मालबजारः ढिलो गरि प्राप्त जानकारी अनुसार परिमल मित्र स्मृति महाविद्यालयको नेपाली विभाग र आईक्युएसी-को आयोजनामा विशेष व्याख्यान कार्यक्रम राखियो। लोकसाहित्य र संस्कृति विषयमाथि राखिएको उक्त कार्यक्रममा व्याख्यानकार गोरुबथान डिग्री कलेजका सहप्राध्यापक डा. सोनाम शेर्पा उपस्थित रहेका थिए। यसै महाविद्यालयका प्राध्यापिका डा नन्दिता मुखर्जी सरकार र विभागीय प्रमुख डा रेमिका थापाको उपस्थितिमा दीप प्रज्ज्वलद्वारा कार्यक्रमको आरम्भर गरिएको थियो। डा. अमिर दर्जीद्वारा स्वागत भाषण गरी विद्यार्थीहरूद्वारा रामायण पाठको सुन्दर प्रस्तुतिबाट कार्यक्रमको आरम्भ गरियो। कार्यक्रमको अर्को आकर्षण यसै महाविद्यालयका नेपाली विभागबाट स्नातक उतीर्ण गरी विभिन्न काम कुराहरूमा संलग्न भएका विद्यार्थीहरूलाई पनि निम्तो गरिएको थियो। जसमध्ये वर्तमानमा शिक्षक, प्राणी बन्धु, व्यापारी, पुलिस तथा सेनामा कार्यरत विद्यार्थीहरू उपस्थित थिए। कतिपय विद्यार्थीहरू स्नातकोत्तर, एमफिल गरेर युजीसी अन्तर्गत नेट सेट जस्ता परीक्षा पास गरी विद्यावारिधि उपाधीका निम्ति उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरू पनि उपस्थित भएका थिए भने कतिपय विद्यार्थीहरू २०२३ को परीक्षामा धेरै अङ्क लिएर उतीर्ण भएकाहरू पनि उपस्थित थिए। आयोजकको तर्फबाट व्याख्यानकार डा सोनाम शेर्पा लगायत उपस्थित भूतपूर्व विद्यार्थीहरूलाई प्रशंसा-पत्र प्रदान गरी सम्मान जनाइयो।

कार्यक्रममा मुख्य वक्ता डा सोनाम शेर्पाले लोक साहित्य र संस्कृतिमाथि अत्यन्तै सरल ढङ्गमा विद्यार्थीहरूलाई उपयोगी हुने व्याख्यान प्रस्तुत गरे। साहित्य, समाज, संस्कृति र लोकजीवनमा प्रचलित खानपान, भेषभूषा, रहनसहन आदिबारे रोचक जानकारी गराए। कार्यक्रममा भूतपूर्व विद्यार्थीहरूमा हेमन्त प्रधान, कमल राई, वङ्गे लेप्चा, हेमन्त छेत्री, बबी विश्वकर्मा, रोशनी भुजेलले कलेज पढ्दाका अनुभवहरू आफ्नो वक्तव्यमा राखे। विभिन्न विभागका अध्यापक-अध्यापिकाहरूको उपस्थित रहेका यस कार्यक्रमका सञ्चालन शिक्षिका सुश्री नर्मी गुरुङले गरेकी थिइन्। अन्त्यमा कार्यक्रममा उपस्थित सबैलाई आयोजकको तर्फबाट विभागीय प्रमुख डा रेमिका थापाले धन्यवाद ज्ञापन गरेकी जानकारी कार्यक्रम संयोजक डा. राजीव विश्वकर्माले दिएका छन्।