागसँग सहयोगिता राखेर पर्यटन उद्योगलाई फ्रस्टाउन काम गरिने इस्टर्न डुवर्स टूरिज्म डेभलपमेन्ट एसोसिएसनको पक्षबाट विश्वजीत साहा, शरण लामा र रामकुमार लामाले थप जनाएका छन्।