असम गोर्खा सम्मेलन (अगोस) -बाट सिकौँ, असमबाट सिकौँ

                                                                                      अजय खड्का

  असमेली गोर्खालीले पाए माटो

म हिजो राती गुवाहटी आइपुगेँ। एकाध दिन ब्रह्मपुत्रको छेउछाउ चहार्नुलाई। असमेली गोर्खालीको अभिभावक संगठन असम गोर्खा सम्मेलन (अगोस)– ले असमेली गोर्खाहरूको लागि माटो (भूमि)  अधिकार सुनिश्चित गर्न चेष्टारत छ भन्ने थाहा थियो। अन्य संस्था र महानुभावहरू पनि अगोस-सित काँधमा काँध जोडेर यो मुद्दाको हल खोज्न तल्लीन थिए भन्ने पनि थाहा थियो। भर्खरैमात्र अगोस-ले सीएम हेमन्त विश्वशर्मासित गुरूत्वपूर्ण बातचित गरेको र असम सरकार गोर्खा जातीय मागमुद्दाप्रति एकदमै सकारात्मक रहेको अगोस अध्यक्ष कृष्ण भुजेलज्यूले जनाउनुभएपछि म उत्साहित थिएँ। किनभने असमसित  मेरो प्रगाढ भावनात्मक सम्बन्ध छ। तर अगोस र सीएम बातचितको दुई दिनपछिनै विधानसभाबाट गोर्खाहरूले तीनपुस्ताको कागजात नदेखाई माटोको मालिकाना हक पाउने सीएम सा’बले घोषणा गरेपछि अहिले असमेली गोर्खाली हर्षविभोर छन्। यता एउटा अराजनीतिक संस्थाले काइदा चालेर असमेली गोर्खालीलाई मूलबासीको दर्जा, भूस्वामित्व र अन्य विशेषाधिकार दिलाइरहेछ। बेतुके हाँक र होहल्ला नगरीकन अपत्यारिलो पाराले अग्रस्थानमा अग्रसरित छ। आग्सु, अनेसास-संस्थालगायत अन्य हस्तीहरूसँग सुझबुझपूर्वक सहकार्य गर्दै असमेली गोर्खालीको कल्याणमा उदाहरणीय कार्य गर्दै आएको छ। पूर्व सांसद स्व. मणिकुमार सुब्बा र पूर्व सांसद आरपी शर्मापछि अध्यक्ष बन्नुहुने कृष्ण भुजेल एक प्रखर जातीय चिन्तक हुन्। जातीय माग अदाय गर्न सम्पूर्ण साधन-संसाधन र जुक्ति झोँकेर अविराम कदम अघि बढाइरहनुभएको छ। यत्रो विशाल राज्यमा जुवाडेले फ्याँकेको गोटीजस्तै छरपस्ट फैलिएका गोर्खालाई एकसुत्रमा बाँध्नु अनि सबैको दर्द दशा छिचोल्दै उपचारमा दिगो काम गर्नु बेहद चटारो हुँदै हो। यद्यपि असम्भवलाई सम्भवमा फेर्ने ल्याकत छ उहाँसित। अगोससित। एनआरसी-को तनाव तरेर नागरिकता सुनिश्चित गरेकालेनै असमेली संघ–संस्थाको योगात्मक पहल हेर्न पाएको सम्झँदैछु।

अजय खड्का
अजय खड्का

० असमबाट सिक्नुपर्ने पाठ :

सर्वविदितै छ, भारतीय नेपालीभाषी गोर्खा दार्जीलिङलाई अभिभावक र अग्रज मान्दछन्। दार्जीलिङ बिसन्चो हुँदा भारतभरिकै नेपालीभाषी गोर्खालाई बेचैनी हुँदछ। तर बेचैनी फालेर आफ्नै बुतामा आफ्नो किल्ला दर्हो गाड्ने उद्देश्यमा लागिपरेपछि अहिले दार्जीलिङको घाउ निको नभई असमेलीले आफ्नो घर–घडेरी बलियो ठड्याएर पनि सफलता चुमिसके। असमेली गोर्खा बाबू डम्बरसिंह गुरूङ, बाबू छबिलाल उपाध्याय, दलवीरसिंह लोहार, सेते मंगर लगायत सम्पूर्ण अग्रजप्रति श्रद्धाभाव राख्दछन्। बाबू डम्बरसिंह गुरुङले भारत स्वतन्त्र हुन अघावै असम आएर असमेली गोर्खालाई जागृतिको मशाल थम्याइदिएको घटना विशेष स्मरणीय छ। आज त्यही जागृतिको अभियानले समयको लय पक्रेर दिनहुँ उपलब्धिको किल्ला ठड्याउँदैछ। असमजस्तो विरोधाभाषपूर्ण विविध र विस्तृत राज्यमा अस्मिताको लडाइँ हाँक्नु सहज छैन। त्यही असहजलाई सहज बनाउने काइदा जुराए। हामी उता एक थुम्का धरि एकढिको छैनौँ। आपसमा जुझ्दाजुझ्दै सिङ झरिसक्यो, ज्यान गलिसक्यो।

