पाेस्टर र लात भाग-८

प्रदीप गुरूङकृत सूत्र उपन्यास पाेस्टर र लात : भाग – ८

६९. भाषा

प्रदीप गुरूङ
प्रदीप गुरूङ

भाषा सम्मेलनको आयोजना भव्य रूपमा शुरु भयो। विश्वका विभिन्न भाषावि‌द्हरू भेला भएर विषयको आलोचना गर्न थाले। विषय थियो- ‘विश्वका सम्पूर्ण देशहरूले कुन भाषालाई मूल सम्पर्क भाषाको रूपमा स्वीकार गर्ने?’ भाषाविद्हरूले आ-आफ्ना जोडदार तर्क राखे। तर सप्ताह दिनसम्म नखाई अनि नसुती तर्क गर्दा पनि कुनै निष्कर्ष निस्केन।

अर्को दिन ‘भोक र तिर्खा’- ले एकार्कामा अँगालो हाली आएर भाषाविद्हरूसमक्ष तर्क राख्यो – ‘सम्पर्क भाषा होस्, चाहे सबैको साझा भाषा होस् संसारमा हामी मात्र यस्तो भाषा हौं जसलाई सबैले बुझ्छन् । हामीलाई बुझ्न कुनै कार्यशालाको आवश्यक्ता पर्दैन र हामी सबैका लागि ग्राह्य छौं।’

एक सप्ताहसम्म भोकाएका र तिर्खाएका सम्पूर्ण भाषाविद्हरूले सहमतिका साथ भोक र तिर्खाको भाषालाई विश्व भाषाको रूपमा मान्यता दिई विश्व संविधानको पहिलो अनुसूचीमा त्यसलाई अन्तर्भुक्त गराए।

७०. दाउपेचमा अनुहारहरू

दाउपेच। त्यहाँ अनुहारहरू ।

पूर्वसत्ताकालीन मञ्चमा यिनै अनुहारहरू। वर्त्तमान सत्ता मञ्चमा पनि अनुहारहरू तीहरू नै। यस अर्थमा अनुहारहरू मुखुण्डो अनि मखुण्डो हुन्। आकाशमा जति नै सूर्य परिवर्तन भए पनि तिनीहरूको स्वस्ती त्यही छ । सत्तानुक्रम विशेषता ! ती अनुहारहरू जुनै काललाई पनि स्वस्ती गर्छन्, जुनै सत्तालाई पनि सलाम ठोक्छन्। सलाम र स्वस्तीमा बाँच्छन् अनुहारहरू। तर सत्ता सहुलियतको सङ्घर्ष छ । त्यसर्थ, सदैव दाउपेचमा हुने गर्दछन् अनुहारहरू। तर अनुहारहरूको अनुहार भने छैन। वन्दक परेका छन् अनुहारहरू पैंचो मागिएको प्रतिबिम्बभित्र। तर जुन दिन अनुहारहरूले अनुहार चिन्दछन् त्यही दिनदेखि अनुहारहरूको अस्तित्व मेटिएर जानेछ।

अनुहारहरूलाई हेरिसके पछि उसले प्रार्थना गयो- ‘प्रभो, ती अनुहारहरूमा मेरो अनुहार नपरोस् ।’

७१. प्रवचक

राष्ट्रमा खाद्यात्र उत्पन्न भएपछि कुटनीतिज्ञहरूले जन-सम्बोधनका लागि यस्ता नेतालाई चुने जो एक पटक धार्मिक प्रवचक थिए।

‘आदरनीय भक्तजन, ब्रतको महिमा हाम्रो धर्ममा महान छ। ब्रतका शक्तिले कस्ता कस्ता फल प्राप्ति भएका थिए सो वर्णन गरेर साध्य नै छैन।’

उसले सोच्यो – यस्ता प्रवचन दिन सक्ने मानिस कसरी राजनीतिमा आएका होलान्? -प्रवचक नेताले प्रायः तीन घण्टासम्म व्रतका विभिन्न धार्मिक उद्धरणहरू प्रस्तुत गरे। उपसंहारमा अब के भन्लान् भनेर पर्खिरहेको कुरो नेताले भने- ‘यसर्थ, मेरा ‘भक्तजन, तपाईहरूले सप्ताहमा दुई दिन मात्र व्रत धारण गर्नु भयो भने पनि तपाईहरूलाई फल प्राप्ति हुनाका साथ राष्ट्रिय खाद्य भण्डारमा धेरै बचत हुनेछ।’

