प्रवीण राई जुमेलीको मेडिटेसन-लाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार
सिलगढी: सिक्किमेली कवि प्रवीण राई जुमेलीलाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। जुमेलीका कविता सङग्रह मेडिटेसनः पीडा र प्रस्थानमा नवोन्मेषी चेतना, प्रयोगपरकता र मानविक संवेदना रहेको भन्दै शीर्ष ज्युरीले यसवर्षको शशिप्रभा स्मृति पुरस्कार दिइने निधो गरेको हो। हाम्रो किताब घरले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कार भारतभरिबाट प्रकाशित कुनै पनि एक उत्कृष्ट नेपाली पुस्तकलाई दिइने गरेको छ। साहित्यिक पुरस्कार लबीमुक्त हुनुपर्ने र पारादर्शिता पूर्वक कृतिको छनौट गरिनुपर्ने कुरामा जोर दिँदै सुरू गरिएको उक्त पुरस्कारको निम्ति हरेक साल शीर्ष दस पुस्तक पनि सार्वजनिक गरिने गरिएको छ।
पुरस्कारले पठन संस्कृतिको विकासमा पनि थप टेवा पुर्याउनुपर्ने र साहित्यिक पुरस्कार जहिले पाठक मैत्री हुनुपर्ने कुरामा जोर दिॅदै किताब घरले उक्त साहित्यिक पुरस्कार सुरू गरेको हो। जसको निम्ति यसचोटि लेखक सङ्गीत नेम्वाङको अगुवाईमा रहेको टोलीले टपटेन पुस्तक छनौट गरेको थियो भने जसमध्ये मेडिटेसनः पीडा र प्रस्थानलाई शीर्ष ज्युरी क्रमैले लेखक विन्द्या सुब्बा, कवि/ समालोचक सुधीर छेत्री र बलराम सापकोटाले श्रेष्ठ पुस्तकको रूपमा छनौट गरेको छ। जसको घोषणा आज सालबारीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ लेखक ज्ञानेन्द्र खतिवाडा, किताब घरका संयोजक छेवाङ योञ्जन र बबिता मादेनले गरेका छन्।
आख्यानकार विजय बान्तवा कैलाशीले आफ्नो स्वर्गीत घर्मपत्नी शशिप्रभा राईको स्मृतिमा सुरू गरिएको उक्त पुरस्कारमा नगद पचास हजार रूपियाँ सहित प्रशस्ति पत्र प्रदान गरिने गरेको छ।