डुवर्सको प्रथम साहित्यिक पुरुष तथा स्वाधीनता सेनानी स्व. हैकम सिंह राईको सालिक अनावरण हुने

कालचिनीः डुवर्सको प्रथम साहित्यिक पुरुष तथा स्वाधीनता सेनानी स्व. हैकम सिंह राईको सालिक स्थापना साथै ३३औँ नेपाली भाषा मान्यता दिवसको अन्तिम तयारी चलिरहेको जानकारी हैकम सिंह राई सालिक निर्माण कमिटीको उपाध्यक्ष रतन छेत्री र डुवर्स नेपाली साहित्य विकास समितिको मूलसचिव रबिन खवासले संयुक्त रुपमा दिएका छन्। शनिबार डुवर्सको सुदुर पूर्व कुमारग्राम खण्डको हात्तीपत्ता बजीरस्थित सन साइन मोडल स्कूलमा बसिएको हैकम सिंह राई सालिक निर्माण कमिटी, सृजनशील समूह र डुवर्स नेपाली साहित्य विकास समितिको संयुक्त सभाले आगामी ३१ अगस्तको दिन डुवर्सको प्रथम साहित्यिक पुरुष तथा स्वाधीनता सेनानी स्व. हैकम सिंह राईको सालिक स्थापना तथा अनावरण गरिने र यसै उपलक्ष्यमा ३३औँ नेपाली भाषा मान्यता दिवस एवम् भानु स्मरण समारोहको आयोजना पनि निधो लिएको बताइएको छ।
उक्त सभामा हैकम सिंह राई सालिक निर्माण कमिटीको सचिव वसन्त राई, उपाध्यक्ष रतन छेत्री, कोषाध्यक्ष विजय गोम्देन, एवम् डुवर्स नेपाली साहित्य विकास समितिको अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, मूलसचिव रबिन खवास, जीवन सुनार, सृजनशील समूहको अध्यक्ष महिपाल सुब्बा, सचिव ज्ञानलाल दर्नाल, संयोजक अबीर खालिङ एवम् अन्यान्यको उपस्थिति रहेको थियो। आगामी ३१ अगस्तको दिन डुवर्सको प्रथम साहित्यिक पुरुष तथा स्वाधीनता सेनानी स्व. हैकम सिंह राईको सालिक स्थापना आफैमा डुवर्सको पटभूमिमा ऐतिहासिक क्षण हुने र यसै उपलक्ष्यमा डुवर्स नेपाली साहित्य विकास समितिको पक्षबाट दिने डुवर्स गौरव सम्मान पनि यसपाली डुवर्सको चर्चित लिजेन्ड गायक इन्द्रजीत मिजारलाई दिने बताइएको छ।
डुवर्सको कुमारग्राम खण्डको मैनाबारी कैँजले बस्तीमा जन्मिएका हैकमसिंह राई डुवर्सको प्रथम साहित्यिक पुरुष तथा स्वाधीनता सेनानी हुन् र उहाँकै जन्मस्थानमा सालिक राख्ने निर्णयले डुवर्सको इतिहासको गरिमालाई सुशोभित गर्ने साहित्यिक प्रतिनिधिहरूले मन्तव्य गरेका छन्।

Leave a comment