विस्थापन

कथाकार अबीर खालिङद्वारा लिखित कथा विस्थापन

यो तपाईँको कथा हो। मेरो कथा हो।
हाम्रो साझा कथा हो।

अबीर खालिङ
अबीर खालिङ

पश्चिम द्वारमा हातमा खुकुरी लिएर घोडामा सवार भएर दुर्गा मल्ल उभिएको देख्दा यो ठाउँ गोर्खाहरूको अभेद्य दुर्ग जस्तो देखिन्छ। उत्तरमा सानो रेल स्टेसन,पूर्वमा कालचिनीसम्म विस्तार पाएको यो डुवर्सको सानो हेमिल्टनगञ्ज बजार हो। यही बजारको दक्षिणी भागमा एउटा बाटोले विभक्त गरेको दुइवटा निकै आवादी भएको गाउँ छ, म बाटावारि सुभाषपल्लीमा बस्छु| बाटापारि नेताजी पल्ली छ। एकैजना नेताजी सुभाषचन्द्रले दुइवटा गाउँलाई परिचय र ओत् दिएको छ।

अङ्ग्रेजहरूले आफ्नो औपनिवेशिक यात्रा विस्तारमा बङ्गाल लिएपछि बिस्तारै हालको उत्तर बङ्गालको यो सिमान्त क्षेत्रलाई आफ्नो अधिनस्थ पाऱ्यो। कोचबिहार,अलिपुरद्वार,जलपाइगढीका विभिन्न स्थानहरूमा चियाको खेती,रेलको लीक बिछ्याउने कार्य आरम्भ गर्दा नेपाली मजदुरहरू नेपालबाट अथवा समीपवर्ती क्षेत्र दार्जिलिङबाट ल्याइए। हेमिल्टन साहेबले यो हेमिल्टनगञ्ज बजार बसाउँदा थुप्रै आसेपासे गोर्खालीहरू थिए। कति गोर्खाली परिवार भुटानका राजा साब्दुङ नावाङ नाम्ग्येलले गोर्खाका राजा रामशाहलाई सन् १६२४ मा भेटेर आफ्नो देशको रक्षाको निम्ति लडाकु फौज मॉंगेर लॉंदा यतै छोडिएका थिए। यसरी गोर्खाहरूको उपस्थिति यो भेगमा धेरै अघिको भन्ने स्वत: जाहेर हुन्छ ।

आइतवार
हाटको दिन। अङ्ग्रेजी जुन महिनाको भाभर। काग हर्हरिएर सियॉंल खोजिहिँड्ने याम छ। दिन पसिनाले लान्छ,रात उकुसमुकुसले बित्ने बेला छ। अलकत्रे बाटोले तातो सास फ्यॉंक्छ,माटोले गरम श्वास फेर्छ र घरका भित्ता र छानोले आगो उगेल्छ। यस्तो भाभरमा पनि हेमिल्टनगञ्जको आइतवारे हाट भरिलो नै लाग्छ।
वरिपरि धेरै चियाबारीहरू छन् । वनबस्तीहरू छन् । क्रेता चियाबारी र वनबस्तीबाट,विक्रेता अलिपुरद्वार, जयगाउँ, कोचबिहारसम्मबाट आउँछन्। व्यापारीहरू बङ्गाली, बिहारी, मारवाडी छन्, ग्राहक नेपाली र आदिवासी छन्। गरम, भिड र घुइचोँले भरिएको आइतवारे हाट दिनभरि व्यस्ततामा बित्छ।
दिनको गर्मी र भिडदेखि बॉंच्न म सँधै बेलुकीको चार बजेतिर हाट भर्न निक्लने गर्छु। एक्लो मान्छे, अलिकति ताजा सब्जी र माछा मासु भए मलाई पुगिहाल्छ। तर त्यसै पनि सब्जी हेर्दै, माछा हेर्दै, नयॉं केही छ कि भन्दै म हाट निकै घुम्ने गर्छु।
केही परिचीत छन् मेरा,धेर अचिनारू अनुहारमा साइनोको घाम खोज्नु होइन, नयॉंपनको झरनामा नुहाउनुको स्वाद मलाई आल्हादकारी लाग्छ। म त्यही आनन्दमा हाट घुमिहिँड्छु।
घाम डॉंडाबाट खसेपनि उसको ताप र राप धरतीबाट हटेको छैन।
आवश्यक सामग्री झोलामा झुन्ड्याएर डेरातर्फ फर्कन लोगेको थिएँ। मेरो आँखा एउटा खॉंटी नेपाली बुढो ज्यानमा पर्योक। बुढा गर्मीले गलेका थिए। उमेरले पनि थकाएको थियो। ज्ञानशून्य अवस्थामा पुगे जस्ता थिए। बङ्गाली व्यापारीहरूलाई नेपाली भाषामा के के सोध्दै हिँडिरहेका उनी निरूत्साहित भएर हाटघरको एउटा कुनामा थन्किएर बसेका थिए। बङ्गालीबहूल क्षेत्रमा एकजना नेपाली बृद्धलाई अल्मलिएको देखेपछि मेरो मन अचानक ऊतिर तानियो। म लुरुलुरु ऊ भए ठाउँमा गएँ।