प्रवचन समाप्त हुनसाथ प्रवचक-नेता समर्थकहरूसँग निस्के। धेरै दिनपछि लामो प्रवचन दिँदा प्रवचक भोकाए। तिनी सोझै एउटा भव्य होटलमा पसी राजसी ब्यञ्जन सेवनमा तत्काल तल्लीन भए। भेला भएका पत्रकारहरूमध्ये एकजना पत्रकार उम्किएर नेतालाई प्रश्न गर्न पुग्यो। तर खानमा लीन नेता बोल्दै बोलेनन् । किनकि बोल्नु टेबल- संस्कृतिको विरुद्ध हुने थियो।

७२. खोजी

ऊ आफै कता हरायो कता ! हराएपछि आफैले खोज थाल्यो आफैलाई। प्रथमतः उसले आफू कहाँबाट हराएको त्यो ठाउँ खोज्न थाल्यो। ठाउँ खोज्दै पुग्यो। तर त्यहाँदेखि ठाउँ नै हराएछ।

ठाउँ होइन अब उसले आफैलाई खोज्न थाल्यो। पुग्यो खोलाघारी र सल्लाघारी। त्यहाँ उ थिएन। क‌ङ्क्रिटको जङ्गलै जङ्गलतिर फर्केर आयो। त्यहाँ पनि ऊ थिएन। रोदी- घर, धान-नाच र जन्ते बाखाको झोल खाने जन्तीबाट त ऊ उहिले नै हराई सकेको थियो। – अखबारमा ‘स्वयं निखोज’ भनेर बेली विस्तार दियो। त्यसको कुनै असर परेन। शुभचिन्तकहरू आएर उसको मानसिक अवस्थाको आकलन लिए। उसले ठीकै छु, त्यति हो म आफै निखोज छु भनि दियो। राजनीतिज्ञ आएर खोजे, समाज शास्त्रीहरूले सोधे, सङ्गीतज्ञ, भाषाविद्, संस्कृतिविद् सबै सबैले आ-आफ्ना क्षमतानुसार उसको खोजी गरे। अन्तमा, उसले आफैलाई भेट्टायो। ऊ त्यही थियो पहिला ऊ जहाँ थियो। तर ऊ परिचयहीन भेट्टाइयो ।

फेरि ऊ आफ्नो परिचयको खोजीमा छ।

७३. विकल्प उपहार

भर्खरै एउटी आइमाई विधुवा भई। विधुवा उसकी भूतपूर्व प्रेमिका थिई। कलिलै उमेरमा भू. पू. विधुवा बनेकीमा उसलाई भारी दुःख लाग्यो। तर त्यो दुःखद समाचारपछि स्वास्नीप्रति उसको क्रोध जाग्दै गयो। शारीरिक अक्षमताकी मोरी। अब उसमा कुन चाहिँ रस रह्यो र?

पुरूषको संविधानमा स्वास्नी फेर्ने प्रावधान त छ। ऊ नारी अधिकार विरोधी भयो। भू. पू. शब्दलाई सम्बन्धको शब्द-कोशबाटै हटाउने चेष्टामा ऊ लाग्यो। प्रेमिकालाई कुन कुन थोक मन पर्छ र कुन रङ्गप्रति बढी आकर्षित हुन्छे -उसको रेकर्डभित्रकै कुराहरू हुन् – यी। यी थोकहरू किन्ने योजनामा बजट नमिलाई भएन अब। योजनाको बजेट पनि मिल्यो। अचम्भ ! ठ्याक्कै जुर्यो भ्यालेनटाइन डे। वीश वर्षे ताल ठोक्यो मुटुले । गाढा रातो गुलाबको फूलको एक गुच्छा। प्रेमको दोस्रो संस्करणको प्रथम उपहार। पठायो त्यही दिन ।

तलब पाएपछि किनिएका थोकहरू:-

  • क) तितिरीको चाट
  • ख) एक सेट सलवार कुर्ता
  • ग) एक शिशी विदेशी अत्तर

सामान पठाउने दिन उसले सुन्यो प्रेमिका भनाउँदी पोइल गइछे। ऐंठनभित्र उसले सपना देख्यो। तर राति देखिएको सपनामा चाहिँ उसकी स्वास्नीको मृत्यु भएको थियो।

