कथाकार प्रदीप गुरूङका नवीन कथा सङ्ग्रह एक सब्तु सपनामा सङ्ग्रहीत कथा मृत्यु निनाद
प्रदीप गुरूङ
मेरो उमेर जान्न चाहनु हुन्छ त पाठकज्यू ? बताएँ है – वर्तमान म र कोरी र नौको हिसाब डिजिटलाइजेसनको जमानामा अब आउट डेटेट। जे होस् जीवनको बडा-पत्रमा यो कोरी शब्द किञ्चित कोरा कल्पित होइन । सम्झन्छु-शिखरै हुँदो छिप्पट उमेरको हत्केलाले गिजोल्दा गिजोल्दा थल्थर्लिंदो बनेको यो ज्यानमा तै अहिलेसम्म त के छु। यसरी एक्लो बाँच्नु पनि जिन्दगीको बेग्लै आयाम रहेछ । पनि मज्जा लाग्ने – एक्लो अविवाहित जीवन । अझ मलाई कुन सन्दर्भमा अविवाहित भन्नु ओजस्वी लाग्छ भने विवाहितहरूको दुनियाँदारीमा मेरैजस्ता हजार नमुनामूलक उपस्थितिले उनीहरूको संसारलाई मायाको महकमा मग्मगाउँदो बनाएका छन्। एउटा भन्ने कुरो नि पाठकज्यू ।
अब म तपाईंलाई एउटा गाँठी कुरो भन्छु । एक बिहान म यो आफ्नो विराट कोठीको बाहिर उदाउँदो घामलाई हेर्दै कफीको चुस्की लिएर बसिरहेथेँ। माली बुढो सामुन्ने बगैचामा फुल स्याहारिरहेथ्यो । विस्तृत यो क्षेत्रमा देवलको घेरो छ वारिदेखि पारिसम्मै । योभित्र मेरो एक्लो संसार छ ।
बहिरी दुनियाँदारीका अन्य जो कोही यहाँ आउन पनि डराउँछन् । तर बाहिरको उज्यालोमा दुनियाँदारीको दृश्यबाट म आँखा हटाउन सक्तिन । यहाँ प्रारब्ध के रह्यो भने एक बिहान केही पर जङ्गलछेउ एउटी स्त्रीले एकजना पुरुषलाई मरणासन्न हुने गरी कुटेको देखेँ। घटना पनि मलाई नौलो सामाजिक परिवर्तनको लाग्यो। तर यो दृश्यले मलाई मेरो शैशवकालीन अतीतको फाँटमा पुर्यायो। त्यो समय मैले स्पष्ट देखें – क्रोधित मेरी आमाले यस्तै एक बिहान धारिलो खुकुरी उज्याएर मेरा पिताको हत्या गरिन्। हत्याको दृश्यले म यति भयभित भएँ कि तत्कालै घर छाडेँ। भागेर म कहाँ कहाँ पुगेँ। अनवरत प्रारब्धले मलाई कहाँ कहाँ पुर्यायो। धेरै लामो काल-खण्ड सङ्घर्षको चट्टान तोड्दै म आज यस्तो मूर्तिमा परिणत भएँ। यो यात्राले मलाई यहाँसम्म ल्याइ पुर्यायो। जीवनको अन्तिम विन्दुसम्म आइपुग्दा पनि मलाई थाहा छैन मेरी आमाले त्यसरी पिताको निर्मम हत्या किन गरिन् ? त्यो एउटा प्रहेलिका बन्यो। त्यो दृश्य अब मोती विन्दुले छोप्दै लगेको आँखामा अझ अल्झिरहेछ । मेरो जीवनको प्रारब्ध यही हो।