घामले लामो राज गरेर मन नगरीनगरी धरती छोडने याम छ। अब केही समयपछि धरतीमा रातले राज गर्नेछ। हाट भर्नेहरू पात्लिसकेका छन्। हाटवालाहरू अब फर्कने तरखरमा छन्। यो श्वास यन्त्रलाई जिउँदो राख्न मानिसले सुरू गरेको जप अब समाप्तिको सङ्घारमा छ। बजार र हाटहरू मान्छेको आवश्यकतालाई सुविधा दिन बुनिएको एउटा योजना न हो।
गर्मीले रापिएको अनुहार र निधारमा पसिनाका धारा। बाक्लो सुतीको कपडाको दौरासुरूवाल। टाउकोमा अलि पुरानो ढाकाको नेपाली टोपी। एउटा झोलामा लत्ताकपडा र त्यही झोलामा अडेस लागेर बुढा पसिना पुच्दै बसेका थिए। देखेपछि मलाई, उनको आँखा उज्यालो भयो। म पनि त पसिनाले निथ्रुक्क थिएँ । दार्जिलिङमा जन्मिएर हुर्केको मान्छे म, मधेसमा राम्ररी रत्तिएको थिइनँ। दार्जिलिङे औसत शिक्षित युवकले भोग्नु पर्ने आम समस्यामा पिरोलिएर म पनि यो बिरानो ठाउँमा आइपुगेको हूँ। दार्जिलिङमा दार्जिलिङकै शिक्षितहरूलाई नोकरी गरेर बस्न पाउने ठाउँ छैन। गर्मीको मार मलाई पनि त्यतिकै थियो।
आफ्नोपन र जातीय नाताले म उनीतिर तानिएँ, त्यही कुराले उनी पनि मतिर आकृष्ट भएका थिए। कुनै औपचारिकताबिना मैले संवाद सुरू गरेँ-
‘कहॉंबाट पाल्नु भएको बाजे, कहॉं जानु भाको?’
अलिकति सङ्कोच र विपदिलो लवजमा उनको वाणी फुट्यो-‘माथि ताप्लेजुङबाट फतिजो खोत्दै हिरेँको हौ नानी, कुन मुलुक पो आइपुगेर मरेछु।’
खॉंटी लिम्बू बोली छ बुढाको।
‘कहॉं बस्छ तपाईँको भतिजो, नाम के हो?’
‘नाम त के रे थाहा छैन,धनहाङ त्यसको बाउ। यो हेमिन्टन बजार होइन के?’बुढाको बोलीमा विपत्ति बाक्लिएको छ।
अब बङ्गालीबहूल क्षेत्रमा कता धनहाङ खोज्ने, कसलाई सोध्ने? रात हतारिएर झरिरहेछ धरतीतिर। बुढाको बासको र गॉंसको टुङ्गो छैन। एकरात बास दिएपछि बुढाको कोही आफन्त फेला पर्ला नि त। सोचेँ र भनेँ-
‘यो यत्रो फैलिएको ठाउँमा कहॉं खोज्नु तपाईँको आफ्नो मान्छे अहिले । जाऊँ मसँग। आज मेरो डेरामा बस्नुहोस्, भोलि म यताउता सोधखोज गरिदिउँला।’
बुढाको आँखा र अनुहार धपक्क बल्यो, यो विरानो मुलुकमा यस्तो प्रस्तावको उसलाई रत्तिभर आशा थिएन।
हाम्रो संवादको साक्षी उभिएको बुढो सुर्य पनि पश्चिम क्षितिजमा विलीन भइसकेको थियो।
हातमा साहरालाई तोक्मा र पिठ्युँमा त्यही कपडाहरूको झोला बोकेर बुढा चुपचाप मेरो पछि लागे। म अभिभावकसरह अघिअघि डेरालाई लक्ष्य बनाएर हिँड्न थालेँ।
‘लाखे है नानी, यतै कता हामी धाननाच हेर्न आउँथ्यौँ। लिम्बूहरू यतै धान बेच्न पनि आउँथे।’
उभिएर ठिम्याएझैँ गरेर अहिलेको धानहाटी लाइन बुढाले हेरे। अहिलेको हेमिल्टनगञ्जमा लिम्बूहरूको धाननाच कल्पना बाहिरको कुरा थियो। लिम्बूहरू छैनन् अहिले तर धानहाटी छ, धानको हाटमा भेला भएर लिम्बूहरू सायद धाननाच नाच्थे होलान् कि, मैले मौन कल्पना गरेँ।
हामी हेमिल्टनगञ्ज मूल बजारदेखि दक्षिणतिर तेर्सिएको सुभाषपल्लीतिर लम्किरहेका थियौँ।
‘नेपाली नै औँलामा गन्न सकिनेमात्र छन्, केको यहॉं धाननाच हुनु बाजे?’ मैले वास्तविकता बताएँ। पसिना पसेर धमिलो भएको दृष्टि सफा गर्दै बुढा बोले-‘कहॉं र नानी, हामी केटकेटी हुँदा त यो आइतवारे हाटमा त खाली नेपाली टोपी र चौपन्ती (चौबन्दी) चोली लाउने पो थेर (धेर) हुन्थ्यो त। एस्तो बाक्लो खर (घर) नै थिएन । जता गोयो उतै नेपाली ठोक्किने।’
आफू स्टेट बैँकमा नोकरी पाएर यहॉं आएको भर्खर छ महिना हुँदैछ,यो ठाउँको इतिहास कसरी जान्नु। बुढाको कुराले कुतूहल उत्पन्न गरायो।
‘रात खसिहाल्यो नानी,ठाउँ देखेको भा मेञ्जो आफ्नो पुरानो ठाउँ थाहा पाउँथे कि।’ बुढाले बिजुली बल्न थालेको हेमिल्टनगञ्ज बजारलाई एकपल्ट राम्ररी नियालेर हेरेर भन्यो।
‘अब भोलि उज्यालो भएपछि हेर्नुहोस्।’ मैले बुढाको आफ्नो ठाउँ पहिल्याइहाल्ने घिटघिटोलाई शान्त पार्न भनेँ।
बत्ती बाल्ने हात नभएपछि डेराको बार्दली अँध्यारो भएर ठुस्किएकी रहिछ,बिजुली बलेपछि उज्यालिएको डेरालाई देखाउँदै भनेँ,-‘ किरायाको कोठा हो,दुइटा ससाना कोठा छन्, दु:खसुख रात काट्न सकिन्छ होला नि बाजे।’
‘अरे हाऊ, परदेसमा नानी त देउता पो, नाभा कल्ले पो बोलिदिन्छ अचिनारू मान्छेसँग।’ कृतज्ञता जाहेर गर्ने बुढाको शैली मन पर्योन मलाई।
भान्साकोठासँग हारिएर बनेको सानो कोठामा बुढालाई सुत्ने-बस्ने व्यवस्था मिलाइदिएँ र पिउनलाई पानी दिएँ । आफ्नो सामान ओछ्यानमा राखेर उनी हातगोढा पखाल्न गोसलखानमा पसे। आफूलाई र बुढालाई भनेर चिया बनाएँ र कुकरमा भात बसाएँ। भातको सिटी लाग्दा बुढा नयॉं ऊर्जासँग चिया पिउँदै बोलिरहेका थिए-
‘हाऊ,ताप्लेजुङबाट हिजो हिरेको, अघि त हप्तादिन लागेको, आइले ई आजै पो यहॉं पहुना खॉंदैछुङ। के उदेकको जमाना आइगोयो।’
तरकारी चलाउँदै मैले बुढाको कुरालाई अघि बढाएँ-,‘पहिला ऐलेजस्तो रेल, गाडी आदिको व्यवस्था थिएन, हिँडेर जहीँ पनि पुग्नु पर्ने। अनि ताप्लेजुङको मान्छे तपाईँ,कसरी आफ्नो मान्छे हेमिल्टनगञ्जमा खोज्दै आउनु भयो?’
बुढा केहीबेर नबोली आँखा चिमचिम गर्दै टोल्हाइरहे। अतीतको सघन वन चिर्न बुढाको बुढो भएको भुत्ते मस्तिष्कको बञ्चरो असक्षम भएझैँ लाग्यो। चारकोरी नाघेको ज्यानले सम्झनलाई कति धेर सम्झनाका थाकहरू होलान्, उमेरका एकेक पाप्राहरू उप्काउँदै यादको घाममा सुकाउनु कठिन कार्य नै होला।
‘म कान्छीआमासँग जुझेर यहॉंबाट हिरेको। दुई वर्षको हुन्दा आमा पोलिखाको आरे। बाउले आफ्नै कान्छीसाली भित्र्याएको भन्थ्यो तर छेमाको जस्तो व्यवहार चैँ थिएन। बाख्रा गोठालो गर्नु पर्ने बैनी आङमा बोकेर। एकदिन त सबै बाख्रा धानबारीमा पसेर मरेछ, हाउ… बाबु पनि कुट्ने, कान्छीआमा पनि कुट्ने, एसो हेरेको त एउटा ढुङ्गा खुट्टा छेवमा पल्टिराखेको रैछ। त्यै ढुङ्गा टिपेर कान्छीआमाको निधारमा ड्याम्म हानिराखेर हिरेको। ई…आजमात्तै त यो ठाउँ टेक्दैछु।’ यति भनेर बुढा बिसाए।
अतीतको बाक्लो अँध्यारो गुफालाई चिर्दै बुढाले स्मरणको पोया फुकाए-‘मो माथिको एउटा दिदी,मो मुनिको एउटा भाइ। भाइ त बङ्गाली र नेपालीको झगरामा परेर उहिल्यै मोरिगोयो भन्छ। फतिजो र बुहारी,नातनातिना त येई ठाउँमा छ भन्छ।’
कताकता सुनेको थिएँ एकपल्ट बङ्गाली र नेपालीबिच हिंसा फैलिएको कुरा। सिनेमा हल जलाइएको,आइतवारको हाटकै दिन, धेरै अञ्जान र बेकसुरहरूको ज्यान गएको । सायद त्यही हिंसामा बली चढे होलान् उनका भाइ,सोचेँ।