सपनामा ऊ खुब रूयो । यति लामो रूयो कि धरतीलाई बिहानी आभाले चुमुञ्जेलसम्म रूयो। उठेर उसले किनिएका सामग्रीहरू स्वास्नीको हातमा राखिदिएर अँगालो हाल्यो । एउटा लामो अन्तरालपछिको अँगालो ।

७४. समयको तिर्खा

समय तिर्खाए‌को छ। समयसँगै ऊ पनि तिर्खाएको तिर्खाएकै छ। युगमा खडेरी परेको सम्झेर ऊ पानीको खोजीमा बाहिर निस्कियो। यतिका दिनसम्म युगले उसलाई बन्दक बनाएर राखेको थियो। पानीको कुलो फर्काएर युग अर्कै दिशातिर निदाइरहेको थियो। तर न त युगले पानी दियो न त उसलाई नै पानी पिउन दियो। यसर्थ, विकल्प जलस्रोतको खोजीमा ऊ बिहानदेखि नै निस्कने गरेको छ।

७५. बिस्थापन

शिकार गर्दा गर्दा थाकेको बूढो बाघलाई अब उसका शिकारहरूले नै शिकार गर्न लागे। एक पटक ऊ पहाडी जङ्गलको राजा थियो। उसकै हैकम चल्थ्यो। एउटा युगको चेतनाले बूढो बाघका शिकारहरूलाई थप्पड लगायो। एउटा डमरूलाई देखाएर बूढ़ो बाघले भनेको थियो- यो डमरू एक दिन बाघ हुनेछ।तर दुई दशक बित्दा पनि डमरू बाघ भएन। बाघको प्रत्येक सम्भाषणमा पहिला थप्पडी बज्थ्यो। पछि पछि थप्पडी बज्ने क्रम रोकियो। पहाडका निर्धा शिकारहरूले थप्पडी बजाउन छाड्दा बाघलाई आफ्नै अस्तित्वमाथि शङ्का लाग्यो। निर्धा शिकारहरू क्रोधित भए। अनि धर्ना, जुलूस! पहाडमा बाघ टिक्नै नसक्ने अवस्थामा पुग्यो। अन्ततः विस्थापित बन्यो बाघ पहाडबाट। बाघ झर्यो समतल। मासु खान छाडी बाघ समतलको गुलियो मिठाई खान थाल्यो। तर मिठाईले उसको जिब्रालाई मिर्जाफरको जिब्रोमा परिणत गर्यो। समतलमा मादल होइन ढोलक बजेको बजेकै ! बाघ उही तालमा नाचेको नाचेकै !

संसारमा उसले विभिन्न प्रजातिको बाघ देखेको थियो। तर कहिले पनि आफ्नो घुँडामाथि बञ्चरो हान्ने बाघ देखेको थिएन।

७६. कविता जस्तो मान्छे

कविता जस्तो मान्छे।

अथवा

मान्छे जस्तो कविता !

जे भने पनि हुन्छ। आखिर जुनै अर्थमा पनि ऊ मान्छे हो। अक्षरहरूको आवरणले कविता जस्तो मान्छे बन्न सक्यो भने भइ गयो। भित्र मान्छे- कविता कुन उर्जाले हिड्छ त्योसँग के मतलब ! तर आज उसलाई थोरै कविताको उर्जाले छोएको छ। भात र नूनको उर्जाको तथ्याङ्क बेग्लै छ। ऊ बाँचेको छ तर त्यही तथ्याङ्कमा। तथ्याङ्कको वास्तविकताले उसलाई काव्यको पानामा कवितासँग अँगालो मारी हिँड्नै दिँदैन। किन कि बेलुकी ऊ भात र नून खाएर सुत्छ। बिहान सारा दिनको लागि नून र भात सम्झन्छ। त्यत्तिखेर कविता ऊदेखि भाग्छ। आखिर कविताको उर्जा पनि त्यही नून र भात नै त रहेछ।

तै, नुनले उसैलाई सोध्छ- ‘खै कविता?’

