मैले मेरो कविताको शीर्षक राखिन

हरिदास गुरुङ ‘कृपित’
दार्जिलिङ


मैले मेरो कविताको शीर्षक राखिन

हो हजुर मैले मेरो कविताको शीर्षक राखिन
हुन त शीर्षक बिनाको कविता हुन्छ नै कसरी
शिष बिनाको शरीर बन्दैन जसरी।

जब शीर्षक टेकाउने आफ्नै बक्षस्थल नभेटेपछि
कविले सिर्जने आफ्नै चौतारी नभेटेपछि
चिनारी परिचय अस्तित्व सबै निमिट्यान्न भएपछि
निरर्थक शीर्षक अस्तित्व विहिन कविको कविता त
एक ओझेल पारीको रवि न हो
त्यसैले मैले मेरो कविताको शीर्षक राखिन
हो हजुर मैले मेरो कविताको शीर्षक राखिन।

हरिदास गुरुङ 'कृपित'
हरिदास गुरुङ ‘कृपित’

पैँचो मागेको शीर्षक जस्तो
कवि भावना बिना मूल्यहीन बनी सापाटी लिए जस्तो
कताकता मौलिकता र यथार्थता पनि बेचिए जस्तो
भाषिक मान्यता भएर पनि तिरस्कृत र वञ्चित हुन पर्द
निरर्थक अनि अस्तित्वविहीन कविको कविता त
एक ओझेल पारीको रवि न हो

त्यसैले मैले मेरो कविताको शीर्षक राखिन
हो हजुर मैले मेरो कविताको शीर्षक राखिन।

मौलिकतासँग भाउ विभोर भएर
शीर्षक शुधा अनि सरितासँग अविरल बग्दै
जब मैले कन्चनजङ्गा मेरो भन्न नपाएपछि
जब मैले मेरो पहाडकी रानी दार्जिलिङलाई मेरो भन्न नपाएपछि
आफ्नै मान्य भाषामा लेख्न र पढ्न नपाएपछि
निरर्थक शीर्षक अनि अस्तित्वविहीन कविको कविता त
एक ओझेल पारीको रवि हो
त्यसैले मेरो कविताको शीर्षक राखिन।

पहाड कन्दरा जङ्गल अनि चटन चिर्दै
विकराल इतिहासदेखि वर्तमान सुन्दर नगरीसम्म आइपुग्न
गोर्खा पुर्खाले खुन पसिनाले सिचे
तर विडम्बना यस्तो भयो
आफ्नै शीर्षस्थलमा आफू प्रवासी बन्न परेपछि
निरर्थक अनि अस्तित्वविहीन कविको कविता त एक
ओझल पारीको रवि न हो
त्यसैले मैले मेरो कविताको शीर्षक राखिन।

अरिबहादुर रामसिंह ठाकुरी पारिजात चन्दन सिंह दुर्गमल्ला
सुधापा अनि सबै दन्ते कथाका पात्र मात्र बनेपछि
भारत माताको आनबान र शान बढाउने गोर्खे बलिदानी सबै
चुडी गएका चङ्गा सरह बनेपछि
निरर्थक शीर्षक अनि अस्तित्वविहीन कविको कविता त एक ओझेल पारीको रवि न हो
त्यसैले मैले मेरो कविताको शीर्षक राखिन।

हुन त शीर्षक राख्नै छाडेको त कहाँ हो र
तर शीर्षक टेकाउने आफ्नै मौलिक थाप्लो नभेट्दा
फगत किनारिएको मात्र हो
उदौँलान् नि एकदिन ओझल वारी नै सुनौलो गोर्खे घाम
रचिएलान् नि फेरि कविताहरू इतिहासमा अङ्कित गोर्खे नाम
र त्यही परिवेश भित्र मैले पनि पाएको हुनेछु शीर्षक।
आफ्ना कविताहरूमा
आफ्नै परिचय चिनारी अनि मौलिकताका साथ राख्नेछु शीर्षक
आफ्ना कविताहरूमा।

याे पनि हेर्नुस्

Leave a comment