न भतिजोको नाम थाहा छ,न ठाउँको सठिक जानकारी। कुन भरोसा र आँटमा यो उमेरमा यहॉं आएका होलान्। बुढा गरम र थकानले लोलाउन खोज्दै थिए। मैले अबेर नगरी दुइजनाकै निम्ति खाना पस्किएँ र चिया राखिदिएकै सानो टेबलमा भातको थाल राखिदिएँ।
‘हाऊ, नानीलाई दुखो दिइपठाएँ र मरेँ हाऊ यो उमेरमा।’ अलिअलि हॉंसेर बुढा बोले।
‘के को दुःख, ई म एक्लै भएपनि पकाउन नै पर्ने। तपाईँको साथले पो झन भान्सा उज्यालो भो मेरो।’ यति संवादपछि चुपचाप खाना खायौँ।
रातको नौ बज्नलाग्दा ओछ्यान पस्ने तर्खरमा थियौँ हामी। सुत्नभन्दा धेर बुढा बोल्न खोजिरहेका थिए। उकुसमुकुस र छटपटी छ बुढाको छातीभित्र बुझेर सोधेँ-‘निद्रा परेन कि क्या हो बाजे?’
‘यता कतापट्टि हो कोनि,लिम्बूहरूको ठुलो गाउँ थियो। बीसबीस मुरी धान फल्ने खेतबारी थियो। दिउँसै स्याल कराउँथ्यो, बाघले खसीबाख्रा बोक्थ्यो। पर…परसम्म लिम्बूहरूको नाम थियो। मनहाङ हाम्रो बाउको नाम। काठको दुइतल्ले घर थियो। आबो लिम्बूको गाउँ कसरी खोजेर मर्नु, सुर्ताले आँखा लाग्न दिँदैन होला नानी ।’ बुढाको छटपटी बाहिर आयो।

