बाढीको जोखिम कुर्दै गरगन्डा टीजी इस्ट प्राइमरी स्कूल

बाढीको जोखिम कुर्दै गरगन्डा टीजी इस्ट प्राइमरी स्कूल।

मदारीहाट : मुसलधारे वर्षाले गर्दा मदारीहाट ब्लकको बाङ्गरी नदीमा ठूलो बाढी पसेको छ। बाङ्गरी खोलाको कटानका कारण गरगन्डा टीजी इस्ट प्राइमरी स्कूल उच्च जोखिममा परेका छन्। कुनै पनि समय खोला पसेर स्कूल भत्कने खतरा देखिएको छ।
स्थानीय बासिन्दाहरूले जनाए अनुसार खोला विद्यालय नजिकै करिब १०० मिटर नजीक आईपुगेको छ भने यसले गाउँलेहरूमा व्यापक त्रास छाएको छ।


यसरी नै खोलाको कटान जारी रह्यो भने विद्यालय छिट्टै खोलामा बग्ने आशङ्का गरिएको छ। यस विद्यालयमा कक्षा ५ सम्म जम्मा ७७ जना विद्यार्थी अध्ययनरत छन्। यसरी लगातार नदी कटानले अभिभावकमा चिन्ता बढाएको छ। विद्यालयका प्रधानाध्यापक टीबी छेत्रीले बाङ्गरी खोला विद्यालयसम्म आइपुगेको बताउँदै भङ्गालो अझै दुई–तीन पटक उर्लिएर आएमा विद्यालयको भवन खोलाले बगाउने आशङ्का व्यक्त गरेका छन्। यसबारे पञ्चायत समितिलाई अवगत गराएको पनि प्रधानाध्यापकले जनाएका छन्।


मदारीहाटका बीडीओले पनि सिँचाइ विभागका इन्जिनियर साथमा लिएर निरीक्षण गरेर गएको र यसको रिपोर्ट तयार गरेर सम्बन्धित विभागमा पठाइने जनाएका छन्। बाङ्गरी खोलाको भङ्गालो बाढीको कटानले जोखिममा रहेका शैक्षिक संस्थाको सुरक्षामाथि यतिखेर प्रश्नचिन्ह तेर्सिएको छ। यदि बेलैमा कदम नचालिए थप विपत्ति आउन सक्ने प्रबल आशङ्का बढेर गएका छन्।

र याे पनि हेर्नुस्


Leave a comment