अतीतका ती दिनहरू
झमक्क साँझ पर्यो
चराचुरुङ्गी गुँड पस्यो
बाख्रापाठा खोर पस्यो
खेतालाहरू घर फर्किए ।
दियो बाल्ने बेला
हजुरआमाको
रामायण पाठ गर्ने बेला
हामी रामायण सुन्न अति व्यस्त
तथा अभ्यस्त समय ।
सधैँ परे झैँ
यसैगरी पर्थ्यो गाउँमा साँझ
धूप–दीपले सुगन्धमय हुन्थे गाउँका
प्रत्येक घर, बाटो र गोरेटो
शङ्खध्वनिको तरङ्गले भाग्ने गर्थे निशाचर पिशाचहरू
सारा वातावरण रामायणको सोरले सङ्गीतमय हुन्थ्यो ।
हिजोआज साँझ ढोकादेखि भित्र पस्दैन
बिहान अबेरसम्म नब्युँझिने बैँस
साँझमा फुत्त बाहिर निस्किन्छ
अनि सक्रिय हुन्छ
कुनै सुनसान सडकको कुनामा
पार्कमा अथवा गुमनाम गल्लीमा
अभिन्न अवस्थामा ।
कलिलो साँझमा
समयकालीन समाज उत्रिन्छ सडकको बीचौँ बीच
कुनै मदिराको प्याला भई
प्याट्ट फुट्न तत्पर छ स्वयम् ।
फरक यति छ
हिजो हाम्रो अनपढ समाज
पिँढीमा बसी साँझमा
रामायण फलाक्ने गर्थ्यो
आज फोर जी र फाइभ जी– मा
भानुभक्तलाई खोज्दै भौँतारिएको छ ।
देवकोटाले गोसाइँ गाउँमा देखे झैँ
मैले पनि सुनेकी छु
भानुभक्तको रामायण
अतीतका साँझहरूमा हजुरआमाको मुखबाट
स्वच्छन्द समाजका रमाइला साँझहरू बिताएकी छु ।
अस्ति भर्खरै साँझपख निम्तो पाएँ
आदिकविको २११ औँ जयन्तीमा रामायण पाठको
सुनौलो अवसर कसले गुमाउने !
निम्तो पाइसक्दा
ठ्याक्कै मोबाइल खोलेर
सरु गुरागाईंलाई सर्च गरेँ
आः …आः…. ! जाबो नेट
“कति घुम्नु ! तेरो लै –लैमा
भो घुम्दिनँ“ भन्दै
भित्र पसी सरक्क रातो तुलले बेरेको रामायण निकालेँ
देउताकोठामा दियो बलिरहेको थियो
त्यसैको भरमा म रामायण पाठ गर्न थाले।