पाेस्टर र लात भाग-९

प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : भाग – ९

प्रदीप गुरूङ
प्रदीप गुरूङ

८१. अस्तित्वहीनता

एउटा दार्शनिकले आएर उसलाई भन्यो ‘अस्तित्व नहुनुमा पनि तिम्नो अस्तित्व छ ।’ उसले यो भनाइको तार्किकता राम्ररी बुझेन ।

तर त्यो दिनदेखि ऊ आफ्नो अस्तित्व खोज लाग्यो। अस्तित्वलाई डाक्न उसले रातको सुनसानमा पनि अस्तित्वको नाम काडेर करायो। तर अस्तित्वहीनहरू बत्ती बालेर ऊकहाँ

आउन लागे।

अस्तित्वहीन १ – तिमी हाम्रो समूहमा सामेल बन।

ऊ – दार्शनिकको तर्क नबुझी म कुनै निर्णय लिन्न।

अस्तित्वहीन २ – प्रथम तिमी अस्तित्वको अस्तित्व पत्तो लगाऊ।

ऊ – अस्तित्वको शैल्य चिकित्सा गर्ने औजार मसँग छैन।

अस्तित्वहीन ३ – तिम्रो यो अभियान कहिलेसम्म चल्छ ?

ऊ – अस्तित्वले समयको अस्तित्वलाई पचाउन जति समय लाग्छ।

त्यसपछि अस्तित्वहीनहरूको जुलूस अघि बढ्‌यो। जुलूस गएर एउटा लाश-गृहको सामू रोकियो। लाशहरू उठेर अँध्याराका हातहरूले छाम् छाम् छुम् छुम् गर्दै थिए। केही खोज्दै थिए।

उसले के गर्न लागेका हौ भनेर सोध्यो।

  • लाश १. – हामी पनि आफ्नो अस्तित्व खोज्न लागेका हौँ।

ऊ – त्यो त जीवनवादीहरूले पो हडप गरिसक्यो होला।

  • लाश २. – अन्ततोगत्वा तिनीहरूले पनि हाम्रै हालतमा अस्तित्व खोज्न पर्छ।

ऊ – तिमीहरूलाई अस्तित्वको अब आवश्यकता किन ?

  • लाश ३. – जीवनभरि त्यसकै मृग तृष्णामा बाँचियो।

ऊ तृष्णा र अस्तित्वमा के भेद पायौ त?

  • लाश ४. अस्तित्वको रस हो तृष्णा। तर हामी सारा जीवन तिर्खाएरै बाँच्यौ।

ऊ – त्यसको परितृप्तिको बोध पो तिमीहरूलाई नभएको।

  • लाश ५. – वास्तवमा तृप्तिको अस्तित्व नै संसारमा हामीले भेट्टाएनौ।

फेरि ऊ तृप्तिको अस्तित्व खोज्ने तरखरमा लाग्यो। तर उसले आफ्नो अस्तित्व चाहिँ पूर्णतः भुलिसकेको थियो।

पाेस्टर रलात
पाेस्टर र लात

८२. सकेको छैन…

विभिन्न मानसिक प्रजातिको केन्द्र हो कार्यालय !

अथवा यो एउटा प्रयोगशाला।

प्रयोगशालामा आफैलाई हैकमशाली देखाउने प्रयोग चल्छ। राजनैतिक पृष्ठभूमिमा भित्री स्रोत लगाएर नियुक्ति लिई आउने कर्मचारी कड्किन्छ ‘यहाँको वातावरणमा मलाई काम गर्ने मूड नै हुँदैन। यो कार्यालयको वातावरण नै मलाई मन पर्दैन।’

उसले कर्मचारीलाई होइन तर आफैलाई सोध्यो ‘यो वातावरणको अंशदार तिमी कि होइनौ ? वातावरण मन नपरे पनि प्रति महीना यहाँबाट तलबमा पाइने चिल्ला नाेटहरू तिमीलाई मनपर्छ कि पर्दैन?’

