पाेस्टर र लात भाग-७

प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : भाग – ७

६०. असमर्थता

ऊ आज मलामी जानै सकेन। किनकि हिज राति सपनामा नै उसको मृत्यु भइसकेको थियो।

६१. कथाहीनता

जीवनमा उसलाई कविता फुर्दै फुरेन। कवि बन्ने सुरमा उसले कविताको गर्भाधान लियो। तर ऊबाट कविताको गर्भापात भइरह्यो। यसर्थ, उसले गद्यलाई स्वीकार गर्यो। गद्यमा पनि कथा विधाबाट शुरु गर्नका लागि उसले पहिला कथाबाटै आफ्नो कथा शुरु गर्यो। कथाको पात्रको रूपमा उसले आफूलाई चुन्यो। वैशालु प्रेम प्रसङ्ग ल्याएर उसले यौवनकालीन आफ्नी प्रेमिकालाई सम्झ्यो । बीचैमा उसले प्रेमिकाहरूको सङ्ख्या पनि भुल्यो। पूर्ण प्रेम र अर्ध प्रेमको हिसाब किताब लगायो। तर उसको योग वियोग भ्रमात्मक रह्यो। त्यसपछि आफ्नो बेरोजगार जीवनको मियादलाई गुणा गरेर हेर्यो। यो गणितमा पनि उसले फेल खायो। त्योसँग उसको सुख र दुःखको योगफल मिल्दै मिलेन।

त्यसपछि उसले लाचार भएर अक्षरहरू सामू आफ्नो कलमलाई आत्म-समर्पण गर्न लगाउने अठोट गर्यो। तर ऊबाट कचल्टिएको कथाले ऊसँग रिसाउनसम्म रिसाएर भन्यो- ‘कथामा तिमी सवैभन्दा असफल र निकम्मा पात्र प्रमाणित भयौ। तिमीले मेरो नाम नलिनू ।

६२. पहाडकी रानी

‘पहाडकी रानी भएर तिमी यहाँ कहिलेदेखि स्थापित भएकी हौ?’ उसले सोध्यो । ‘तिम्रो पूर्खाको इतिहासदेखि म यहाँ अङ्ग्रेज हुकुमतमार्फत पहाडकी रानी भएर स्थापित भएकी हुँ।’-पहाडकी रानी।

“एक्काइसौं शताब्दी आई पुग्दा तिमीलाई कस्तो अनुभव भइरहेछ?’- ऊ पात्र । ‘म निर्वासित हुने स्थितिमा छु। मेरो निर्वासनमा तिम्रो युग समाहित बन्नेछ।’ रानी पहाडकी, रोदनयुक्त।

‘कैफियत खुलस्त पारिदेऊ।’ उच्च पदस्त अधिकारीले जस्तै उसले सोध्यो। मेरो माटोको इतिहासलाई अपहरण गर्ने गिरोह सक्रिय छ। तर म मुक्तिको दिशातिर दैडन चाहन्छु।’

स्पष्टिकरण।

‘तिम्रो इतिहासको ऐतिहासिकतालाई कसरी संरक्षण गर्न चाहन्छौ?’ न्यायाधिशको उस्तै उसको प्रश्न।

“मेरो ऐतिहासिक लाल मोहरहरूलाई यस राष्ट्रका बहुसङ्ख्यकहरूले बन्दक बनाएका छन्। तिमी यदी सच्चा माटो-प्रेमी हौ भने तिमी यसलाई मुक्ति दिलाऊ।’

चुनौतीमूलक आग्रह।

त्यसपछि ऊ जुलूसमा हिँड्न थाल्यो। जुलूसको अघि अघि उसैलाई सुनियो- ‘हाम्रो माटो फर्काइ दे, फर्काइ दे!’

६३. बास

बासको उत्कण्ठाले तिर्खाएर ऊ बास खोज्दै मुर्दाहरूको गाउँमा पुग्यो। खोला, कछार, भञ्ज्याङ हुँदो साँझ थुरिएर थाकेको दिनको प्रतिनिधि भई ऊ त्यहाँ त्यहाँ पुग्यो जहाँ मुर्दाहरू जिउँदा थिए। एक्लो हुनुको नितान्त एक्लो अस्तित्वलाई काँधमा लतारेर बासको निश्चिततामा ऊ घुमिरह्यो। तर बास नामको आधार ऊदेखि तर्किरह्यो। हिँड्दा हिँड्दै धेरै थाकेर पनि उसले आफ्नो ठेगाना कतै पाइरहेको थिएन। दिशाहीन गई रहँदा उसले आफ्ना पुराना पाइलाका छापहरू पनि भुल्दै गयो। उसका पूर्खाहरूले जङ्गल फाँडेर आवादी बसालेको दन्त्य कथा कता कता उसको कानमा प्रतिनिधित्व भयो। तर पूर्खाहरूले चिहानबाट बौह्री उठेर कदापि भन्ने होइनन् – ‘तेरा लागि यो ठाउँमा बास ठीक गरेका छौँ ।’ उसले सम्झ्यो – ऊ त खोला हुन पर्ने। सागरमा त हुन्छ खोलाको बास। आफू पनि खोला हुन पर्ने अस्तित्वको बोधमा उसले खोलालाई छामि हेर्यो। तर पानी उँधो नै बगिरह्यो। खोला उँभो बग्यो भने खोलाको इतिहास नै बाँच्ने छैन। उसले आफ्नो पाइलाको गतिलाई पनि अन्दाज गर्यो। तर उसका पाइलाहरूले भोलि उसकै इतिहासलाई पो डोहोर्याउन सक्छ-सक्दैन ।