भातले उल्टो खेप्छ- ‘कविताको उर्जा हामी पनि हौं।’

माथि महलमा उपभोक्तावादीहरूको अट्टहास सुनिन्छ।

ती पिज्जा खाँदैछन् ।

तिनीहरूको सन्दर्भमा उसलाई त्यही कविताको रूमानी हरफहरूले उष्णता दिने होइन क्यार ! वाधक त यही छ।

यसर्थ, ऊ विहानै नून र भातको खोजीमा निस्कन्छ।

७७. ईश्वरको रोदन

नित्सेलाई उसले यसपटक तिरस्कार गर्यो। यसर्थ, ऊ फेरि मध्य रात ईश्वरको खोजीमा बाहिर निस्क्यो। मन्दिर बाहिर मध्यरातको ठिहीमा ईश्वर रोइरहेको थिए।

उसले सोध्यो – ‘जगत्‌का उद्दारक हे ईश्वर। तपाई किन रोइरहनु भएको छ?’

ईश्वरले भने- ‘संसारमा पाप बढ्यो। लोभ बढ्यो। तस्करी बढ्यो। मूर्तिभित्र म विश्वास -रूप हुँ। तर विश्वासघात गरेर मानवले रुपियाँका लागि मेरो अपहरण गर्न लागे। म दुःखित छु।’

‘तपाईको वास्तविक पीडा र समस्या के हो?’

हात जोडेर उसले तर मानवीय स्वरमा ईश्वरलाई सोध्यो।

डलरको भाउमा मेरो निकासी हुन्छ विदेशमा ।

ईश्वर रोए।

“त्यहाँ तपाईको पूजा हुँदैन?”

प्रश्न उसकै।

‘पूजा होइन, एन्टिक लेपले त्यहाँ मेरो मूल्याङ्कन हुन्छ।’

ईश्वरको स्वर अनि ईश्वर।

‘तपाईबिना हाम्रो आध्यात्मिकताको कुनै अर्थ हुँदैन।’ उसले भन्यो।

‘आध्यात्मिकताभन्दा मेरो अस्तित्वमाथि प्रश्न चिन्ह लागेको छ। यसको उद्धार कसले गर्ने ?’

ईश्वर लाचार भए।

‘म छु तपाईको उद्धारक।’

साहसिकता दर्सायो उसले।

त्यसपछि ईश्वरको पीडा अरू बुझ्न सकिएन। एकाएक मूर्ति चोरको नाइके आएर उसलाई पाता कसेर लग्यो अन्धकारमा।

त्यसपछि दुनियाँमा उसले अन्धकार मात्र देख्न थाल्यो।

७८. एक सय आठ

मृत्यु बोध एउटा पीडा नै बनेको छ। लाग्छ, निख्रिदै जाने जीवनमा जिउने लोभको परिगतिले मृत्युबोध गराउँदो रहेछ। यस सन्दर्भमा मलामीलाई जीवनकै पाटोबाट परिभाषित गर्ने चेष्टा उसले गर्यो। उसले केलाउन सकेको अर्थ चाहिँ के हो भने मलामी जिउँदाहरूको अन्तिम सत्य हो। जीवित रहुञ्जेल जिउँदाहरूको साथ नपाए पनि मृत्युपछि ऊ त्यसबाट बञ्चित रहन चाहँदैन। यसर्थ, ऊ मलामी जान कुनै दिन पनि चुक्तैन । उसको आस्थाले समाएको सङ्ख्या १०८ ! यो सङ्ख्यामा उसले आफ्नो उपस्थिति दर्ता गराउनु नै परेको छ। त्यसपछि जगत र जीवनबाट पूर्ण मुक्ति मिल्ने आशा उसले मनमा साँचि राखेकै छ। तर उसलाई दुःख चाहिँ केमा लागेको छ भने मलामी कार्यक्रम समाजमा समानुपातिक छैन। मृतकहरूको बजेट स्तर हेरी हेरी मलामी कार्यक्रम सोही अनुरूप निश्चित हुने गर्दछ। तर ऊ १०८ को ध्याउन्रमा त्यस्तो कुनै स्तर हेर्दैन। सामाजिक संस्थाले कुनै भिखारीको लाश उठाउँदा पनि ऊ त्यहाँ सरीक भएकै हुन्छ। दुनियाँलाई मलामीको पर्मा लगाएर ऊ आफ्नो मृत्यु पछि मलामीको लश्कर बढाई जीवनको अन्तिम किर्तीमान कायम गर्न चाहन्छ।

मलामीबाट फर्केर आउँदा तर उसलाई एउटा कुराको शङ्का हुन थालेको छ। १०८ को सङ्ख्यामा उसको आफ्नै जीवनको अन्तिम दिन त जोडिदैन?