कार्यालयमा दैनिक दुई घण्टा मात्र उपस्थिति जाहेर गरेर अरूलाई घुस प्रकरणमा दोषी ठहर्याउने अर्को कर्मचारी कार्यालयको कार्यप्रणालीमा कमजोरी कोट्याइरहेको हुँदा ऊ बोलेर भन्नै सक्तैन – तिम्रो आफ्नो कमजोरीलाई परख गर।

तथाकथित स्थानीय कहलाइएको नेताको अर्को ‘भरौटे कर्मचारी अर्कै क‌ड्किन्छ – बाहिरबाट आउनेहरूले हाम्रो भाग खोस्यो।’

ऊ आफै मुर्मुरियो – ‘यो कस्तो वर्गीकरण?’ यिनै मानसिक प्रजातिबाट ऊ पीडित छ प्रतिदिन। तर उसले चाहिँ अझसम्म आफ्नो प्रजाति छुट्याउन सकेकै छैन।

८३. लोडसेडिङ

सार्वजनिक रूपमा घोषणा गरियो उसलाई लोडसेडिङ भयो। उज्यालोले ऊभित्र आत्महत्या गर्यो । त्यो पीडामा ऊ कुदिरह्यो, कुदिरह्यो।

उसको लोड-सेडिङत्त्व पनि नयाँ घटना भयो। यसर्थ, कभरेजका लागि पत्रकार र मिडियावालाहरू उसको पछि पछि कुद्न थाले – रात दिन ।

एउटा नौलो प्रयोग। उसको हातमा। त्यो हो पुल्ठो। पुल्ठो छुटेको देखिँदैन। त्यो निरन्तर जलि रहेको ओलम्पिक ल्याम्प जस्तो निभ्दै ननिभेर।

‘तपाईको लोडसेडिङत्त्वको कारण बताइ दिनु पर्याे।’

पत्रकारले सोध्यो । निम्न प्रकारले उत्तरको बूँदा उसले राख्यो –

  • – शोषण सङ्क्रमित समाजमा उसको आर्थिक हरण।
  • – उसको सामाजिकता छिया छिया पार्ने समूहबाट ऊ पीडित ।
  • – उसका सांस्कृतिक पक्षधरहरू अपहरणपछि काराबासमा बन्द।
  • – उसको व्यक्तिगत स्वतन्त्रतामाथि अतिक्रमण गर्नेहरूबाट ऊ उत्पीडित ।

‘यो पुल्ठोको औचित्य के?’

अर्को मिडियावालाले प्रश्न तेर्स्यायो।

उसले यस्तो उत्तर दियो-

‘यसले उज्यालो वितरणमा निःशुल्क र स्वार्थहीन सेवा पुर्याइरहेछ। समाजका अभियान चोर ठगराज र उत्पीडकहरूले यसबाट नैतिक शिक्षा लिउन् भनेर म यसलाई लिएर कुदेको कुदेकै छु। म आफूलाई समाजमा एक व्यावहारिक धावक प्रमाणित गर्न चाहन्छु।’

ऊ कुद्न थाल्यो। तर अब उसको कुद्ने दिशा कुन हो सो पत्रकार र मिडियावालाहरूले सोध्नै बिर्से ।

८४. अरूची

एक पुरस्कृत वरिष्ठ साहित्यकारको पुत्रले पिताको सम्बर्धना कार्यक्रममा भने, ‘मलाई साहित्यकार र कविहरू पटक्कै मन पर्दैन।’

‘त्यसो भए तपाईलाई आफ्नै सम्मानित पिता पनि मन पर्दैन ?’

कुण्ठित प्रश्न रह्यो ऊभित्रै।

तर भीडले मुखामुख गरिरह्यो।

पर एकजना जड्याहा कवि कार्वोन कपी गरिए‌को स्वरचित कविता लिएर बेच्ने मौकामा उभिरहेथ्यो ।

‘यिनी साहित्यकारकै सुपुत्र हुन् त?’