खोलादेखि उक्लिएर ऊ बगरमा उभियो। साँझको अस्पष्टताभित्र एक हुल मलामीहरू एउटा लाश बोकेर रङ्गालिरहेको उसले देख्यो। मलामी-अनुहारहरूलाई ठिम्याउन खोज्दै इशारामै उसले सोध्यो। उत्तरमा एकजना बोल्यो- ‘हामी बास खोज्दै आएका हौँ। धेरै दिनको हिँडाइ, थकाइ र गाँसको अभावले साथीको मृत्यु भयो। यो उसैको लाश हो।

अर्थहीन झोंकमा उसले भन्यो – ‘बास खोज्दा खोज्दै मर्नु कति खल्लो मृत्यु?’

मलामीहरूलाई छाडी वासको भ्रममा ऊ अघि बढ्यो। सामू बगल लागेका खण्डहरहरू भेटाए । सायद कुनै बृहत् आपत्ति सामू अघिल्लो पिढी थाकेर आफ्नो इतिहासलाई खण्डहरको गर्भमा अवपिल्ठो छाडी गएका होलान् ।

बासको खोज्दै आउने अर्को हुद्दालाई भेट्दा उसले भन्यो – ‘बास अझै भेटिएको छैन साथीहरू हो। तर हाम्रो पुरानो इतिहासको नयाँ शृङ्खलालाई स्वागत जनाउँदै बास खोजै है।

तर खण्डहरदेखि खण्डहर चहार्दै खोजी हिँड्दा पनि बास नामको बस्तु त्यहाँ कतै भेटिएन। अन्ततः उसले देख्यो- बास नामको छायाँ भ्रमको दिशामाथि उभिएको थियो अनि त्यो गजाधर सोतीकी घर बूढी भएर मुर्दाहरूको गाउँमा कराउँदै थियो- ‘तिमीहरूलाई बास दिन्न।’

६४. रक्सी र कविता

‘रक्सीसित म आफ्नो सम्झौता तोड्न सक्तिन ।’
उसको कवि साथीले भन्यो।
‘स्वास्थ्यको दृष्टिकोणमा त्यो सम्झौता तपाईलाई सही लाग्छ?’ उसले सोध्यो ।
‘सृजनाका दृष्टिकोणमा मेरा लागि यो सम्झौता उत्तम छ।’ रक्सीको तिर्सनामा कविको बहना बोल्यो।
भात होइन, रक्सीको माग नै बढ़ी भइरह्यो- कविबाट ।
रक्सीको तापमा सृजनाको मुल्का फुटिरह्यो। उनको काव्यकारितामा अझ निखार आयो।
जातीय उन्मुक्तिको कुण्ठा, भोलिको नयाँ दिशाबोध
स्व- अस्तित्वको स्वर,
कविता प्रखरित बन्यो।
कविता नपढ्नेहरू पनि पढ्ने भए।
सुतेकाहरू पनि उठ्न थाले।
रक्सीको मात्रा बढ्दै गयो।
कविताले बजार पक्र्यो।
प्रकाशकहरू कविको घर धाएको धाए‌कै ।
उसले फेरि कविलाई सम्झौताको कुरा सम्झायो।
कविले केही सुनेनन् ।
संस्करण, संस्करण – कविता छापियो।
तर शारीरिक संस्करण खोजेनन् कविले ।
उसले पनि कविलाई प्रतिश्रुति दिनै छाड्‌यो।
जन-क्रान्तिको उर्जा बन्यो- कविता !
कविताको ताकत बुझे मानिसहरूले ।
रक्सी चलि रह्यो।
सरकारको कान समाउने सनासो भयो – कविता !
कवि, जन-कवि घोषित भए।
कविता-लेखनको रजत जयन्ती कार्यक्रम तय भयो।
रक्सी थामिएन ।
कार्यक्रमको लागि जन-सहभागिता चल्मलायो ।
मञ्च दुलही भयो।
अघिल्लै दिन तर कविको देहान्त भयो।

६५. प्रवचन

स्थान- गेरूवारङ्गी पण्डाल।

उपलक्ष्य- प्रवचन कार्यक्रम।

अन्य स्थानमा झैँ उसको उपस्थिति त्यहाँ पनि ।

महात्मा- ‘संसारमा अध्यात्मवाद र मैौतिकवाद‌को द्वन्द छ।’

भक्त- ‘यी दुवै वाद वास्तवमा के के हुन्?’