त्यो समयको आघात मेरो बाल मस्तिष्कमा एउटा विकृति भएर जन्मियो। त्यो विकृति हो आमाको हत्या गर्ने मेरो अभिप्सा। तर घटनापछि कुन ठाउँमा पुगेँ, पुगेँ । मैले बाल्यकालको भौगोलिक आँगन बिर्से। अनेक वर्षहरूको गतिमय दौडपछि पनि आमा कहाँ पुगिन्। त्यसको हेक्का राख्न पनि सकिन। कहाँ कहिले भेटेर आमाको हत्या गरुँ । अशेष छट्पटीमा पीडित रहेँ। त्यसपछि जीवनमा दृश्यहरू यति विघ्न परिवर्तन भए कि मैले बिस्तारै हत्यारिनी आमाको अनुहार नै बिर्से। जुन दिन मेरा पिताको हत्या भयो त्यो दिनदेखि नै मैले आइमाई समूहलाई घृणा गर्न थालेँ । त्यसपछि सपनाहरूमा सयौँ सैतान आमाहरू मेरो हत्या गर्न आउँथे। ब्यूँझेपछि मेरा वर्षोंका विपनाहरूमा म आइमाईहरूलाई हत्या गर्न मात्र चाहन्थे। वास्तवमा म MISOGYNY ग्रस्त बनेछु। यो विकृतिले मेरो सरकारी ड्युटीमा पनि त्यस्तै असर पार्दै लग्यो । म भारतीय सेनामा क्याप्टन भइसकेको थिएँ। सैनिक क्याप्टनको हतियातना मेरो लामो कार्यकाल अशान्तिग्रस्त काश्मीरमा पर्यो।
त्यस समय युद्धकालीन स्थिति थियो भारत पाकिस्तान सीमा क्षेत्रमा।
सीमा साँध लागेको ठाउँ। (पाठक म तपाईँलाई कथात्मक वातारणतिर लाँदैछु – कथालाई अचेल वैचारिक विन्दुतिर धकेल्ने इरिपाटी विरुद्ध। किन कि दृश्यबिना कथा बन्दैन)
हो, त्यस्तो ठाउँ।
गाउँघरको नाममा फाटाकफुटुक वारिपारि देखिने पुराना घरहरू । उँधो ठुलो बहँदो नदी छ। जाडोको याम नदी घटेर हिउँ जम्ने। बादल छाँटिएको दिन पारि मधुरो घाम डुबेर जाँदा जङ्गलको हल्का छायाँ पारि देखिँदा एउटी काश्मीरी युवती कुनै सहायताको बहनामा हाम्रो क्याम्पतिर आउँथी। उसको हातमा स्याउको सानो टोक्री हुन्थ्यो । घरमा फलाना फलाना बिरामी छन् भनेर ऊ बताउँथी। मेडिकल क्याम्पबाट म सिपाहीहरूलाई भनेर उसका निम्ति औषधि उपलब्ध गराउँथे । सन्ध्याकालीन क्षितिजजस्तै रङ्ग हुन्थ्यो युवतीको अनुहारमा । त्यो क्षण अत्यन्त कुण्ठित बन्थ्यो। एकै पटक पनि युवतीलाई हेर्न डुब्दो घामको टकमा व्यारेकभित्र सिपाहीहरूका आँखा सिकार ताक्ने बाघका आँखाजस्तै देखिन्थे। बाहिर मेरो बुट बजेपछि ती सबै छापाक्छुपुक बस्थे। म आफै मुरमुरिन्थे – पातकी काश्मीरी मोरी। काम नपाएर यता छुन्छुनिनु परेकी। मेरा क्रोधित आँखा देखेपछि त्यो पनि साँझसँगै बिलाउँथी।
तर त्यसरी स्याउको टोक्री लिएर आउने त्यो युवतीको चाल कति दिन पो लुक्थ्यो र। नकचरी मोरी त पाकिस्तानी सेनाका निम्ति जासुसी पो गर्दिरहिछे। झन्डै हाम्रो एक सिपाही पनि उसको ‘हनी ट्रयाप’-मा परेछ। सिपाहीलाई ‘कोर्ट मार्सल’ र युवतीलाई अस्थायी ठ्याङ्ग्रो।