भीडमा कसैले उसलाई सोध्यो । अनुत्तरित। कविता सुतिसकेको थियो जड्याहा कविको अनुहारमा । ‘हरेक माल’- को दरमा कविता लिलाम गर्न तम्सिरहेको कवि भनाउँदो। त्यसैले दुनियाँ बेचैन थियो। कविता कामि रह्यो कविको हातमा। पुरस्कृत साहित्यकारका सुपुत्रले सम्भाषण कसरी टुङ्गच्याए सो उसलाई थाहा नभए पनि पुरस्कार रकममा लोभिएर जड्याहा कवि अब कति दिन धाउने हो? पुत्र सशंकित थिए।

८५. भोकको कथा

अर्थ-कवि भनेर उसलाई पहिल्यै घोषणा गरिएको हुँदा भोक र तिर्खाको बेला उसले फूल, महल र बादलको बिम्ब प्रयोगमा कविता लेख्न थाल्यो। लेख्दा लेख्दै वास्तविकता नामको वस्तु आएर उसको हातको कलम खोस्दै करायो – ‘तेरो समस्या के हो?’

“भोक हो।’ निरुपाय ऊ बोल्यो।

त्यसलाई लत्याउँछस् भने तँ यहाँ बस्न लायक छैनस्… आओ ए साथी हो…. यसलाई यहाँबाट उठाऊ ।’

वास्तविकताले अन्य यथार्थहरूलाई बोलाएर अपहरणकै ढाँचामा उसलाई अन्तै लान खोज्यो। उसले अब उसो लेख्ने अठोट् छाडी वास्तविकता र यथार्थको सामू घुँडा टेकी क्षमा याचनासहित आत्मसमर्पण गर्यो।

‘मेरो भूल भयो। मलाई क्षमा गर्नुहोस् ।’

ऊ घुँडा टेकी रह्यो।

‘हाम्रा शर्तहरू तँ पूरा गर्छस् कि गर्दैनस्?’

वास्तविकताले उसको कठालो समाएको समाएकै गर्यो।

गर्छु, हजुर, गर्छु…।’ ऊ झण्डै रूयो।

यतिकैमा बाहिर एउटा नारा सुनियो

‘अनशनकारी जिन्दाबाद, जिन्दाबाद।’ नारा सुनेर वास्तविकता नामको वस्तुले उसलाई मुक्त गरिदियो।

उसले सुतिरहेकी स्वास्नीलाई झक्‌झकायो। स्वास्नीको अनुहारमा भोकको विज्ञापन थियो। अनशनकारी-नारा उर्जा बन्यो उसको निम्ति । उठ्यो। उर्जा बटुल्यो छात्तीमा। दुई दिनदेखि भोकाएकै भए पनि ऊ बढो उत्साहका साथ तयार हुँदै स्वास्नीलाई अह्रायो- ‘हिँड तुरून्तै। अनशनमा बस्नेहरूको सङ्ख्या पुगेको छैन। आन्दोलनको नाममा हामी दुवै आजदेखि अनशन बस्ने…। छोरा छोरीलाई अनशन कार्यक्रमका आयोजकहरूले खुवाइ हाल्छन् ।’

८६. भ्रष्टाचारको प्रतिशत

ठेकेदारीको मुद्दामा होस् चाहे नियुक्तिको मुद्दामा होस्- ‘प्रतिशत’ एउटा प्रयोग बन्यो। अथवा भ्रष्टाचारको यो उत्तर आधुनिक रूपमा सबै कालो रकमका अंशदारहरू मोहित हुने आकर्षण हो। यो, यस अर्थमा कि यसले रातारात तथाकथित अंशदारहरूलाई आलीशान बिल्डिङको छप्परमा उभ्याउँछ।

प्रतिगामी प्रयोग – भ्रष्टाचार निरोधक समिति ।

उद्देश्य – भ्रष्टाचारमुक्त देशको निर्माण ।

साङ्गठनिक प्रारूप – भ्रष्टाचारमा अनुभवप्राप्त सदस्य सदस्याहरूको अन्तर्भुक्ति ।

साङ्गठनिक व्यवस्था – गैरसरकारी संस्थाको रूपमा पञ्जिकृत ।

आर्थिक स्रोत – मानव संसाधन मंत्रालयबाट प्रशस्त आर्थिक सहयोग प्राप्त। कार्यविधि – विगत अनुभवको आधारमा भ्रष्टाचार विरुद्ध रौंचिरा अन्वेषण।

परिणाम – राष्ट्रिय कोषको दुरूप्रयाेगकाे आरोपमा भ्रष्ट अधिकारीहरूलाई पक्राउ शुरु। वास्तविक परिणाम – भित्री लेनदेन। भ्रष्ट मुद्दालाई दबाउन संलग्न भ्रष्टाचार निरोधक समितिका सदस्य-सदस्याहरू व्यस्त !!

