अबीर खालिङ
क्रुरताको मुट्ठीमा बन्द वर्तमान मस्त छ
असहिष्णुताको सारङ्गी रेटेर,
समय वुद्धत्वको ढोङ रचिरहेछ
छलकपटको कपिलवस्तुमा ।
बैला बेलाको थारो मौसममा
कोही गीत गाउन मस्त छ अहिले
थाहा छैन कि
गीत विनाशको हुन सक्छ,
गीत संहारको हुन्छ
गीत अल्मलको हुन्छ ।
झ्याली पिटदै हिँड्ने जमातलाई देखेर
सुर्य कुटिल हाँसो हाँसिरहेछ आकाशमा।
तुहिएको उत्सर्गले मख्ख छन् नार्सिसस् यो मौसममा ।
स्खलित मुहूर्तको क्रमिक दौडमा जिन्दगी रित्तिएको
सानो व्यथा छ अहिले ।
अल्मलको जातीय गीत बझ्दैछ घर घरमा ।
वंशविनाशको उद्देश्यमा खुकुरी उध्याएको छ समयले ।
रूग्न मानसिकताको आगोले जलेको अनुहार बोकेर
नयाँ वर्षको गीत गाउँदै हिँडिरहेछ नयाँ पिँढी ।
हुनसक्छ
भोलि केही नहोला हाम्रो स्वरमा ।
रिक्तताको भैलो खेलेको धैरै भयो ।
युद्धको ढोङ रचेर
भाइ मारेको धेरै भयो ।
आफन्तको घर जलाएर
खरानीको थुप्रोमा बाबुको वीरता खोजेको धेरै भयो ।
1 thought on “समय दंस”