मुखपत्र ‘हिमालफेदी’-को लोकार्पण

मुखपत्र ‘हिमालफेदी’-को लोकार्पण

बाग्राकोट : बाग्राकोट उच्चतर माध्यमिक विद्यालय (बाउमावि)-को मुखपत्र ‘हिमालफेदी’-को आज एक भव्य कार्यक्रमबीच लोकार्पण भएको छ। पत्रिका लोकार्पण समारोहमा जीटीएका उप-मुख्य कार्यपाल तथा शिक्षा विभाग प्रभारी सभासद् सञ्चवीर सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने वरिष्ठ साहित्यकार गोपालसिंह विश्वले कार्यक्रमको अध्यक्षता गरेका थिए। यस वर्षका बाल साहित्य अकादमी पुरस्कार प्रापक बसन्त थापाको कार्यक्रममा विशेष उपस्थिति रहेको थियो। उल्लेखनीय छ, विद्यालयले सन् 1972 सालदेखि नियमित अन्तरालमा ‘हिमालफेदी’ पत्रिका प्रकाशन गर्दै आइरहेको छ। पछिल्ला 52 वर्षमा यो सातौँ अङ्क प्रकाशित भएको हो। 75औँ वर्षगाँठ पालन गरिरहेको बाउमावि-ले आफ्नो मुखपत्रलाई कौस्तुभ वर्ष विशेषाङ्क बनाएको छ। यो विशेषगरी विद्यालयको इतिहाससँग सम्बन्धित एवम् विद्यालयका संस्थापकहरूप्रति समर्पित छ।


पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि सञ्चवीर सुब्बाले आफ्नो इतिहास अरूले लेखिदिँदा त्यो कमजोर हुनसक्ने बताए। उनले भने, यो पुस्तकले पुरानो इतिहास बोकेर नयाँ इतिहास रचेको छ। हाम्रो इतिहास हामी आफैले लेख्नुपर्छ। पहाडको राजनीतिक उतार-चढावमा बाग्राकोट उच्चतर माध्यमिक विद्यालय पनि पिसिइरहेको छ, तर वर्तमानमा असल सोचका नेतृत्व भएकाले विद्यालयको प्रगतिमा जीटीएले सकारात्मक र द्रुततर विकासका लागि सोचिरहेको छ। साहित्यमा बढी निराशा र हतासा मात्र नलेखेर उच्चस्तरीय दर्शन, सकारात्मकता र आशावादी कुराहरूलाई लेख्दै जनतामा हौसला बढाउनुपर्ने आवश्यकता बढी रहेको उनको भनाई थियो। विद्यालयका संस्थापकहरूप्रति बाउमावि-ले दिएको सम्मानको उनले सराहना गरे। यसरी नै प्रधानाध्यापक सागर शर्माले विद्यालका गतिविधि र शैक्षणिक प्रगतिहरूबारे संक्षिप्त रूपमा अवगत गराए। उनले भने, हामीले प्रतिकूल परिस्थितिमा पनि विद्यालयलाई राम्रो बनाउने प्रयास गरेका छौँ, जुन प्रयास हामी निरन्तर जारी राख्नेछौँ। विद्यालयको मुखपत्रले इतिहासको दस्तावेजीकरण गर्ने प्रयास गरेको छ। पत्रिकाका प्रधान सम्पादक सह-शिक्षक रूपेश शर्माले पत्रिकाका विभिन्न पक्षहरूबारे प्रकाश पारे भने यस्ता दस्तावेजहरूको वर्तमानमा भन्दा भविष्यमा बढी मूल्य रहने बताए।

विद्यालयका संस्थापक सदस्यहरूप्रति पत्रिका समर्पित गरिएको शर्माले अवगत गराए। यस अवसरमा विद्यालयका पूर्व विद्यार्थी तथा बाल साहित्य अकादमी पुरस्कार प्रापक बसन्त थापालाई विद्यालयको पक्षमा सम्वर्धना जनाइएको थियो। आफ्नो सम्बोधनमा थापाले आफूलाई बाग्राकोट उच्चतर माध्यमिक विद्यालयको विद्यार्थी भन्नुमा सधैँ गर्वबोध हुने गरेको बताए। उनले वर्तमान प्रधानाध्यापक सागर शर्माको पनि मुग्धकण्ठले प्रशंसा गरे। समारोहलाई वरिष्ठ शिक्षिका गङ्गादेवी शर्माले पनि सम्बोधन गरेकी थिइन्। आफ्नो अध्यक्षीय सम्बोधनमा वरिष्ठ साहित्यकार गोपालसिंह विश्वले विद्यालयको निर्माणको इतिहासका कालखण्डका विभिन्न घटनाक्रमको स्मरण गर्दै आफूले पनि साट्ठीको दशकको अन्ततिर यसै विद्यालयबाट स्कूल फाइनल दिएको जानकारी गराए। विद्यालयको एउटा गौरवपूर्ण विरासत रहेको र वर्तमान शिक्षक पुस्ताले त्यो विरासतलाई सफलतापूर्वक अगाड़ि बढ़ाइरहेको पनि उनले बताए।
विद्यालय सञ्चालन समितिका अध्यक्ष देवनारायण सुनाम, शङ्कर उच्चतर माध्यमिक विद्यालयका सह-शिक्षक तथा संयुक्त माध्यमिक शिक्षक सङ्गठनका जिल्ला सचिव लोकेश थापा, पाब्रिङटार ग्राम पञ्चायत प्रधान रविन सुब्बा, वरिष्ठ समाजसेवी तथा विद्यालय सञ्चालन समितिका सदस्य जे.बी. छेत्री, डुवर्स नेपाली साहित्य विकास समितिका मूल सचिव रविन खवास, बरबोट उच्चतर माध्यमिक विद्यालयका प्रभारी प्रधानाध्यापक शङ्कर लामगादे, युद्धवीर उच्चतर माध्यमिक विद्यालयका सह-प्रधानाध्यापक विशाल परियारलगायत अतिथिगणका रूपमा उपस्थित रहेको कार्यक्रममा बाग्राकोट वरिपरीका विद्यालय, बरबोट, पोख्रेबुङ, कालेबुङ, गोरुबथान, लुकसान, सिङ्जीलगायत क्षेत्रका शिक्षक-शिक्षिकागणसहित स्थानीय विशिष्ट व्यक्ति एवम् विद्यालयका शिक्षक तथा अशिक्षण कर्मचारी अनि विद्यालयका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। शिक्षक अजय खड्काले सञ्चालन गरेको कार्यक्रममा सह-प्रधानाध्यापक अमित थापाले धन्यवाद ज्ञापन गरेका थिए।


यस अवसरमा विद्यालयका संस्थापक सदस्यहरूका परिवारका सदस्यगणलाई सम्मान पनि गरिएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधिगण, विज्ञापनदाता अनि लेखकहरूलाई सम्मानसहित पत्रिकाको प्रति हस्तान्तरण गरिएको थियो।

याे पनि हेर्नुस्


Leave a comment