पाेस्टर र लात भाग-3

प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : भाग – ३

२१. वेश्याको विवृति

सति सावित्रीको युग मरेर गयो।

मृत सतित्वको कफनमाथि उभिएर एउटी मूल वेश्याले सतित्वको परिभाषा फलाकी ‘पवित्रताको प्रमाण अपवित्रताद्वारा दिनसकिन्छ।’

‘पवित्रतामाथि तपाई किन हिलो छेप्नु हुन्छ ?

उसले सोध्यो ।

‘पापको प्रमाण पुण्यले दिन्छ। पाप पक्ष हो। पुण्य विपक्ष। पक्ष र विपक्षले संसार सन्तुलित बन्छ।’

वेश्या अझ बढी गम्भीर भई।

‘तपाईंको सन्तुलन ?’ उसको प्रश्न।

मेरो सन्तुलन मेरो वृत्ति हो जुन वृत्तिमा म छु।’

‘तपाईंको वृत्तिको उद्देश्य?’

फेरि उसले सोध्यो ।

‘तपाईको भोगको सन्तुष्टि। तपाईलाई स्वागत छ…।’

तर उसले वेश्याको स्वागतलाई स्वीकार्नै सकेन ।

किन कि…!

२२. सिन्थेटिक खेती

(क)

अस्थायी कर्मचारीको नाताले होइन तर देशको एक सचेत नागरिकको हैसियतले ऊ वर्तमान देशकै बारेमा सोच्ने भएको छ। देश भनेको देश नै हो। नेताहरू आफ्नो तिजौरी भर्नमा तल्लीन रहे पनि देशको लागि सोच्ने नागरिकहरूमा उसको पनि नम्बर पर्छ।

(ख)

देशको औसत भाग सुखाग्रस्त भएपछि अनिकाल-अकालको महामारी छ। खाद्यान्नको आपूर्ति हुने विदेशका नाकाहरू बन्द छन् । वन्दरगाह बन्द छ। आकाश मार्ग बन्द छ। तर जनताको भोकको मुख बन्द छैन

(ग)

खाद्यान्न सङ्कट सुल्झाउने उपायः

धार्मिक देशको नागरिकको नातामा ऊ उपवासलाई खुबै महत्त्वपूर्ण ठान्छ । सप्ताहमा धार्मिक देशका देशवासीले दुई पटक नै पनि उपवास लिए देशमा लाखौं टनको अन्न वचत हुनेछ ।

भोजन ग्रहण-कालमा देशवासी होशियार बस्नु पर्दछ। एकै सिता भात पनि कडोरौँ देशवासीले थालबाट फाल्दा कति टन चामल वर्बाद हुन्छ?

सोचाइको अन्तमा उसले सोच्यो- परम्परागत खेती प्रणाली अब काम लाग्दैन ।

राति उसले सपना देख्यो। देशका सम्पूर्ण वैज्ञानिकहरू कृषिको जैव प्रणाली नै बद्लाउने कार्यमा लागेका थिए। वैज्ञानिक प्रविधिद्वारा देशको सारा खेत खलियानलाई सिन्थेटिक रूप दिन थालियो। विदेशबाट झिकाइएका वैज्ञानिकहरूको पनि सहयोग थपियो। हेर्दा हेर्दै सम्पूर्ण खेत-खलियान अन्तर्राष्ट्रिय फुटबल मैदानजस्ता सिन्थेटिक हराभरा देखिए। प्राकृतिक उत्पादनभन्दा सिन्थेटिक प्रविधिको उत्पादन धेरै बढेर गयो। अन्नको गुणस्तर पनि उत्तम रहेको वैज्ञानिकहरूले प्रमाणित गरे। सिन्थेटिक हरित क्रान्तिले सम्पूर्ण देशवासीको जीवनस्तर र शैली नै बद्लियो।

बिहान ब्यूँझदा स्वास्नीले चूल्हामा खट्टे भुट्दै थिई।

२३. असन्तुलन

  • – जीवन सपनाबाट ब्युझेको एक चोइटा विपना हो।
  • -जीवन वास्तविकताको भ्रम पनि हो।
  • -जीवन इच्छाको उर्जाले चल्ने गाडी पनि हो।

