अबीर खालिङलाई लीलबहादुर क्षेत्री साहित्य पुरस्कार

अबीर खालिङलाई लीलबहादुर क्षेत्री साहित्य पुरस्कार


बाग्राकोटः डुवर्सका विशिष्ट साहित्यकार अबीर खालिङलाई लीलबहादुर क्षेत्री स्मृति पुरस्कार प्रदान गरिने भएको छ। लीलबहादुर क्षेत्री फाउण्डेशनका मूल सचिव डा. खगेन शर्माले यसको घोषणा गरेका हुन्। नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलबहादुर क्षत्रीको नाउँमा बर्सेनि प्रदान गरिँदै आएको ‘लीलबहादुर क्षत्री साहित्य पुरस्कार’ यसपटक डुवर्सेली कवि एवं कथाकार अबीर खालिङलाई उनको कथा सङ्ग्रह ‘विस्थापन’-का लागि प्रदान गरिने फाउण्डेशनले जनाएको छ। खालिङको ‘विस्थापन’ सन् २०२४ मा प्रकाशित भएको थियो भने लेखनशिल्प, कथाकारिता र विषयवस्तुको दृष्टिले यसलाई उल्लेखनीय कृतिको रूपमा हेरिएको छ।
पुरस्कार चयनको निम्ति ‘लीलबहादुर क्षत्री फाउण्डेशन’-ले तीनजनाको एक निर्णायक समिति गठन गरेको थियो। यस चयन समितिमा असमका साहित्यकार/समालोचक रुद्र बराल (संयोजक), सिलगढ़ीका आख्यानकार/नाटककार मुक्तिप्रसाद उपाध्याय र तेजपुरका वरिष्ठ कथाकार खड्गबहादुर कौशिक रहेका थिए। पुरस्कारमा २५,००० रुपियाँको नगद राशि, मानपत्र र अङ्गवस्त्र सम्मिलित रहने जनाइएको छ।


पश्चिम बङ्गाल राज्यको दार्जीलिङ जिल्लास्थित बिजनबारी निवासी, हाल डुवर्सवासी ५८ वर्षीय अबीर खालिङ नेपाली साहित्यका स्थापित कवि तथा आख्यानकार हुन्। शिक्षण पेशामा संलग्न उनी स्नातकोत्तर हुन्। उनका सातवटा मौलिक कृतिहरू प्रकाशित छन्। ‘प्रतिशोध एउटा तिरस्कारको’ (बाल उपन्यास, १९८२), ‘बालुवाको पहाड़’ (कथा सङ्ग्रह, १९८७), ‘अबीरानुभूति’ (कविता सङ्ग्रह, १९९५), ‘अक्षर-उत्सव’ (कविता सङ्ग्रह, २००७), ‘दार्जिलिङ मेटामर्फोसिस’ (कथा सङ्ग्रह, २०१९), ‘विस्थापन’ (कथा सङ्ग्रह, २०२४) र ‘डुवर्स क्लिपिङ्ग्स’ (२०२४) उनका प्रकाशित कृति हुन्। उनको कथा सङ्ग्रह ‘दार्जिलिङ मेटामोर्फोसिस’-लाई प्रतिष्ठित अनुवादक सुवास दीपकले हिन्दीमा अनुवाद गरी गत वर्ष प्रकाशमा ल्याएका छन्। खालिङले केही महत्त्वपूर्ण पुस्तकहरू पनि सम्पादन गरेका छन्, जसमा ‘कितापसिंहः कीर्ति र कृति’ (कितापसिंह राई स्मृति ग्रन्थ), ‘हस्ताक्षर’ (साहित्यिक पत्रिका), ‘अवलोकन’ (सर्वभारतीय कथा विशेषाङ्कसहित अन्य अङ्कहरू), ‘नयाँ संवाद’ आदि प्रमुख छन्। उनलाई प्रतिष्ठित ‘शोभाकान्ति थेगिम स्मृति पुरस्कार’ (२०२३) सहित अन्य पुरस्कार र अभिनन्दनहरू प्राप्त भएका छन्।
लगभग चार दशकदेखि नेपाली साहित्य साधनामा समर्पित अबीर खालिङ एक सशक्त आख्यानकार हुन्। नेपाली साहित्यको समृद्धि र उत्थानमा उनले पुऱ्याएको योगदानको उच्च कदर गर्दै लीलबहादुर क्षत्री फाउण्डेशन (ट्रस्ट)-ले खालिङलाई यो पुरस्कार प्रदान गर्नलागेको संस्थानका मूल सचिव डा. खगेन शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ। आगामी १ मार्च गुवाहाटीमा आयोजन हुने एक भव्य समारोहमा खालिङलाई यो पुरस्कार प्रदान गरिनेछ। पद्श्री लीलबहादुर क्षत्रीकै बाहुलीबाट खालिङलाई अलङ्कृत गरिने पनि जनाइएको छ।


Leave a comment