हेमिल्टनगञ्जको दक्षिण किनारमा एउटा बाटो छ जसले सुभाषपल्ली र नेताजीपल्लीलाई दुइफ्याकमा बॉंडेर सोझै डिमा चियाबारीमा ठोकिन्छ। बाटाका दुवैतिर च्याउजस्तै घर उम्रिएका छन्। बङ्गाली जातिको बाक्लो जनघनत्व भएको यो क्षेत्रको आवादी सन् १९७१ पछि बढेको हो। धार्मिक असहिष्णुता र कामको खोजले बङ्लादेशबाट धेरै शरणार्थीहरू पलायन भएर यो क्षेत्रमा स्थायी रूपले बसोबासो गर्न थाले।
बुढाको चिन्तित वाणीले म पनि चिन्तामा एकक्षण डुबेँ। सोधेर, खोजेर टुङ्गो लगाउँछु भन्ने विश्वासले फेरि ढुक्क हुँदै बुढालाई निश्चिन्त निदाउन आग्रह गरेँ र आफू पनि ढल्किएँ। आँखालाई निद्राले आक्रमण नगरिञ्जेल नेपालीहरूको अस्थिर मानसिकता र घुमन्ता जीवनशैलीबारे सोचिरहेँ। बीसबीस मुरी धान फल्ने खेतबारी छोडेर कहॉं गए होलान् ती लिम्बूहरू। आज लिम्बूहरूको दुमोदसी छैन।
सिलगढीमा प्रधाननगर छ तर खोई प्रधानहरू। गुरुङ बस्ती छ, खोई गुरुङहरू। तिलकबहादुर राईको खेतबारी पछिसम्म तिलक मैदान थियो, ऐले कञ्चनजङ्गा स्टेडियम भएको छ, कालान्तरमा के हुने हो? चम्पारानी राई गोलाई चम्पासरी मोड भइसक्यो। सोँच्दासोँच्दै भुसक्क निदाएछु।