जीवनको अनेक थरी परिभाषा उसले सोच्यो। तर उसलाई जीवन जीवन जस्तो कहिल्यै लागेन। कर्कला-जीवनको पातमा सुख र दुःखका दुई थोपाहरू असन्तुलित थप्कि रहे।

यसर्थ, उसले अठोट गर्यो – सुखलाई ऊ खेदेर अझ खेदेंरै हासिल गर्नेछ। त्यस दिनदेखि सुखलाई खेद्ने अभियानमा ऊ लागिरह्यो। ऊ खेद्न थाल्यो। तर ऊ जति खेद्थ्यो सुख चाहिँ भेट्नै नसकिने दुरत्वमा भागि रहन्थ्यो। ऊ खेदेको खेदेकै, सुख भागेको भागेकै।

उसले लगत्तै थाहा पायो- दुःखले उसलाई पछिबाट खेद्न थालेछ।

अन्ततः दौडको जीवन थाक्दा खेदै आएको दुःखले उसलाई अपहरण गर्यो। परतिर सुखले उसलाई हेरेर उपेक्षित अट्टहास छाडिरह्यो ।

२४. इमान्दारिताको दुःख

ऊभित्र दुईजना मानिसहरू छन् ।

दुईजना मतलब-

  • एउटा ईमान्दार,
  • अर्को वेईमान ।

तर ऊभित्र ईमान्दार होइन बेईमान मान्छे अत्यन्त कमजोर छ। त्यसैले उसको निम्ति केही गर्ने सक्तैन। बरू पूर्ण तलब भत्ता खाने ऊ कार्यरत कार्यालयको वेईमान कर्मचारीसँग उसको वेईमान मान्छे खुब मिल्छ। उक्त कर्मचारी विना नियम छुट्टीहीन महीना दिनसम्म बाहिर घुम्न जाँदा उसको वेईमान मान्छे उक्त कर्मचारीलाई रेल स्टेशनसम्म ‘वाइ’ भन्न गयो।

उसको ईमान्दार मान्छे अस्थायी दरको तलब भत्तामा घोटिरह्यो। एक दिन ईमान्दार मान्छेले उसको विरुद्ध विद्रोह गयो। कुनै पनि सम्झौतामा आउन त्यो मानिस राजी भएन। अन्त्यमा कुनै उपाय नदेख्दा उक्त ईमान्दार मानिसको खुट्टा समाउँदै रोएरै उसले भन्यो – ‘मलाई माफ गरिदेऊ। मानिसहरूलाई उसकै ईमान्दारिताले सारा जीवन सताउँदो रहेछ।’

२५. छद्मभेषी

बेकारीपन पनि एउटा सिद्धान्तको रूपमा प्रतिपादित भइसकेको सत्य उसको मनमा छ। समाजसँग निरन्तर रहि रहने थोक नै सिद्धान्त हो। यही अर्थमा बेकारीपनलाई सिद्धान्त भनिएको हो। तर यो सिद्धान्तको नकारात्मक प्रभाव मात्र समाजमा परिरह्यो। युवा पिढीको ठूलो जमात त्यसैले ड्रग्सखोर बन्न गए।

सद्दे समाज सेवकले जस्तो उसले सोच्यो ।

तर ऊभन्दा अग्रसोची समाज सेवकहरूले ड्रग्स निरोधक अभियान शुरु गरिसकेका थिए। उक्त अभियानका नाइके ‘ड्रग्स निरोधक समितिका’ सचिवलाई ऊ राम्ररी चिन्दथ्यो।

दिनहुँ गाउँ-घर र मूलतः शहरमा नशालू पदार्थ सेवन विरुद्ध नारा र जुलूसको क्रम चलिरह्यो। सचिव पर्चाहरू छापेर चारैतिर बाँढून सहयोगीहरूसँग रात दिन तल्लीन रहन्थे। उक्त अभियानलाई सबैले सकारे, स्वीकारे।

पुलिसले छापा मार्दा एउटा घरबाट भारी मात्रामा ड्रग्स र अन्य नशालू पदार्थ फेला पार्यो। अखवारहरूमा सचिव लापत्ता भएको खबर आइसकेको थियो।

