नयाँ टाइ सूट
श्रीनारायण प्रधान
तल्लो तुङसुङ, दार्जीलिङ
आज हाम्रो घर परिवारमा खुबै रमाइलो वातावरण छाएको छ। सूर्य भगवान पनि खुशी भएर होलान् दिन पनि खुबै उज्यालो भएको छ। किन पनि नहोस् एकलौती चुलबुली नातीनीको शुभ-विवाह हुँदैछ। आजको खुशीयालीमा यो गाना-बाजाले वाक्कै पारे पनि सहन गर्न परेको नै छ। मलाई चाहिँ ग्यास सिलिण्डर सकिएकोले चिन्ता बडेर आयो, किन भने आज ग्यास दोकान पनि बन्द हुन्छ।
आज ग्यास सिलिण्डर सकिएर पल्लो घरकी ठूली बुहारीले दिए, ल्याएर पनि चलाउँदै गरेको खबर पश्चात् म ढुक्क भए।
“अजा… अजा… औ अजा कता गयो हँ?” भन्दै मलाई देखेपछि ठूली दिदीले भाइलाई जस्तो प्रश्न गरे “किन तयार नभएको ? खोइ त्यो नयाँ टाइ सूट ?” लगाइ हाल्नु भन्ने सुझाउ दिए। मैले सुस्त लयमा “छ.. छ.. अब लगाउँछु भनी जवाब दिए।”
“छिटो लगाउनु , समय भयो” भन्दै बाहिर निस्किन्, “तेरै विवाह पो हो त! तँ पो शृङ्गार पेटार गर्नु नि मलाई नभन भन्दै गनगनाउँदै भए पनि तयार हुन थाले। जीवनमा कहिले पनि टाइ सूट नलगाएको हुनाले आफैलाई कुरी-कुरी भएको आभास हुँदै एक मनले भन्यो नातीनीले आफैले रोजेर ल्याइ दिएको नयाँ टाइ सूट नलगाए मन दुख्ने, फेरि यो शुभ अवसरमा सोंच्दै लगाए तर टाइ बाध्न भने आए पो? तल्लो घरको कलेज पढ्ने नानीलाई भने “लौ न नानी यो ‘नयाँ टाइ लगाइ देउन मलाई त लगाउन आउँदैन टाइ बाध्नु” लाजै पचाएर । फेरि नातीनीको आवाज आयो, “लगाइ सक्नुभयो?” उसैको हातले टाइलाई यताउता गरी ठिक्क पारी दिए पश्चात् “अब भयो, खै टोपी ?”
भर्खरै बि.एड. परिक्षा सकेर पहिलो दर्जामा उर्तीण भएकी साथै त्यसै सालमा नजीकैको उच्चत्तर माध्यामिक विद्यालयमा शिक्षिकाको रूपमा जागीर पनि पाइहाली। बाहुन बाजेलाई जोखाना हेराउँदा ठिक्कै भविष्यवाणीमा भने जस्तै लगन पनि चाँडै हुने भयो। चारजनाको परिवार, आमा-बाबु, दाजु-बहिनी सम्पन्न परिवार बुवा फौजी अवकाशप्राप्त आमा सरकारी अस्पतालको सिनियर नर्स छोरा प्राइभेट कम्पनीमा कार्यरत र बहिनीचाहीँ गाउँकै नर्सरी विद्यालयमा गुरुमा रहिछिन् ।
‘अजा.. खै अजा..’ ठूलो बुहारी हस्याङ-पस्याङ दौडिदै आयो र भन्न लागी “उताबाट जन्ती हिँड्यो अरे आधा घण्टाभित्र आइपुग्छन् होला। ” कोठाबाट बाहिर आएपछि चारैतिर हेरी सबै ठिक-ठाक रहेछ। गाउँका तरूणीहरू चाहीँ भात खौरेलाई स्वागत कस्तो पाराले गर्ने चाँजो मिलाउँदै गरेको चाल पाएँ। हेर नानीहरू हो ज्यादै उताउलोपन चाहीँ नगर्नु भन्ने आदेश दिए।
नयाँ टाइ सूट लगाएपछि फेरि दर्पणमा गइ एकपल्ट आफै आफलाई हेरे मन भने आफैलाई प्रश्न गरे कस्तो लाग्यो ? समय बितेको पत्तै पाइन भात खौरेहरू दुईजना हातमा ठेकी उँखू र पैइयूको सेउला लिएर उभीरहेको रहेछन्। वहाँहरूलाई सोध्ने कार्य सकेपछि दुईवटा चियरमा बसाई चिया पानी खुवाइ जन्तीलाई लिएर आउने आदेश दियौं।
नव दुलहालाई भर्खरैको चिटिक्क परेर दौरा सुरुवालमा सजिएको जन्ती आउनेहरूमा उताबाट आउने तरूणीहरूको पनि कमी थिएन। बाहुन बाजेको आदेश अनुसार नव दुलहीले नव दुलहाको तीनपल्ट लोटाको पानी छरी दुलहा र दुलहीले आपसमा माला लगाइदिए। हामीले पनि अक्षेताद्वारा दुवैलाई स्वागत गर्दै छरी दियौँ।
दुवैलाई मण्डपमा आसन ग्रहण गराई जातीय कार्यक्रम शुरूभयो। मलाई चाहीँ नयाँ टाइ सूटले घोचीरहेको थियो। चिनाजाना आफन्ताहरूको भिड, साउण्ड बक्सको आवाजले टाउको दुःख्न थाल्यो। यसै बिच एउटा मित्रले भनी हाले “अजा ता आज पो अलिक हेण्डसम लाग्यो” हाँसेर जित्ने प्रयास गरे। भीड-भाडमा के बुडापाखा के तरूणी तन्देरी सबै मस्त थिए। यसै अवसरमा लिनु होस् है भन्दै आफैले पनि नानी अलिकति देउ त भनी खूटको चासो लिए। भात खौरे नजिक आइ भन्न थाल्यो, “अजा समय निक्कै बित्दै गयो अब विदावारीको काम गर्नुपर्छ होला।”
” हुन्छ! अब एकै छिन हाम्रो वाकदाता साथै गुडा धुने काम बाँकी छ, आधाघण्टा पनि लाग्दैन, खै खानापिना पनि कस्तो भयो सोध्न पाइन।”
बाहुन बाजेले सबै कार्य सकिएको घोषनापछि दुलहीलाई साथमा उसको मूमा र माइजूद्वारा विदाको लागि जन्ती आएको दुलहाको गाडीभित्र चडाए। नातीनीले मेरो अनुहारमा हेर्दै नयनबाट आँसु खसाले, गाडीबाट बाहिर आएर मलाई अँगालो हाल्दै रून्चे स्वरमा भनी बिहान बेलुकी व्याम अनि दवाइचाहीँ खाँदै गर्नु अनि हिँड्नचाहीँ हिँडी बस्नु है।
दुलहाको पक्षबाट जाने अनुमती पाएपछि विस्तारै जन्तीको गाडी अघि बढ्यो। डाडा नकाटुन्जेल हेरिबस्यौँ। यस्तै रहेछ सांसारिक जीवन आउनु अनि जानु ।
1 thought on “नयाँ टाइ सूट”