माध्यमिक परीक्षाको पहिलो दिन शान्तिपूर्वक सम्पन्न

कालचिनीः पश्चिम बङ्गाल मध्य शिक्षा पार्षद अधीनस्थ राज्यभरी नै शुक्रबारदेखि शुरू भएको माध्यमिक परीक्षा कालचिनी खण्डभरीका परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण सम्पन्न भएको छ। कालचिनी सर्कलको उत्तर लोथाबारी हिन्दी उच्च माध्यमिक विद्यालय, शंकर नेपाली उच्चतर माध्यमिक विद्यालय, कालचिनी हिन्दी हाइस्कूल, यूनियन एकाडमी ब्वाइज, यूनियन एकाडमी गर्ल्स, हेमिल्टनगञ्ज हाइस्कूल, कालचिनी मोडल स्कूल, हाँसीमारा, मलङ्गी र दलसिंहपाडा श्रीगणेश हाइस्कूलहरूमा बिहान ९.४५ देखि शुरु भएको थियो।
बिहान परीक्षा केन्द्रहरूसम्म पुलिस प्रशासन र वन विभागका कर्मचारीहरूले दुर्गम बनबस्ती र गाउँहरूबाट परीक्षा लेख्न आउने विद्यार्थीहरूको निम्ति वाहनको व्यवस्था साथै जङ्गल क्षेत्रमा बनकर्मीहरूलाई सुरक्षामा खटाएको थियो। कालचिनी थाना अन्तर्गतका जम्मा ६ वटा परीक्षा केन्द्रहरूमा जम्मा १२६१ विद्यार्थीहरूमा १२३८ जनाले परीक्षा दिएको बताइएको छ।
यता कालचिनी खण्डको एकमात्र नेपाली माध्यमको स्कूल शंकर नेपाली उच्चतर माध्यमिक विद्यालयका १५१ जनामा १४८ जनाले परीक्षा दिएको स्कूल सुत्रले जनाएका छन्। आज पहिलो दिन नै माध्यमिक एडमिट कार्ड छोडेर आएका विद्यार्थीहरूको घरमा पुगेर कालचिनी थानाको पुलिसबलले एडमिट झिकाएर परीक्षा लेख्न सहज गराएको थियो। समग्रतामा आजदेखि शुरु भएको माध्यमिक परीक्षा शान्तिपूर्ण सम्पन्न भएको प्रशासनिक अधिकारीहरूले जनाएका छन्। अर्कोतिर माध्यमिक परीक्षार्थीहरूले परीक्षा लेख्न स्कूलदेखि सबै पक्षले सहयोगिता गरेको र परीक्षा सौहार्दपूर्ण सम्पन्न भएको जनाएका छन्। उल्लेखनीय छ, यसपालीको माध्यमिक परीक्षाको प्रश्नपत्रमा बारकोड लगाइएको र यसबाट प्रश्नपत्रको लीकेज भए त्यसलाई पक्राउ गर्न सकिने व्यवस्था पनि रहेको बताइएको छ।

याे पनि हेर्नुस्

Leave a comment