७९. मधेशको हो कि पहाड़को ?

एउटा नेता भनाउँदो हिमाल-टोपी शारीरिक चिम्टामा मञ्चमाथि उभिएर करायो- ‘समतलको मूर्तिको पूजा अब यहाँ बन्द गर्नु पर्छ।’

कुटिल अनुहार स्मित हँसाएर फेरि भन्यो- ‘मूर्ति पुज्दा हाम्रो पहाडको संसारी माई, सिमे-भुमे, देवी- देउराली सबै रिसाउँछन्। मधेशको माटो ल्याएर हाम्रो पहाडको माटोलाई अपवित्र बनाउनु हुँदैन। शिला-पूजन उत्तम। दूधको सट्टा देवीलाई जाँड चढाउनू।’

फेरि बज्यो बुख्याचा थप्पडी।

‘समतलले पहाडलाई सधैँ धोका दिएको छ। मधेशको माटो पहाडको शत्रु हो…।’

ऊ पनि बुख्याचा थप्पडी बजाउन लाग्यो। नेताको उद्देश्य जे सुकै भए पनि थप्पडीले उसको अस्थायी नोकरीमा उर्जा थप्छ भन्ने चाहिँ उसलाई थाहा भएकै कुरो हो। त्यसपछि हिमाल – टोपीले गति पक्र्यो। अन्य बुख्याचाहरूसँगै थप्पडी मारि रह्यो, ऊ मारि रह्यो।

सभाबाट फर्कदा पनि कति बुख्याचाहरू निदाएरै थप्पडी मारिरहेका थिए। कार्यालय जान परेन। आज थप्पडीले नै रोटी पाक्यो। फर्कदा नेता भनाउँदो हिमाल टोपीको बिल्डिङ सामू आई पुगेपछि त्यहाँ त्यही बिल्डिङको अर्को छोरो जन्मने तरखरमा थियो। ट्रकबाट राता ताजा ईंटाहरू खन्याइँदै थियो।

उसले हिमाल टोपीलाई होइन आफैलाई सोध्यो- ‘यी ईटाको माटो चाहिँ मधेशको हो कि पहाडको ?’

८०. आकाश थुक्ने मान्छे

सार्वजनिक मान्यतामा ऊ एउटा सामान्य मान्छेबाहेक अरू केही पनि होइन। तर अचेल असामान्य कुरो ऊ गर्न लागेको छ।

ऊ आकाश थुक्छ। निरन्तर रूपमा थुकि रहन्छ आकाशलाई। उसको पागलपनमा दुनियाँ हाँसि रहेछ। तर ऊ आकाशको चारै दिशालाई ताक्दै थुकि रहन्छ आकाशलाई।

भीड प्रतिक्रियाः

  • – थुक जस्तै फोहोरले धरती यति बिघ्न भरियो कि उसले सायद थुकको फोहोर फाल्ने ठाउँ धरतीमा पाएन।
  • -आकाश हेर्दै जन्मिए‌को होला यो मानिस ।
  • – फोहोर पार्ने प्रतिस्पर्धामा ऊ सामेल हुन चाहन्छ र आफ्नो प्रतिस्पर्धालाई नयाँ प्रयोगको रूपमा प्रस्तुत गर्न आकाशलाई थुकेको होला।
  • – आकाशसित उसको केको दुश्मनी? धरतीसित हारेर हारको प्रतिशोध आकाशसँग लिन चाहेको होला।
  • – ओजोन लेयरबारे ऊ बढी चिन्तित होला र घुकले ओजोन छिन्द्रहरू बुच्याउन चाहन्छ कि?
  • – घरको छानो चुहुँदा आकाशलाई दोष्याए‌को होला।
  • – यस्ता कार्यहरूलाई दोष्याएको होला।
  • – धरतीको अपराधमूलक कार्यहरूलाई आकाशले छोप्नु पर्छ भन्ने उसको दाबी पो हो कि?

अन्तमा आकाश थुक्ने मानिसले भीडलाई हेरेर भन्यो ‘म आफूभित्रका पापहरूलाई निखार्न चाहन्छु।’

उ फेरि थुक्न थाल्यो।

याे पनि हेर्नुस्

Leave a comment