अन्तिम परिणाम – भ्रष्टाचार मुद्दाको मुद्दा स्थगित। मुद्दाको फायल गायब ।

८७. फेरि भोक !

घोषणाहरू :-

‘कविता सम्मेलन’

‘कविता महोत्सव ।’

‘कवितामाथि अन्तक्रिया कार्यक्रम।’

यी घोषणाहरू पढेर अथवा सुनेर कथाकार जङ्गियो।

– कवितालाई मात्र थै थै?

– कविता मात्र साहित्यिक मञ्चकी रानी?

अब उसो लेख्दै नलेख्ने घोषणा गर्यो। समालोचकहरू आएर कथाकारलाई सम्झाए। जगत र जीवनको समग्रता कथाभित्र अटाएको हुन्छ भनिदिंदा कथाकार आफ्नो लेखन जारी राख्न राजी भयो।

त्यसपछि समाजको विभिन्न पक्षबाट आ-आफ्ना समस्या लिएर तिनै समस्याको कथा लेखाउन भुक्तभोगीहरू कथाकारकहाँ धाउन थाले ।

कथाकारको थाेत्रो घर। सामू। अनि घोषणा गर्यो भीडले।

‘हाम्रो समस्याको समाधान तपाईकै कथाले गर्न सक्छ।’

  • (१) ‘रोगीहरूले हाम्रो विरुद्ध हडताल गर्दैछन् कथाकारज्यू । कथाद्वारा निदान होस् ।’ विकित्सक अर्जी-पत्र लिएर उभिएका थिए।
  • (२) कार्यालयमा हाम्रो घुसको प्रतिशत बढाउनमा प्रतिबन्ध लगाइयो कथाकारज्यू । अर्को हुद्दा भ्रष्ट कर्मचारीहरू फेस्टुन लिएर उभिएका थिए।
  • (३) सख्त कार्यवाहीको कारण हाम्रो राशिन घोटाला प्रणाली मरणाशन्न अवस्थामा पुग्यो कथाकार महोदय।
  • (४) चोर र छिन्ताइवालाहरूले हाम्रो अंश दिन नै बन्द गरे कथाकारज्यू । अर्को पुलिसी-गुनासो ।
  • (५) हाम्रा पत्नीहरू यौन व्यापारमा लागेपछि हाम्रो यौन अधिकार हनन हुन गयो कथाकारज्यू। हाम्रो अधिकारको लागि लेखिदिनुहोस् ।

अर्को हुल काम-दामहीन पत्नी पीडित पुरुषहरू झण्डा लिएर उभिए।

ऊ पनि आफ्नो अस्थायी नोकरी कसरी स्थायीकरण हुन सक्छ सो समाधान दर्शाइ माग्न कापी लिएर त्यहीँ पुगेको थियो।

अचानक कथाकारको घरभित्र उसले नारा सुन्यो।

‘कथा लेख्नु बन्द गर, बन्द गर।’

‘कथाले भोक मेट्दैन, मेट्दैन ।’

‘हाम्रो माग दाल भात, दाल भात।’

‘तीन दिनदेखि भोकै छौं, भोकै छौं।’

‘कथा लेख्नु बन्द गर, बन्द गर।’

“भोको परिवार जिन्दाबाद, जिन्दाबाद।’

‘कथाकार मुर्दाबाद, मुर्दाबाद।

पहिला झण्डा निस्क्यो कथाकारको घरबाट। त्यसपछि मुखबाट त्यही नारा। कथाले रूँदै छुट्टानाम गर्यो कथाकारसित । कथाकार भोलिपल्ट बिहानै भोकै निस्के काम-दामको खोजीमा।

८८. भक्ति

प्रवचनपछि प्रवचकले आफ्नी प्रियसीलाई भन्यो ‘धर्म पनि रक्सी हो।’ त्यतिकैमा एकजना साँचो भक्त भित्र पसेर उसलाई सोध्यो ‘हजुर, मेरो अन्तिम प्रश्न। जीवनको सार के हो?’