‘काग काग’ आवाजले पो बिहान भएको सुचना दिइरहेको रहेछ। आँखालाई मोबाइलले बिहानको सॉंडे छ भएको सुचना दिइरहेको रहेछ। बुढाका बिस्तरा हेरेँ,रित्तो ओछ्यान छ। ढोका खुल्लै। हत्तपत्त उठेँ र शौचालयमा हेरेँ, अँह,बुढा थिएनन्। बुढाको पोको पन्तुरो भने सिह्रानीमा बुढालाई पर्खेर बसेको रहेछ।
प्रभाती कर्मबाट निवृत्त भएर चिया पिउनलाग्दा पो बुढा प्रसन्नमुद्रामा आँगनमा देखा परे।
‘येई बाटोले हाम्रो थलो बतायो नानी, लिम्बूहरूको बस्ती येई हो। यो बाटोको टुप्पीमा हाम्रो बाजेले रोपेको बुढो पिपलको रुख छ, त्यही हो निशानी। यतै कता हाम्रो आमाको चिहान छ।’
बुढा खुसीले धपक्क बलेका थिए मानौँ कि ठुलै युद्ध जितेर आएका थिए । वर्तमान वास्तविकतादेखि कोसौँ टाढा उनको खुसीको साम्राज्य थियो।
मैले सम्झाउँदै भनेँ-‘हेर्नुहोस् बाजे,यो बाटोवारि सुभाषपल्ली हो, बाटोपारि नेताजीपल्ली। यहॉं शाह छन्, मण्डल छन्, रोय छन्, मुखर्जी, च्याटर्जी र अन्सारी,खान र अहमदहरू छन्। तर लिम्बू,राई, गुरुङ, मगर छैनन्। तपाईँको भतिजो यहॉंबाट कहॉं बसाईँ सरिसके होलान्, कसलाई थाहा र।’
बुढा अरकच्च परे।

अब यो नेताजीपल्लीमा कहॉं होला मनहाङ लिम्बूको घर र ठेगाना। ठाउँ र ठहर।
गाईवस्तु पाल्न असुविस्ता भएपछि कता जङ्गल खोज्दै लागे होलान्। नेपालीहरू यसरी आफ्नो पैतृक थलोबाट कति कति बसाईँ सरिसके। अस्थिर जीवनशैलीले उपान्तमा पुगिसके रैथानेहरू। अरू जातिको पो ओत दिने नेताजी छ, विवेकानन्द छ,अरविन्द छ। उनीहरूको सालिक रक्षक भएर उभिएको छ।
लिम्बूहरूले गाडेको आमाको लासले कसरी आफ्नो ठाउँँको रक्षा गर्छ र?

याे पनि हेर्नुस्

Leave a comment