अबीर खालिङलाई लीलबहादुर क्षत्री साहित्य पुरस्कार
कालचिनी : आज डुवर्सका कथाकार एवम् कवि अबीर खालिङलाई लीलबहादुर क्षत्री पुरस्कार प्रदान गरियो| विष्णु निर्मला भवन, गुवाहाटी उच्च न्यायालय छेव,आयोजित लीलबहादुर क्षत्री पुरस्कार अलङ्करण समारोहमा पद्श्री लीलबहादुर क्षत्रीकै बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो| कार्यक्रममा तेइसजना असमेली नयॉं पुराना पुस्ताका कविहरूद्वारा कविता, गजल पाठ भयो भने डुवर्सबाट डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रबिन खवासले पनि कविता पाठ गरेका थिए| कार्यक्रममा असम नेपाली साहित्य सभाका कार्यकारी अध्यक्ष डा. इन्दु प्रभा देवी, भागोपका राष्ट्र अध्यक्ष नित्यानन्द उपाध्याय, साहित्यकार रुद्र बराल, कवि मोहन सुवेदी, मुक्ति उपाध्याय, डा. देवेन सापकोटा,डा कमल छेत्री, क्षत्री फाउण्डेशनका मूल सचिव डा. खगेन शर्मा, लीलबहादुर क्षत्रीका परिवार आदिको उपस्थिति रहेको थियो| यसै पुरस्कार अलङ्करण समारोहमा लीलबहादुर क्षत्रीका उपन्यास समग्र, सम्पूर्ण निबन्ध सङग्रह र अन्य कविहरूको कविता सङग्रह मिलाएर सात वटा कृतिहरूको पनि अतिथिहरूको बाहुलीबाट बिमोचन गरिएको थियो| कार्यक्रममा प्रेमसिंह सुवेदी व्याख्यान पनि प्रस्तुत गरिएको थियो|

पुरस्कार प्राप्त पश्चात कवि तथा कथाकार अबीर खालिङले ‘भारतीय नेपाली साहित्यका आख्यान पुरुष, बटवृक्ष आदरणीय लीलबहादुर क्षत्रीसँग जोडिएको पुरस्कारसँग मेरो नाम जोडिनु मेरो सौभाग्य हो| लीलबहादुर क्षत्रीलाई पढेर, पढाएर नै म आफू पनि साहित्य सिर्जनमा लागेको हुँ भने|’ स्मरण रहोस्, आज नै लीलबहादुर क्षत्रीको ९३औँ जन्मदिन परेको थियो र असम गोर्खा सम्मेलनले पनि गोर्खा भवनमा एउटा छुट्टै जन्मोत्सवको कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रममा पनि अतिथिको रूपमा उपस्थित रहेर सभालाई कवि अबीर खालिङ र डुवर्स नेपाली साहित्य विकास समितिका सचिव रबिन खवासले सम्बोधन गरे। सो सभालाई कृष्ण भूजेलले अध्यक्षता गरेका थिए।
याे पनि हेर्नुस्