महात्मा- ‘अध्यात्मवाद आत्माको मुक्तिमार्ग हो।’

भक्तजन- ‘महात्माकी जय, महात्माकी जय ।’

भक्तजन श्रोताहरूलाई पञ्चामृत वितरण गरियो ।

भक्त- ‘भौतिकवादको व्याख्या होस् महाराज।’

महात्मा-भौतिकवाद जीवनको भोग हो। तृष्णा आत्माको चाहना हो भने पानी भौतिकताको सन्तुष्टि हो। द्रोपतिको चीर हरण कौरवहरूको भोगवाद हो।’

भोगमा मद हुन्छ, मोहनी हुन्छ।

महात्माका सेवकहरूले पञ्चामृत वितरण गरे झैँ पुनः मदिराको तरलांश  भक्तजनको हत्केला हत्केलामा तुर्काई दिए। रात दिन पञ्चामृत सेवन गर्ने भक्तहरू मद तरलांशको प्रभावले लट्ठ हुन थाले। आरती उतार्दा उतार्दै दान पेटिकामा लाखों दान राशि सङ्ग्रह भए।

एक सप्ताहपछि स्थानीय अखबरमा उसले हेड लाइन पढ्यो- प्रसिद्ध होटलको वातानुकूलित कक्षमा एकजना महात्मालाई पुलिसले एउटी युवतीसित आपत्तिजनक अवस्थामा पक्राउ गर्यो।

६६. मानचित्रको खोजी

माटोले उसलाई सोध्यो- ‘तेरो मानचित्र खोई?’

उसले भन्यो- ‘भूगोललाई सोध्नु पर्छ।’

माटोले फेरि सोध्यो- ‘तेरो भूगोल खोई?’

उसले तुरून्तै जवाफ फर्कायो – ‘यो राइटर्सभित्र थुनामा छ।’

माटोले खिसी गर्यो – ‘छिः छिः व्यक्ति स्वतन्त्रता तेरो सुरक्षित छ होइन ? सामूहिकतामा परिणत गर् त्यो स्वतन्त्रतालाई। मानचित्रको मुक्तिको लागि अघि बढ्।’ त्यो दिनदेखि ऊ मानचित्रको खोजीमा निस्कियो। तर मानचित्र अझसम्म भेटिएको छैन ।

६७. मृत्यु-दर्पण

सपनामा उसले आफ्नो मृत्यु भएको देख्यो।

ऊ चितामाथि थियो।

चिसो चिता तर जल्न सकिरहेको थिएन।

मृत्युपछि ऊ यथाशीघ्र खरानीमा परिणत भई संसारिक भौतिकता त्याग्ने हतारमा दियो। चिता अझै जल्न सकेन। उसले चितामाथि सुतेरे आधा-आधा जलेको दाउरा ठोस्ने प्रयास गयो।

….. सपना टुट्यो।

बिहान गाउँबाट आमाको मृत्यु सन्देश लिएर मानिसहरू आए।

६८. शहादतको मूल्याङ्कन

शहीद चोकमा एक रात उसले अचम्भको दृश्य देख्यो।

सम्पूर्ण शहीदहरू भेला भएर त्यहाँ मध्य रातमा रोइरहेका थिए।

उसले सोझै सोध्यो – ‘ए शहीदहरू हो ! तिमीहरू किन यसरी रोइरहेका छौ?’

हाम्रो शहादतको मूल्य रु० आठ हजार मात्र पायौं।’

एउटा शहीद बोल्यो।

हिमाल टोपी लगाउने धुर्त्त नेताले हाम्रो सही मूल्याङ्कन गरेन।’

अर्को शहीद बोल्यो।

तिमीहरू अब के चाहन्छौ त?’ उसले सोध्यो ।

हाम्रो माटो अझै राइटर्समै थुना परेको छ। यसको मुक्तिको लागि अब शहीद हुन को को तयार छन्- खोजि दिनु पर्यो।’

– फेरि पहिलो शहीद नै बोल्यो।

यसर्थ, ऊ नयाँ शहीदको सूचीमा नाम दर्ता गराउन चाहनेहरूको खोजीमा हिँड्यो। तर.. सबै आ-आफ्ना धन्धामा व्यस्त थिए।

कोही पुरानो घर भत्काएर महल बनाउँदै थिए।

कोही व्याङ्क एकाउण्ट्स जोड्दै थिए।

कोही नयाँ मोडेलको गाडी किन्दै थिए।

कोही स्वास्नी फेर्दै थिए।

कोही विदेश भ्रमणका लागि भिसा निकाल्दै थिए।

यसर्थ, उसको हातको सूचीमा एउटै नाम पनि चढेको थिएन।

याे पनि हेर्नुस्

Leave a comment