गोरुबथानमा गोर्खे हाट शुभारम्भ

१२० वर्षको इतिहास बोकेको गोरुबथान सोमबारे बजारमा गोर्खे हाट

गोरुबथानः १२० वर्षको इतिहास बोकेको गोरुबथानस्थित सोमबारे बजार पहाडकै एक धरोहर हाट हो। यसको गरिमामयलाई थप कसी लगाउन बिहीवारदेखि गोरुबथान गोर्खे हाट शुभारम्भ भयो। स्वनिर्भर गोरुबथान, सबल गोरुबथानको अवधारणामा प्रत्येक बिहीवार लाग्ने यस हाटमा स्थानीय कृषकहरूले उत्पादन गरेका जैविक सागसब्जीलगायत अन्नबालीलाई विशेष प्राथमिकता दिइने आयोजक पक्षले जानकारी दिएको छ। यसबाहेक गोर्खा पारम्पारिक खाद्यहरू पनि हरेक बिहीवार लाग्ने यस गोर्खे हाटको अर्को आकर्षण हुनेछ। यसका साथै गोर्खे भान्साघरमा चाहिने कतिपय सरसामानहरू पनि यस हाटमा बिक्रीको निम्ति उपलब्ध हुनेछ।
गोरुबथान एउटा कृषि प्रधान ठाउँ हो। यहाँका धेरैजसो मानिसहरू कृषिसित संलग्न रहेकोले ती कृषकहरूले उत्पादन गरेको जैविक उत्पादलाई बजार व्यवस्थापन गर्नको निम्ति पनि गोरुबथानमा गोर्खे हाट शुरु गरिएको आयोजक कमिटीको पक्षमा श्याम थापाले बताए। अब गोर्खा जाति पनि व्यवसायमा लाग्नुपर्ने सुझाव राख्दै तिनले व्यापार गरेर कुनै पनि व्यक्तिले सबैभन्दा छिटो आर्थिक विकास गर्ने थापाले थप बताए।


आयोजक कमिटीका अध्यक्ष तथा गोरुबथान ग्राम पञ्चायत एकका प्रधान निमा तामाङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय कार्यकारी सभासद् रतन थापाले आयोजक कमिटीको पहलको सराहना गर्दै यस हाटलाई दीर्घमियादी बनाउन स्थानीय क्रेताहरूको सहृदय सहभागिता हुनुपर्ने बताए। क्रेताहरूको सहभागिताले बजारको दिशा निर्देशित हुने बताउँदै यसलाई थप व्यवस्थित गरेर लैजान तिनले सुझाव पनि राखे। गोर्खे हाटको गरिमा अछुन्न राख्न विशेष यसमा गोर्खा जातिको परम्परा, संस्कृतिसित जोडिएका विषयहरूलाई नै समेटेर अघि बढ्नुपर्ने थापाले थप सुझाव राखे। पहाड र मधेसको संगम गोरुबथानमा गोर्खे हाटले आफ्नै महत्व राख्ने बताउँदै यस हाटमा डुवर्सलाई पनि तान्न सकिए बिक्रेतादेखि स्थानीय कृषकसम्मलाई फाइदा हुने बताए।


आरजे सञ्जय प्रधानद्वारा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निमा तामाङले गोर्खे हाटलाई अघिल्लो हाटदेखि व्यवस्थित गरिँदै लैजाने बताए। गोर्खे हाट आयोजक समितिको अध्यक्ष भएको नातामा तिनले सम्पूर्णप्रति आभार प्रकट गरे। उद्घाटन कार्यक्रममा गोरुबथान खण्ड पञ्चायत समिति सभापति सूर्यमणि राई, कर्माध्यक्ष शिशिर प्रधान, सञ्जीव राई, ओमप्रकाश कार्की, आयोजक कमिटीका मुख्य संयोजक पुरण राई, व्यवसायी समितिका सचिव कृष्ण रसाइली, तरुण राई आदिको विशेष उपस्थिति रहेको थियो। स्मरण रहोस्, गोरुबथान गोर्खे हाट आयोजक समितिमा गोरुबथान एक पञ्चायत, व्यवसायी समिति, गोरुबथान फ्युचर भिजन, गोरुबथान टुरिजम डेभलपमेण्ट सोसाइटी, गोरुबथान नागरिक समाजलगायतका संघ संस्थाहरू आबद्ध छन्।

Leave a comment