‘जीवनको सार प्यार हो।’

प्रवचकले भन्यो। भक्त प्रणाम गर्दै सन्तुष्ट भएर गयो। भक्तिभावले ऊ यति अन्धो भएको थियो कि उसले त्यहाँ प्रवचककी प्रियसीलाई देख्दै देखेन ।

. हिमाल – टोपी

ठ्याक्कै उसले चिनि हाल्यो मञ्चमा आसिन भूतपूर्व मित्रलाई। भूतपूर्व चाहिँ कुन अर्थमा भने मित्र अब उसको मित्र रहेन। तर शत्रु पनि कुन अर्थमा होइन भने भूतपूर्वसँग उसको कुनै शत्रुता नै छैन। मित्रको भाषण रेसको घोडा जस्तो कुदि रह्यो। अहिलेको सन्दर्भमा भाषण कस्तो माध्यम भएको छ भने त्यसमाथि बूइँ चढेर छिर्के मिर्के हिमाल – टोपी लगाउनेहरू माथि माथि पुगि हाल्छन् । भूतपूर्वको टोपी पनि त्यस्तै एउटा टोपी हो । एक ताक ऊ जस्तै बेकारी थियो उसको मित्र। उनीहरू एक गिलास चिया र एउटा चुरोटलाई पचास पचास प्रतिशत बाँडेर घण्टों राजनैतिक, सार्वजनिक र सांस्कृतिक गफहरू गरिरहन्थे। लत्ता कपडा, खानपिन र सुख-दुःखमा उनीहरूको मित्रता समान प्रतिशतमा बौडिएको हुन्थ्यो। बेरोजगारीको मार उनीहरूले समानुपातिक रूपमा सहनु परेको थियो। कुनै कुनै दिन त एउटा अखबार र चुरोट किन्ने पैसा खल्तीमा हुँदैन थियो। यसर्थ, अभावग्रस्ततामा उनीहरूको अंश सोही प्रतिशतको हुने गर्थ्यो।

त्यसपछि उनीहरू समयको एउटा यस्तो निर्णायक मोडमा आइपुगे जहाँदेखि उनीहरूको दिशा छुट्टियो। मित्रले एउटा संस्था खोल्यो किड्नी रोगी कल्याण समिति। हाते घडी बन्दक राखेर मित्रले आर्थिक अनुदानको रसिद छपायो। बिहानदेखि झोला भिरेर मित्र आर्थिक सङ्ग्रहको निम्ति बाहिर निस्कन्थ्यो र राति पैसा गन्ती गरि रहन्थ्यो। तर एउटै किड्नी रोगीको कल्याण भएको चाहिँ उसले थाहा पाएन। केही दिनभित्रै किड्नी रोगी सेवक मित्र पुलिस हिरासतमा थुनिएको थियो।

फेरि भाषण…।

नेता मित्रले घोषणा गरे करोडौं रुपियाँको योजना।

बुख्याचाहरूले ताली मारे।

मित्रको हिमाल-टोपीले उसलाई हेरि रह्यो।

सभा अन्त नभई निस्कन लाग्दा उसले यति मात्रै प्रार्थना मनमा दोहोर्यायो- ‘प्रभो, अर्को जुनीमा म नेताको हिमाल-टोपी बन्न सकूँ।’

०. विद्वता

एकजना जिज्ञासुले उसलाई सोध्यो – विद्वता कति थरिको हुन्छ?’

उसले भन्यो- ‘जति थरि सोन्न सक्यो त्यति धरि नै हुन्छ। शैक्षिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, वैज्ञानिक आदि…।’

फेरि प्रश्न दोहोरियो ‘यी विद्वताहरूमध्ये सबैभन्दा बढी प्रभावकारी विद्वता चाहिँ कुन हो?’

राजनैतिक विद्वता…।’ उसको उत्तर आयाे ।

अहिले प्रश्न होइन अनुरोध गरियो – एक पटक यसलाई परिभाषित गरिदिनु होस् न।’

उसले परिभाषित उत्तर दियो- ‘राजनैतिक विद्वता चाहिँ अरूलाई मूर्ख बनाएर आफूलाई विद्वान साबित गर्ने विद्वता हो।’

अचानक उसको कठालो दहो गरी समातियो। सोध्ने मानिस एक नेता थियो ।

याे पनि हेर्नुस्


Leave a comment