भोलिपल्ट युवतीलाई पाता कसाएर सेनाको एक टुक्रीसँग केही टाढा जङ्गलबिच पुगेँ। एउटा नाङ्गो रुखमा मोटो डोरीले युवतीको जिउ तीनचार फन्को कस्न लगाएँ। मभित्रको त्यो मानसिक विकृति एकपटक उत्ताउलियो। मैले अहिले आफूलाई एउटा गोर्खा क्याप्टनबाहेक एउटा ठुलो सर्प सम्झैँ जुन सर्प अहिले त्यो युवतीलाई कसिएको डोरीमा अनुवाद भएको छ। मलाई अहिले कस्तो लाग्यो भने हत्यारिनी आमाको भयावह विभित्सिताको बदला लिने अनुकूल अवसर यही हो। म अत्यन्त रोमाञ्चित बने। अब कश्मीरी युवतीको छातीमा गोली ठोकेर मेरो मानसिक विकृतिलाई एउटा परितृप्ति दिन्छु । यो भारतपाक युद्धग्रस्त क्षेत्र हो र भारत सरकारले सीमा सुरक्षाका निम्ति कार्यवाही गर्ने खुल्ला छुट् दिएको छ।
मौका यही हो, मैले राइफल सोझ्याएँ।
प्राणको भिख माग्दै काश्मीरी युवतीले आर्तनाद गर्नथाली। मलाई कुनै असर परेन । बरु त्यसको आर्तनाद मृत्यु निनाद भएर मेरो कानमा गुन्जिरह्यो ।
ड्याम… ड्याम्… ड्याम् ॥
ट्रिगर दबाएँ।
त्यो निष्प्राण भएर रुखमा लत्रिन पुगी। यसरी मेरो हातबाट त्यो काश्मीरी डट कम् युवतीको हत्या भयो। लाखेस् नारी निरङ्कुशता मुर्दाबाद। गोर्खा क्याप्टन जिन्दाबाद।
यस घटनापछि त नारीविरुद्ध मेरो आपराधिक आक्रमण अझ बढ्यो ।
केही दिन बितेको पनि थिएन हेड क्वाटरबाट एउटा दुःखद घटनाको खबर आयो। काश्मीरको अर्को अशान्त क्षेत्रमा हाम्रो भारतीय सेनाको उच्च पदस्त अधिकारीसहित पाँचजना सेनाको आतङ्ककारी आक्रमणमा मृत्यु भयो। रातारात मलाई सेनाको टुक्री लिएर त्यहाँ गई गाउँ घेर्ने आदेश भयो। के खोज्छस् कानो…। क्रोधित आँखा पारेर म पूर्णतः तयार भएँ। खुकुरी लिएर गोर्खा फौजसँग गाउँ पसेँ।
‘जय जय काली महाकाली आयो आयो गोर्खाली’ काश्मीरी कान्लाहरूमा हुँकार गुन्जियो। कति मानिसहरू काटिए भनेर साध्य छैन। मानव रक्तले मात्तिएको बेला अलिकपछि थाहा पाएँ मेरो खुकुरीको प्रहार आइमाईहरूमाथि बढी पर्यो।
त्यसपछि काश्मीरमा गोर्खाको नाउँमा एउटा श्रापित तुक्का प्रचलित भयो। काश्मीरीहरू एकार्कामा बाझेर सराप दिदाँ यसो भन्न थाल्थे- तेरो घरमा गोर्खा पसोस् । ‘यसरी पस्ने गोर्खामा सायद म नै पहिलो गोर्खा थिएँ।
अब फेरि फर्केर आएँ म त मेरै एक्लो दुनियाँदारीमा। बालककालमा हजुर आमाले भन्ने गर्नु हुन्थ्यो एक्लो कहिले नबस्नु, एक्लोले खान्छ । तर मलाई मेरो एक्लोपनले ठ्याम्मै खाएन। यद्यपि एक्लोपनको अभिसप्त नड़्ग्राहरूले मलाई चिथोरिरहन्छ। ती नङ्ग्राहरूमध्ये मूल नङ्ग्राचाहिँ त्यही काश्मीरी युवतीको हुने गर्छ। एक दिन त्यसको नङ्ग्राले मलाई शेष गरोस् ।
एक बिहान घाम नरम थियो ।
म बधैंचाको चउरमा कुर्सी घाम विपरीत राखेर अखबार पढ्दै थिएँ। बाहिर गेटमा एउटी बालिका देखा परी । अचम्म लाग्यो। अचम्म यस अर्थमा कि जो कोही साना ठुला मेरो कोठी परिसरमा देखा पर्दैनन् । सायद मेरो उपस्थिति सबैका निम्ति अरुचिकर नै रहन्छ।
तर बालिका पटक्कै डराइन ।
मैले सोधेँ ‘तिम्रो नाम के हो नानी ?’
