अलिपुरद्वार लोकसभा केन्द्रमा भाजपा प्रार्थी मनोज तिग्गा विजयी

कालचिनीः अलिपुरद्वार लोकसभा केन्द्रमा अन्ततः कम्ति मार्जिनमा (२०१९ को लोकसभा चुनाउ परिणामको तुलनामा) भएता पनि भाजपा प्रार्थी मनोज तिग्गाको जीत सुनिश्चित भएको छ। अन्तिम राउन्डमा ६९१५३३ मत हासिल गर्दै ७४०४७ मतको व्यावधानले भाजपा प्रार्थी मनोज तिग्गाको विजय भएको निर्वाचन आयोगले जनाएका छन्।
कुल मत १४१४५९७ मा तृणमूल प्रार्थी प्रकास चीक बडाईकले ६१७४८६ मत हासिल गरेका छन् भने भाजपा प्रार्थी मनोज तिग्गाले ६९१५३३ मत प्राप्त गरेर विजयी बनेका छन्। मंङ्गलवार बिहान ८ बजीदेखि मतगणना शुरु भएको थियो भने शुरुवाती गणनामा तृणमूल प्रार्थी प्रकास चीक बडाईक प्रायः १६०० मतले अघि रहेता पनि दोस्रो, तेस्रो हुँदै अन्तिम २२ राउन्डमा आइपुग्दा भाजपा प्रार्थी मनोज तिग्गाको ७४०४७ मतको पार्थक्यले विजय सुनिश्चित भएको हो। यद्यपि विगत २०१९ को लोकसभा चुनाउमा भाजपा प्रार्थी जोन बारलाले २४३९८९ को मार्जिनमा विजय हासिल गरेको थियो भने यसपालीको मतगणनामा यो मार्जिन ७४०४७ मा आउनु भाजपाको जनाधारमा ह्वास आएको राजनैतिक पर्यवेक्षकहरूले आकलन गरेका छन्। चुनाउ प्रचार अवधि तृणमूलले भाजपा भन्दा बढेर चढेर चुनाउ प्रचार गरेको थियो भने भाजपाले भने चुनाउ प्रचारमा शक्ति नलगाएकोले चुनावी फलाफलमा तृणमूल प्रार्थीको जीत पनि हुनसक्ने अनुमान लगाइएको थियो। तर भाजपाको साइलेन्ट भोट नै यहाँ प्रमुख फ्याक्टर साबित भएको पनि पर्यवेक्षकहरूको भनाई रहेको छ। यता चुनावी हारप्रति तृणमूल प्रार्थी प्रकास चीक बडाईकले टिप्पणी गर्न नमानेता पनि विगत २०१९ को लोकसभा चुनाउको भन्दा धेरै मार्जिनले मतदाताहरूले तृणमूललाई समर्थन गरेको जनाएका छन्। तिनले हारजीत त हुन्छ नै यद्यपि यसको मन्थन पार्टीमा हुने जनाएका छन्। यता विजयी भाजपा प्रार्थी मनोज तिग्गाले मार्जिन घटेता पनि अलिपुरद्वार समष्टिका जनताले आफूलाई म्यान्डेट दिएको र यस समष्टिको समस्या समाधान र विकासको काम गर्न केन्द्र र राज्य दुवै सरकारसँग सम्बन्ध राखेर गरिने र चिया उद्योगमा भइरहेको समस्या समाधानको बाटो खोजिने मनोज तिग्गाले जनाएका छन्।

Leave a comment