असम
असम

अल्पकालीन सानो उपलब्धिमा रमाइरहँदा अनि राजनीतिज्ञ आपसी लुछाचुडमा मग्न रहँदा मूल फल उम्किसकेको पत्तो छैन। खण्डखण्डमा, जातजात र स्वार्थस्वार्थमा विभाजित छौँ। माग छ एउटा प्रस्तुति छ अर्को। परिणाममुखी जातीय चेतनाको साटो हाम्रोतिर रनक्क तात्तेर छपक्क सेलाइजाने जातीय आवेग छ। रित्तो गाग्रीजस्तो हाम्रो उता पोथी कुखुराले अण्डा पारेर हल्ला गरेभन्दा धेर होहल्ला हुन्छ,प्रतिफल शून्य। हाम्रो चाहिँ भएको पनि गुमाउँदै गरेको स्थिति छ। धेरै मुख बायो,धेरै दु:ख पायो। हामी जातीय चिनारी भन्दै लड्दैपड्दै नचिनिने अवस्थामा पुगिसकेका छौँ। ठ्याक्कै अगमसिंह गिरीको कविता ‘तिमी त यहाँ नचिनेने भएछौ’ जस्तो। ‘न गाँसको ठेगान, न बासको ठेगान, बितिगयो सित्तैमा जोबन’ हाम्रो हाल यस्तो छ। हामी आवेगले शेष। असमेली गोर्खा विवेकले विशेष। हाम्रा होहोरीमा, असमेली होशयारीसाथ। बीस वर्षअघिसम्म भीरको चिण्डोजस्तो अवस्थाका असमेली गोर्खाली अहिले राज्यको अभिन्न अंग बन्न समर्थ छन्। असममा जारी हिंसाको लामो कालखण्डमा विभिन्न प्रताडना झेल्दै पनि अविचलित भई डटिबसे। दर्जनौँ हृदयविदारक घटनाको पिडा खपेर पनि हतासिएनन्। अहिले त्यही असीम धैर्यले फुल पार्दैछ। सरकार र समाजले मर्यादा र प्राथमिकता दिइरहेको देख्दा सुखानुभव हुँदछ। राज्यका विभिन्न उच्च ओहदामा स्वजातिका महानुभावहरू लछेप्रै देख्दा गर्वानुभाव हुँदछ। नेपालीसँगसँगै असमीय भाषा पनि सबैले फटटट बोल्ने गर्छन्। आज असममा गोर्खा सुरक्षित र मर्यादित जातिको रूपमा प्रतिष्ठित छन्। छरपस्ट हुँदाहुँदै। हामी यहाँ एकै भूगोलमा एकढिको छौँ, तरैपनि किन अलपत्र ? नमच्चिने पिङको सय झट्का प्रवृत्तिको कमाल हो भन्दा अत्युक्ति नहोला। दार्जीलिङ-कालेबुङ पहाड, तराई र डुवर्स छिन्नभिन्न छ। गोर्खाल्यान्डको एकतारे बजाएरै एउटा लामो कालखण्ड गुमायौँ। चक्रव्यूहमा गोर्खा भन्दै चक्रव्यूहमा रम्दै राजनीतिक संस्कृतिले गर्नुगर्यो। असमलाई हेरौँ। असमभरीका छरपस्ट गोर्खालीलाई एकसुत्रमा बाँध्न अनि न्यायाधिकार दिलाउन सक्षम अगोस-को सत्प्रयास अतुलनीय छ। सर्वभारतीय गोर्खालीले सराहना गर्नुपर्छ। अनुसरण गर्नुपर्छ। आग्सु र अनेसास-लगायत सम्पूर्णको गुणगान गरिनुपर्छ। यो विराट जित हो। आत्ममुग्ध नभई थाँतीका मुद्दा बोकेर प्रगतिपथमा लागिरहन हार्दिक सुझाव पस्कँदछु। बधाई- असम गोर्खा सम्मेलन। बधाई असमेली गोर्खा।

याे पनि हेर्नुस्

Leave a comment