‘दिवाशा ।’ भनेर बालिका उभिइ नै रही। म झस्केँ । कता कता कहिल्यै मैले गोली ठोकेको काश्मीरी युवतीसँग पो नानीको अनुहार मिल्यो। मैले एउटा फुल टिपेर दिएँ। बालिका हल्का मुस्काई। पहिलो पटक म यसरी कसैप्रति आकर्षित बनेँ। फुल समातेको हात हावामा उचाल्दै बालिका दौडेर गई। माली बुढोले बतायो। अस्ति गेटदेखि पारि जङ्गलछेउ बिहानै लोग्नेलाई मरणासन्न हुने गरी कुट्ने आइमाईकी छोरी रहिछे यो बालिका ।
‘ए, आमाजस्तै आँटी रहिछे र त यहाँ आउने साहस गरी।’ भनें।
त्यस दिनदेखि म एक तमासले भावुक बन्दै गएँ। बुढेसकालको भावुकता पनि डुब्दो घामको किरणजस्तै रहेछ। रात आफ्नो अथाह अन्धकार पोख्दथ्यो । शून्यता अत्यन्त पीडादायक लाग्न थाल्यो। राति निद्रा नपर्दा बिहानको प्रतीक्षाले सताउँथ्यो। झ्यालअघि मध्य रातको जुनलाई हेर्दै के के सम्झन्थे। जीवनमा के के गरियो के के। कति युद्ध लडियो। तर जीवनको साँचो युद्ध लड्न सकिएन। यो नै एक गोर्खा क्याप्टनको हार हो। अस्ताउँदो अवस्थामा पराजित जीवनको पीडा बोकेर मृत्यु निनाद सुन्न पो आतुर छु कि । उहिल्यै हजुर आमा भन्थिन् । सर्पले ठुगेको टेकेकोले गर्दा हो।
बाघले गाँजेर मारेको निधारमा लेखेकोले गर्दा हो। भाग्यमानीलाई मात्र बाघले गाँजेर मार्छ। त्यो मृत्यु ठुलो मुक्ति हुन्छ ।
पहिला गस्ती दलबाट छुटिएर एक्लै जङ्गलमा बाघको मुखमा पर्न भनी भट्किएँ। तर कहिल्यै बाघ भेटिनँ। म अभागी रहेछु। यस्तो पीडा र निराशा नै मुटुको धुकधुकी बन्दो छ । यस्तो किन ? सायद आफैलाई सोध्ने अधिकार पनि छैन।
एक बिहान मलाई फेरि त्यही बालिकाको याद आयो। बालिका आउँदै छे कि आएको छैन भनेर माथि झ्यालबाटै माली बुढोलाई सोधे। आई भने मलाई खबर गरोस्। नत्र एउटा फुल टिपेर दिइयोस् । कसरी म बदलिँदैछु । म फुलको प्रियतम्। कसैलाई फुल छुनसम्म नदिने मान्छे। म रनभुल्लमा छु ।
पर्सिपल्ट दिउँसो हावाको झोका झैँ बालिका आई। सेतो सलवार कुर्ता र रातो स्वेटर लगाएकी थिई। ऊ गेटमा बाहिरबाट हात लम्काएर फुल छुन खोजिरहेकी थिई। फुलजस्ती बालिका। मलाई देखेर मुस्काई। एउटा अवोध मुस्कान। त्यही फुल टिपेर दिँदै भने- ‘नानी सधैँ आउने है। म फुल दिन्छु।’
ठूलो रमाहटमा फुल हल्लाउँदै बालिका गई। कोठामा आएँ। वातावरण रुमानी लाग्यो । मेरो अनुहार बदलिन लाग्यो। छामेँ। ऐना हेरेँ। यस्तो लाग्यो बालिकाको जीवन- भ्रूण एकाएक मेरो मुटुमा जीवन्त बन्यो। बालिका मेरो मुटुमै जन्मी । MISOGYNY ग्रस्त म अब के हुन लागेँ। यात्रा त नयाँ सुरु भएछ। बधैँचामा फुल फुल्ने र झर्ने क्रम रोकिएन। एक दिन बालिकालाई ‘फुल लगेर के गर्छौं’ भनेर सोधे’ देउतालाई चढाउँछु’ भनी। आध्यात्मिकता यसरी सुरु हुँदो रहेछ। बालिकालाई फुलको मोह छ, मलाई चाहिँ केको ?
