गुवामा देखिन थाल्यो अज्ञात रोग

कृषि वैज्ञानिकको टोली गुवा सम्बन्धित रोग जाँच गर्न गोरुबथानमा

गोरुबथानः गोरुबथानको अर्थतन्त्रको मेरुदण्ड मानिएको नगदेबाली गुवा (सुपारी) खेतीमा केही वर्षयता अज्ञात रोग देखापरेको छ। उक्त रोग लागेपछि बोटको भित्री गुदीदेखि जरा नै कुहिएर जाने भएकोले कृषकवर्गको चिन्ता बढेको छ। प्राप्त जानकारीअनुसार यहाँको भुट्टाबारी, मालचार, बुढीखोला, साखाम, भोटेटार आदि वनबस्ती क्षेत्रमा यो रोग विगत दुइ वर्षदेखि देखिन थालेको छ। शुरुवाती चरणमा रहेको यस रोगको निदानको निम्ति आज कोचबिहारस्थित कृषि अनुसन्धान केन्द्रका कृषि वैज्ञानिकहरूको एक टोलीले प्रभावित क्षेत्रहरूको भ्रमण गरेर स्याम्पल कलेक्सन गरेर लगेका छन्। कालेबुङ कृषि एवं बागबानी विभागका अधिकारीहरू पनि सहभागी रहेको टोलीले शुरुवाती जाँचमा उक्त रोग फङ्गसको कारण लागेको जनाएको छ। यसको रोगथाम सम्भव रहेको बताउँदै यसको निम्ति विशेष औषधि सबै बोटहरूमा स्प्रे गर्नुपर्ने सुझाव दिएको छ। यसमाथि थप प्रभावकारी ढंगले काम गर्न आज लगिएको स्याम्पलको ल्याब रिपोर्टले तय गर्ने टोलीले जानकारी गराएको छ।

गुवा सम्बन्धित रोग विशेषज्ञहरू गोरुबथानमा
गुवा सम्बन्धित रोग विशेषज्ञहरू गोरुबथानमा

ती क्षेत्रहरूबाहेक अहिले अन्य ठाउँमा यो रोगको लक्षण देखिएको छैन। तर सरुवा रोग जस्तै भएकोले यसलाई शुरुवाती चरणमै समाधान गर्न सकिए कृषकवर्गको निम्ति राहतको काम हुनेछ। गोरुबथानमा गुवा खेती गर्ने कृषकहरूको हितमा विभागले आगामी दिनमा धेरै कार्यक्रम गर्ने निधो गरेको छ। पंचायत समिति मार्फत गरिने यस कार्यक्रमले स्थानीय कृषकवर्गलाई धेरै लाभ हुनेछ।

आज डाक्टर एमडब्ल्यु मोक्तान (सिनियर साइन्टिस एण्ड हेड केभीके, युभीकेभी कालेबुङ), डाक्टर अरुण कुमार सिड (प्रिन्सिपल साइन्टिस एण्ड साइन्टिस इन्चार्ज), डाक्टर पीएस मेड्डा (प्रोफेसर, युभीकेभी, पुन्डीबारी), सुब्रत सरकार (एडीए, गोरुबथान), रञ्जीत दास (बीडीओ गोरुबथान), विष्णु छेत्री (सभापति कृषक कल्याण संगठन कालेबुङ), सूर्यमणि राई (सभापति, पञ्चायत समिति), भानु थापा, कर्माध्यक्ष क्रमशः शिशिर प्रधान, सरण राई, भोटु दर्नाल, कुमार थापा, सोनाम लेप्चा आदिको विशेष उपस्थिति रहेको थियो।

यो पनि हेर्नुहोस्

Leave a comment