२६. भोजन-आशा

एक दिन मीठो भोजनको आशामा ऊ आफूभन्दा सम्पन्न आफन्तकहाँ अतिथि बन्न गयो। तर घरका सम्पूर्ण सदस्यहरू घरको मूल विरुद्ध विभिन्न पारिवारिक सहुलियतहरूको माग गर्दै भोक हडतालमा बसेका थिए।

२७. कृत्रिम मातृत्व

अखबर र इलोकट्रेनिक मिडियाले एउटा उग्र समाचार समात्यो- हिजै मात्र शहरको एउटा अस्पतालमा एकजना लोग्ने मानिसको शैल्य चिकित्साद्वारा एउटा सन्तान जन्माइयो । सन्तान एउटी छोरी छे। नवजात शिशु अत्यन्त स्वाभाविक अवस्थामा छ। विश्वको यो नवीनतम् घटनाले मानव अन्तश्रावको सम्बन्धमा ठूलो उथुल पुथुल ल्याएको छ।

उसले सम्भावित सिन्थेटिक खेतीको प्रभाव सम्झ्यो।
खाद्य प्रणालीमाथि हुने कृत्रिम प्रयोग सम्झ्यो।
फेरि वन जङ्गल सम्झेर गाउँ आयो।
माटो र जङ्गल कृत्रिमताले छिया छिया भएको देख्यो।

२८. उल्टो काण्ड

गाउँबाट आएपछि फेरि उसले अखवारमा अर्को समाचार पढ्यो- तीनजना युवतीहरूले एकजना युवकलाई अपहरण गरी निर्दयतापूर्वक बलात्कार गरे। घटना पछि उक्त युवकको मृत्यु भयो। बलात्कारी युवतीहरू लापत्ता रहेको सूत्रले जनाएको छ।

उसले सम्झ्यो- अब लोग्ने मानिसले पनि स्वास्नी मानिसबाट सुरक्षा लिन पर्ने रहेछ।

२९. अफिसको बाबू

जीवन कुनै मीठो चुट्किला जस्तो रसिलो कहिल्यै भइदिएन। मन चस्स बिज्ने थोक नै यो भइ दियो उसको निम्ति । एकान्तको भावुकता जस्तो जीवन होइन क्यार। ऊ पनि चाहन्छ कुनै कार्यालयको स्थायी किरानी बाबू जस्तो ठाँटिएर अफिस जाऊँ। अरूद्वारा ‘अफिसको बाबू’ भनेर पुकारियोस् ऊ। यसर्थ, व्यावहारिकता ल्याउन उसले भर्खरै ताते गर्न लागेको छोरोको नाम नै ‘अफिस’ राखि दियो। तर ‘अफिसको बाबू’ भनेर उसलाई सायदै पुकारियो। उसको नोकरीको अस्थायित्व नै यसमा वाधक बनि दियो।

पाेस्टर रलात
पाेस्टर र लात

३०. ज्या है !

बाफ रे! कस्तो दुर्घटना? मुखैमा पुग्यो ऊ।

ज्या है! बेलुकी स्कूलबाट फर्किरहेकी एउटी बालिकालाई सडकको दाहिनेपट्टि भित्तामा सिमेन्ट लादिएको जीपले चेप्टाएछ। सम्भवतः बेलुकी हुने भीड नै दुर्घटनाको कारण हुनसक्छ। स्कूल ब्याग भिरेकी अनि पानीको बोतल समाएकी बालिकाको आँखा खुलै थियो। तर भीड पर परै तर्किरहेथ्यो। ‘पुलिसको लफडा’ सम्झेर भीड वास्तवमा त्यहाँबाट टाप कस्न लागेको थियो।

उसले जीपको ऐनामुनि पढ्यो- लिभ एण्ड लेट लिभ । सानी छोरी पनि स्कूलबाट घर फर्कदै होली।

ऊ भागे जस्तै कुदेर गयो।

क्रमशः

याे पनि हेर्नुस्

Amazon

Biotique Wheat Germ Anti- Ageing Night Cream

Biotique Wheat Germ Anti- Ageing Night Cream | Reduces Fine Lines | Lightens dark Spots | 100% Botanical Extracts | Suitable for All Skin Types | 50g

Buy Now

Leave a comment