मेरो जन्म दिनको बिहान मैले बालिकालाई बार्बी डल र क्याट्बरी दिएर भनेँ, ‘नानी आज मेरो ह्याप्पी वर्थ डे। म नाइन्टी पुगेँ।’ ‘
तपाईं त नि मेरो ड्याडीको पनि ड्याडीजस्तै हुनु हुन्छ ।’
बालिकाले सेतै दाँत देखाएर भनी। गई। मेरो मनले आत्महत्या गर्न खोज्यो । म बालिकासँग समकालीन हुन खोजेछु ।
रातको शून्यताले चिथोर्न थालेपछि मैले तीन पेग ह्विस्की चढाएँ। ड्रिड्ङ्क्स ग्लासमा घरि घरि मोनालिसा मुस्काउन लागी।
भ्यानगग मेरै वरिपरि घुम्दै मेरो पोट्रेट बनाउन मलाई विभिन्न पोजमा उभिने निर्देश दिन थाल्यो। विथुवियनले आफूसरह मलाई पनि बैह्रो ठानी जोड जोडसँग पियानो बजाउन थाल्यो।
ब्यूँझदा बिहान कोही थिएनन् न मोनालिसा र भ्यानगगन ।
अचानक भाउन्न चल्यो। राति ड्रिङ्ङ्क्स अलिक बढी भयो। एक ग्लास पानी पिएँ। काश्मीर थर्काउने म उस बेलाको गोर्खा क्याप्टनका लागि त यतिखेर पुर्खाले घुँडा पखालेको टिस्टाकै पानी पिउन पाए यो ज्यानमा ऊर्जा आउने थियो कि ।
दिउँसो माली बुढाले डाक्टर र नर्स लिएर आयो। के के जाँचे र माली बुढोलाई के के निर्देश दिए, वास्ता गरिनँ। तर मेरो मुटुको मरुभूमिमा त्यही बालिकाको मरिचिका प्रतिबिम्बित रहिरह्यो। एक मनले यस्तो पनि सम्झेँ- युद्धमा उस बेला गरिएको अनेकौँ हत्याहरूको पश्चतापको परिणति यो होला।
दिनोदिन मेरो अवस्था शिथिल बन्दै गयो।
भोलि के होला।
खानामा अरुचि बढेर गयो। बालिका आउन छाडी। सपनामा फुलहरू सबै मुर्झाएको मात्र देख्न थालेँ। माली बुढोका लागि एक सप्ताह अघिदेखि नै मेरो कोठामा प्रवेश निषेध गरिदिएँ।
घरले जा, जा भन्यो।
बनले आइज, आइज भन्यो ।
अब मेरो यात्रा कुन होला ? ज्यानले छाड्दो अचेतन अवस्थामा म पुगेँ।
मेरो कानमा अलौकिक सङ्गीत गुञ्जिन थाल्यो। सम्झेँ यही सङ्गीत मेरो मृत्यु निनाद हो, अचानक मेरो अचेतन अवस्थामा कसले, कसले प्रहार गर्यो। म सशरीर रहिनँ। म इथरमा पुगेँ। संसार र असंसारमाझ झुम्न थालेँ। रहिनँ।
अहो यो कस्तो अलौकिक आनन्द !
कोठीसामु ठुलो चउरमा मैले मेरो कफिन देखेँ। मैले बुझ्न थालेँ- जीवन जीवित अवस्थासम्म मात्रको सत्य हो। शरीर सत्य होइन । नब्बे वर्षसम्म म संसारको शारीरिक भ्रममा बाँचेछु ।
कफिनको वरिपरि गिर्जाका पादरी अन्य अनुयायीहरू र मेरा शुभचिन्तकहरू भेला भइसकेछन् । सबै सबैलाई धन्यवाद ।
म प्रभुको प्यारो पात्र भइसकेछु ।
विधिपूर्वक मलाई कफिनभित्र हालियो। पादरीले बाइबलको पाना पल्टाएर पढ्न थाले- निधारको पसिना बगाएर माटोमा नफर्किन्जेल तिमीले निधारको पसिनाको रोटी खानेछौँ। किन भने तिमी यसैबाट निकालिएको थियौँ। तिमी धुलै हौ र धुलैमा फर्कि जानेछौ।
तर मैले छल गरेँ त्यहाँ भएका सबैलाई। मैले तत्कालै धुलोमा फर्की जान चाहिनँ। आखिर संसार त छलकपटपूर्ण रहेछ। कफिनबाट म रहस्यात्मक ढङ्गमा निस्के । मैले पूर्णतः प्रार्थना स्थललाई त्यागे। मेरा सामु अब यस्तो महाशून्य उपत्यका देखा पर्यो जहाँ मैले उन्मुक्त विचरण गर्न थाले। हरे यो कस्तो अलौकिक सङ्गम ! यो के ? लौ यो सङ्गममा त त्यही बालिका पो खडा रहिछे। फुलमय प्यारी बालिका ! बालिकालाई मैले भने- ‘नानी तिमी फर्क। यो ठाउँ तिम्रा लागि होइन बाबु ।
तर बालिकाले ‘नाइ’ भनी। मान्दै मानिन ।
देखेँ, बालिकाको वद्ध अञ्जुलीमा फुलका पत्रहरू पो छन्। मलाई करेर हेर्दै बालिका मुस्काई। त्यो मुस्कान मलाई अत्यन्त अलौकिक लाग्यो। तर बालिकाले अचानक चित्कार छाडेर अञ्जुलीभरिको फुलका पत्रहरूलाई माथि हावामा छरिदिई। अचम्म… फुलका पत्रहरू भुइँमा छरिएनन्। ती सबै मेरा सामु सम्मिलित बन्दै एउटा अलौकिक गोलो आकारमा परिणत बन्यो। बालिका रहस्यमय पीडामा छट्पटाउन थाली । मैले उसलाई माया गर्न खोजे। तर सकिनँ। फुलमय त्यो गोलाकार बिस्तारै उचालिएर हावामा उड्न थाल्यो। यही अनुकूल अवसर ठानी म त्यही फुलमय गोलाकारभित्र प्रविष्ट भएँ।
सायद भोलि यही बालिकाको अस्वाभाविक मृत्युको खबर चारैतिर फैलने छ। मैले प्रार्थना गरेँ-प्रभु, म तिनै बालिकासँग फेरि संसारमा यथाशीघ्र एउटै आमाको कोखमा जम्ल्याहा भएर जन्मन पाउँ। आमेन।।
याे पनि हेर्नुस्
Amazon
Universal Travel Adapter
rts Universal Travel Adapter, International All in One Worldwide Travel Adapter and Wall Charger with USB Ports with Multi Type Power Outlet USB 2.1A,100-250 Voltage Travel Charger (Black)